• ६ जेठ २०८१, आइतबार

देशको विकास र समृद्धिका लागि दलगत स्वार्थ त्यागौं

blog

वालिङमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी।

राधाकृष्ण डुम्रे

वालिङ, चैत ११ गते। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले देशको विकास र समृद्धिका लागि दलगत स्वार्थ त्याग्नुपर्ने बताउनुभएको छ। सबै राजनीतिक दल एउटै लयमा हिँडेमा मात्रै देशमा विकास र समृद्धि सम्भव हुने उहाँको भनाइ छ। 

वालिङ नगरपालिकामा आयोजना गरिएको अन्तरक्रियामा बोल्नुहुँदै मन्त्री गिरीले देशमा संघीय लोकतान्त्रिक प्रणाली र समानता आए पनि नागरिकको अवस्था फेरिन नसकेको बताउनुभयो। देशमा परिर्वतन हुन्छ भन्ने आशमा बसेका नागरिकको धैर्यताको बाँध टुट्ने अवस्थामा आउन नदिन सबै एकजुट हुनुपर्नेमा उहाँको जोड छ। 

विकासलाई तीव्र गतिमा अगाडि बढाउनुपर्ने भन्दै मन्त्री गिरीले जनप्रतिनिधिको आँखामा सबै नागरिक समान हुनुपर्ने बताउनुभयो। 

भुम्रे हुवासको सडकका विषयमा आफू जानकार रहेको उहाँको भनाइ छ।  रातो किताबमा समेत परेको सडक ठेक्का पनि लागेको र बजेट अभावका कारण रोकिएको भन्दै मन्त्री गिरीले यसलाई निकास दिन आफूले पहल गर्ने बताउनुभयो। 

कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाणले संघ र स्थानीय तहको कानुन बाँझिएर काम गर्न अप्ठ्यारो भएको बताउनुभयो। 

वालिङमा चुनढुङ्गाको सम्भावना रहेको र नगरले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने निर्णय गरेर अगाडि बढेको भन्दै यसमा समेत कानुनी अड्चन देखिन सक्ने नगरप्रमुख खाणको भनाइ छ।