• १३ मंसिर २०८१, बिहिबार

दुई करोड लगानीमा खानेपानी आयोजना

blog

खानेपानी तथा स्रोत परिचालन व्यवस्थापन समिति राम्चेको खानेपानी ट्याङ्की ।

चित्र मिजार

सिन्धुपाल्चोक, चैत १२ गते । बाह्रबिसे नगरपालिका–९ राम्चेमा दुई करोड रुपियाँ लगानीमा बृहत् खानेपानी आयोजना सम्पन्न भएको छ । खानेपानी तथा स्रोत परिचालन व्यवस्थापन समिति राम्चेको पहलमा सो खानेपानी आयोजनाबाट १ सय ७० घरधुरी स्वच्छ र सफा खानेपानीबाट लाभान्वित भएका हुन् । 

सो समितिका सचिव उद्धवबहादुर तिवारीले सङ्घीय खानेपानी तथा ढल विकास कार्यालय र बाह्रबिसे नगरपालिकाको सात लाख रुपियाँ बजेट लागतमा खानेपानी आयोजना सम्पन्न भएको बताउनुभयो । 

एक लाख ४० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरी बाह्रबिसे नगरपालिका वडा ९ सहित बाह्रबिसे बजारक्षेत्रका अधिकांश इलाकाका घर–घरमा खानेपानी पुगाइएको छ । बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत, उपमेयर मञ्जु तामाङ, वडाध्यक्ष कृष्णबहादुर रायमाझीसहित अन्य जनप्रतिनिधिले सम्पन्न खानेपानीको उद्घाटन गरेका हुन् । 

भूकम्प र पराकम्पनले जताततै पानीको मुहान सुकेपछि स्थानीयवासी पानी खोज्दै हिँड्नुपर्ने बाध्यताबिच आजित थिए । उर्लिरहेको भोटेकोशी भए पनि खोलाको पानी पिउन योग्य नभएपछि स्थानीय तनावमा देखिन्थे । यो समस्या टार्न स्थानीय आफै कस्सिएर समिति बनाएर बजेट र मुहानको खोजीमा लागेका थिए । 

बाह्रबिसेको शिर पात्लेसिम मुहानबाट पानी ल्याएर दुई किलोमिटर तल ट्याङ्कीलगायतका संरचना बनाएका छन् । यसअघि गाउँ“भेगमा पानीकै अभावबिच खेतीयोग्य जमिनमा खेती हुन नसकेको र खानेपानी पाउन दुष्कर भएको स्थानीय बाह्रबिसे नगरपालिका वडा ९ जैसीगाउँकी स्थानीय पदममाया तिमल्सिनाले बताउनुभयो । 

खानेपानीको समस्या झेलिरहेका स्थानीय समेत रहेका आयोजनाका अध्यक्ष पहलबहादुर तिमल्सिनाले योजना सम्पन्न भएपछि आफ्नो खेतबारीमा हरियाली फर्किएको बताउनुभयो । ‘खानेपानीले हाम्रो ठुलो गर्जो टरेको अनुभव भएको छ, खानेपानी किनेर खानुपर्ने समस्या अबबाट अन्त्य भएको छ, अब पहिलेझैँ पानीकै लागि धाउन पर्नेछैन्’ उहाँले भन्नुभयो ।