• १२ साउन २०८१, शनिबार

सबैको साझेदारी भएमात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र सार्थक

blog

उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव

काठमाडौं, चैत १२ गते । उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले सबैको साझेदारीमा मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सार्थकता पाउने बताउनुभएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष समेत रहनुभएका उहाँले सामाजिक न्याय र समानताको अभावमा सङ्घीयता र गणतन्त्र कुनै निश्चित वर्गको खेलौनाको रूपमा मात्रै रहने जिकिर समेत गर्नुभयो ।

सोमबार काठमाडौँमा आयोजित साधना राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्नुहुँदै उपप्रधानमन्त्री यादवले पहिचानसहितको समानता, सामाजिक न्याय र सबैको भागेदारी र साझेदारीले नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र महत्त्व बढाउने स्पष्ट पार्नुभयो ।

उहाँले मुलुकलाई एकताबद्ध बनाएर अघि बढाउन पनि समानता र सामाजिक न्याय हुनुपर्ने भएकाले सो सम्बन्धी बहसलाई अघि बढाउन पनि जरुरी रहेको बताउनुभयो ।

‘‘समानता र सामाजिक न्याय भएन भने लोकतन्त्रको कुनै अर्थ रहँदैन । हामीले सङ्घर्ष गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र त बनायौँ । तर समानता, सुशासन र सामाजिक न्याय खासगरी सामाजिक न्याय र समानताको अभावमा लोकतन्त्र र गणतन्त्र एउटा निश्चित समुदाय, एउटा निश्चित वर्ग, निश्चित विशेष समुदायको खेलौना भएर मात्रै रहन्छन् ।,’’ उपप्रधानमन्त्री यादवले भन्नुभयो, ‘‘त्यसले गर्दाखेरी पहिचान, समानता, सामाजिक न्याय र सबैको भागेदारी र साझेदारीले नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सार्थक र महत्त्व बढाउँछ । र नेपालको विविधतालाई एकतामा बाँधेर सहमतिको बाटोमा अघि बढाउँछ । तर त्यो दिशातर्फ सहजै रूपमा त जाँदैन । तर त्यसका लागि बहस हुन जरुरी छ । यसमा पत्रकारहरूको भूमिका बढी छ । हुन त आजको युगमा यसो हेर्छु–सोसल मिडिया दुई/तीन जना बसेर हेर्न पनि कठिन हुने जस्तो युगमा यहाँहरूको कलमले एउटा चेतना, सामाजिक दायित्व र राष्ट्रप्रतिको जिम्मेवारीलाई अगाडि बढाउन सकियोस् ।’’

उपप्रधानमन्त्री यादवले राष्ट्रप्रतिको जिम्मेवारी बोध गरेर कलम चलाउन पनि सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभयो । सामाजिक सञ्जालले अराजकता निम्त्याएको उल्लेख गर्नुहुँदै उहाँले सामाजिक दायित्व र राष्ट्रिय जिम्मेवारीलाई आत्मसात् गरेर सन्चाकर्मीहरूले अघि बढ्नुपर्ने तर्क समेत गर्नुभयो ।