• २ असार २०८१, आइतबार

सहिदको सम्झनामा शालिकसहित उद्यान निर्माण

blog

सहिद सन्ध्याको शालिक अनावरण कार्यक्रममा पूर्वमन्त्री कोइराला लगायत ।

अमरराज नहर्की

तनहुँ, चैत १२ गते । तनहुँको घिरिङ गाउँपालिका –१ बैडीमा सहिद दिलमाया विक (सन्ध्या) को सम्झनामा शालिकसहितको उद्यान निर्माण गरिएको छ । सन्ध्याले २०६१ वैशाख २६ गते सहादत प्राप्त गर्नुभएको थियो । उहाँको अर्धकदको शालिकसहित उद्यान बनाइएको हो ।

२०३९ साउन १५ गते जन्मनुभएकी सन्ध्या २०६० असार महिनामा बहिनी मिना विक र सिर्जना विकसहित तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीले सुरु गरेको सशस्त्र युद्धमा सामेल हुनुभएको थियो । 

उहाँले पार्टीमा आफ्नो नाम ‘सन्ध्या’ राख्नुभएको थियो । छिम्का सांस्कृतिक परिवारबाट क्रान्तिको यात्रा तय गर्नुभएकी सन्ध्याले विद्यार्थी, महिला, दलित मोर्चा हुँदै जनमुक्ति सेनाको सदस्य बनेर दर्जनौं फौजी आक्रमणमा सामेल हुनुभएको थियो । 

जनमुक्ति सेनामा रहेर नवलपरासीको भारतीपुर पुगेको बेला राज्यद्वारा परिचालित युनिफाइड कमान्डो फोर्सले चारैतिरबाट घेरा हाली कब्जामा लिएर निर्ममतापूर्वक सन्ध्याको हत्या भएको थियो ।

योद्धाहरूले गरेका कठोर सङ्घर्ष र बलिदानको योगस्वरूप उहाँकै जन्मगाउँमा प्रतिमासहित उद्यान निर्माण गरिएको छ । सन्ध्या स्मृति पार्कमा राखिएको सहिद सन्ध्याको शालिक नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य तथा नेपाल सरकारको पूर्वमन्त्री आशा कोइरालाले अनावरण गर्नुभयो । 

सो अवसरमा कोइरालाले यस्ता उद्यान तथा प्रतिमाले उहाँले दिनुभएको योगदानबारे भावी पुस्तालाई जानकारी दिन टेवा पुग्ने बताउनुभयो । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९–८० को १० लाख रुपियाँमा निर्माण गरिएको अनावरण कार्यक्रममा जानकारी दिइएको थियो । 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का तनहुँ जिल्ला संयोजक ओमराज आले मदन, वाइसिएल गण्डकी प्रदेश संयोजक शरण सापकोटालगायतले परिवर्तनका लागि बलिदान दिने सहिदको सम्झना र सम्मानका लागि शालिक निर्माण गरिनु उपयुक्त भएको र यसको संरक्षण संवर्धनमा स्थानीयले विशेष ध्यान दिन आवश्यक रहेकोमा जोड दिनुभयो ।