• १३ साउन २०८१, आइतबार

नेपाली सेना जनताको भरोसाको केन्द्र

blog

रक्षामन्त्री हरिप्रसाद उप्रेती जङ्गी अड्डाको भ्रमणपश्चात् आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै । तस्बिर : जङ्गी अड्डा

काठमाडौं, चैत १२ गते । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेना विषम परिस्थितिमा नेपाली जनताको भरोसाको केन्द्रको रूपमा रही आएको बताउनुभयो ।

सोमबार जङ्गी अड्डाको भ्रमणपश्चात् आयोजित कार्यक्रममा आफूलाई प्राप्त जिम्मेवारीहरू सदैव उच्च दक्षता एवम् व्यावसायिकताका साथ सम्पन्न गर्नुका साथै विषम परिस्थितिमा नेपाली जनताको भरोसाको केन्द्रको रूपमा रही आएको बताउनुभयो ।

रक्षा मन्त्रीमा नियुक्त भए पश्चात् उहाँले जङ्गी अड्डा पुगेर नेपाली सेनाको बारेमा औपचारिक जानकारी लिनु भएको हो । मन्त्री उप्रेती समक्ष नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेका विविध गतिविधिहरूका बारे जानकारी गराइएको थियो ।


उहाँले विपद्को समयमा जनताको सुरक्षाका लागि नेपाली सेनाले देखाएको व्यावसायिक क्षमता प्रदर्शन, वन्यजन्तु तथा पर्यावरण संरक्षणप्रतिको योगदान एवम् राष्ट्रिय एकता प्रवर्द्धनमा गरेका उल्लेखनीय कार्यहरूको कारण सेनाप्रति नेपाली जनताको उच्च विश्वास, भरोसा र सम्मान रहेको कुरा व्यक्त गर्दै यसलाई निरन्तर कायम राख्न प्रयत्नशील रहनेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो ।

यसै क्रममा उहाँले मजबुत राष्ट्रिय सुरक्षा प्रणाली, आधुनिक एवम् बलियो सेना, सबल अर्थतन्त्र, चुस्त कूटनीतिले नै अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रको सामर्थ्य मापन हुने वस्तुवादी यथार्थताका बारेमा नेपाल सरकार पूर्ण सचेत रहेको बताउँदै राष्ट्रिय सुरक्षाको मेरुदण्डको रूपमा रहेको नेपाली सेनाको समयानुकूल आधुनिकीकरण र सबलीकरणका बारे नेपाल सरकार गम्भीर रहेको बताउँदै नेपाली सेनाको समग्र क्षमता अभिवृद्धि तथा सङ्गठनात्मक सुदृढीकरणमा रक्षा मन्त्रालयले सदैव सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो ।   

यसैगरी, प्रधान सेनापति महारथी प्रभुराम शर्माले नवनियुक्त रक्षालाई बधाई ज्ञापन गर्नु हुँदै नेपाली सेनाका सकलदर्जाको तर्फबाट जङ्गी अड्डामा स्वागत गर्नुभयो । उहाँले संविधान प्रदत्त जिम्मेवारीका अलावा नेपाल सरकारबाट विधिसम्मत ढङ्गले प्राप्त विकास निर्माण लगायत विविध जिम्मेवारीहरू समयमानै पूरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको बताउँदै उक्त जिम्मेवारीहरू पूरा गर्ने क्रममा आई पर्ने चुनौतीहरूलाई नियमसम्मत रूपमा रक्षा मन्त्रालयबाट सम्बोधन हुँदै आई रहेको र सोको प्रभावकारी निरन्तरता हुनेमा विश्वस्त रहेको बताउनुभयो ।


उहाँले नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ गरिरहेका कार्यहरूले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपाली सेना दुवैको साख बढाउनुका साथै सैन्य कूटनीति प्रवर्द्धन एवम् अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा समेत सकारात्मक प्रभाव परेको बताउनुभयो ।

साथै, संयुक्त राष्ट्रसंघसँगको सहकार्यलाई थप मजबुत र बृहत् बनाउन राष्ट्रिय रूपमै एकीकृत नीति र रणनीति अख्तियार गर्न आवश्यक रहेको समेत उल्लेख गर्नुभयो । उहाँले बाह्य तथा आन्तरिक सुरक्षा प्रणालीलाई सुदृढ बनाई राष्ट्रको आधारभूत मूल्यमान्यताको रक्षा एवम् जनताको विकास र समृद्धिको अभिलाषालाई पूरा गर्न समेत नेपाली सेनाको समयानुकूल आधुनिकीकरण गर्दै लैजान आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै,  बलाधिकृत रथी अशोकराज सिग्देलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा रक्षा सचिव किरणराज शर्मा, रथीवृन्दका साथै रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकृतहरूको उपस्थिति थियो ।