• १३ साउन २०८१, आइतबार

होलीको अवसरमा महामुर्ख सम्मेलन

blog

होली महोत्सव र महामुर्ख सम्मेलन प्रस्तुति हुँदै । तस्विरः धर्बेन्द्र झा

धर्बेन्द्र झा  

जनकपुरधाम, चैत ११ गते । होली पर्वको अवसर पारेर मधेश प्रदेशको राजधानी जनकपुरधाममा मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष आयोजना गर्दैआएको दुई  दिवसीय होली महोत्सव र महामुर्ख सम्मेलन सुरु भएको छ । 

महोत्सवको एक कार्यक्रमबिच आज मधेश प्रदेश सरकारका उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले डम्फा बजाएर उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले मिथिलाको सँस्कृति विश्वमै अनुपम रहेको भन्दै सँस्कृति संरक्षणको सवालमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

उहाँले मैथली भाषा सँस्कृतिको संरक्षणमा मिनापले खेल्दैआएको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । मधेश प्रदेश सरकारको उद्योग, बाणिज्य तथा पर्यटन मन्त्रालय र जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा महोत्सवको पहिलो दिन होरी गायन प्रतियोगिता र दोस्रो दिन महामुर्ख सम्मेलन हुने मिथिला नाट्यकला परिषद जनकपुरधामका महासचिव शैलेन्द्र मलिकले जानकारी दिनुभयो । 

महोत्सवको पहिलो दिन आयोजना गरिएको होरी गायन प्रतियोगितामा मधेश प्रदेशको चार जिल्ला सप्तरी, सर्लाही, महोतरी र धनुषाका जम्मा १० वटा होरी गायन गर्ने टिमको सहभागिता रहेको महासचिव मलिकले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी भएकामध्ये उत्कृष्ट होरी गित गायन गर्ने प्रथम, द्वितीय र तृतीय गरी तीन टिमलाई शिल्ड, तक्मा र प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको महासचिव मलिकले जानकारी दिनुभयो । 


वरिष्ठ पत्रकार एवम साहित्कार हिमांशु चौधरीको नेतृत्वमा साहित्कार राजेन्द्र ललन र लोकगायक ललित कामत सम्मिलित तीन सदस्यीय निर्णायक मण्डल रहेको र तिनीहरुले नतिजाको अधारमा विजेता टिमलाई पुुरस्कार दिने उहाँले बताउनुभयो । 

त्यसैगरी महोत्सवको दोस्रो दिन महामुर्ख सम्मेलनको आयोजना गरिने र त्यसमा समाजमा राम्रो कामगरी नाम कमाएकालाई महामुर्खको उपाधि दिने कार्यक्रम रहेको उहाँले बताउनुभयो । महामुर्खको खोजी कार्य जारी रहेको र यस वर्ष महामुर्खको उपाधि सम्मेलनमै घोषणा हुने महासचिव मल्लिकले बताउनुभयो । 

आजको कार्यक्रममा होरी गायन गर्ने १० टिमले प्रतियोगिताको उपाधि जित्न लोकभाकाका विभिन्न खालका होरी गितको प्रस्तुति गर्नेछ । यस पटक प्रतियोगितामा धनुषाको जनकनन्दनी गाउँपालिकाका महिलाको होरी गित गाउने टिमको समेत सहभागिता रहेको उहाँले बताउनुभयो ।