गुणबहादुर रोका
सुलीकोट, चैत ११ गते । गोरखाको बारपाक सुलीकोट गाउँपालिका – २ बारपाक इङ्लिस बोर्डिङ स्कुलमा आगालागी भएको छ । आइतबार बिहान करिब ४ बजे आगालागी भएको संस्थापक अध्यक्ष गौतम गुरुङले जानकारी दिनुभयो । आगोलागीबाट अफिस कोठामा रहेको प्रिन्टर, मन्टेश्वरीका बालबालिकालाई प्रयोग हुने शैक्षिक सामग्री, भुइँमा ओछ्याएको म्याट सबै जलेर नष्ट भएको संस्थापक अध्यक्ष गुरुङले बताउनुभयो ।
अफिस कोठामा रहेको परीक्षाको लागि तयार भएको प्रश्नपत्र भने केही नभएकाले नियतवश कसैले आगजानी गरेको हुनसक्ने उहाँले बताउनुभयो । केही शिक्षकलाई इंकित गर्दै उक्त कोठामा रहेको ह्वाइट बोर्डमा अश्लील शब्द लेखिएको भेटिएको छ ।
कार्यालयका सामान एक ठाउँमा जम्मा पारेर आगजानी गरिएकाले घट्ना शंकस्पद रहेको संस्थापक अध्यक्ष गुरुङको भनाइ छ ।
यता जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले त्यस घट्ना शंकास्पद रहेको बताउनुभयो । उहाँका अनुसार उक्त विद्यालयमा चैत ३ गते पनि आगलागी भएर एक जनालाई पक्राउ पछि तारेखमा छाडिएको थियो । आगालागीबाट भएको घट्नाको क्षतिको विवरण भने एकिन भएको छैन ।
मन्टेश्वरीदेखि कक्षा छसम्म सञ्चालन हुँदै आएको विद्यालय पटकपटक आगजानीका घट्ना भएकाले प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।