• ११ मंसिर २०८१, मङ्गलबार

सांस्कृतिक दृष्टिमा फागु

blog

विविधताभित्र एकताको भाव रहनु नेपाली समाज तथा संस्कृतिको विशेषता हो, यही विविधताभित्रको एकताले गर्दा हरेक जातजातिका सामाजिक सांस्कृतिक चालचलन, रीतिरिवाज, जात्रा पर्वहरूले नेपालको पहिचान कायम गरेका छन् । बहुसांस्कृतिक मुलुक भएकोले यहाँ हरेक समयमा विभिन्न जात्रा, पर्व उत्सव मनाइन्छ जसको ऐतिहासिक–सांस्कृतिक धार्मिक तथा सामाजिक महत्व छ । यस्ता रीतिरिवाज तथा परम्पराले नेपाली समाजको तथा राष्ट्रिय एकता सामाजिक सद्भाव, मैत्रीपूर्ण भावना तथा प्रेमको सन्देश दिएका छन् । यहाँ मनाइने विभिन्न पर्वमध्ये होली अर्थात् फागु पनि एक हो, वसन्त ऋतुको समाप्ति र ग्रीष्म ऋतुको आगमनसँगै मनाइने यसलाई होली, फगुवा, होरी पनि भनिन्छ । प्रत्येक वर्ष फागुन पूर्णिमाको दिन मनाइने हुनाले यसलाई फागु भनिएको हो । जसको प्राचीनताबारे विभिन्न धार्मिक, पौराणिक ग्रन्थहरूमा उल्लेख छ । विभिन्न सडक, चोक, गल्ली, घरका बरन्डा, ठुला–प्राङ्गणमा एकआपसमा खुसी साटासाट गर्दै मनाइने यस पर्वलाई रङहरूको पर्व पनि भनिन्छ, जसले आत्मीयता, प्रेम, मित्रता, तथा सामाजिक सद्भावको सन्देश दिन्छ ।

 फागुको सुरुवातलाई हेर्दा ऐतिहासिक कालसम्म पुन्नु पर्ने हुन्छ, केही पौराणिक तथा ऐतिहासिक स्रोतहरूले यसको सम्बन्ध भगवान् श्रीकृष्णसँग देखाएका छन् । जस अनुसार प्रेमका साक्षात स्वरूप उनका १६ सय गोपिनी थिए । श्रीकृष्णले आफ्नो लामो समय द्वारिका मथुरा, वृन्दावनमा बिताएका थिए । पुतना नामकी राक्षसीलाई मारेपछि आफ्ना गोपाल तथा गोपिनीका साथ नाचगान, रमाइलो गर्दै आपसमा माया साटासाट गर्दागर्दै यो पर्वको प्रारम्भ भएको मानिन्छ । आजभोलि पनि होलीको अवसरमा गाइने कतिपय लोकगाथा श्रीकृष्ण र उनका प्रिय गोपिनीहरूका बिचको माया पिरतीमा आधारित छन् । यस्तै भविष्य पुराणलाई उधृत गर्दै स्रोतहरूमा चर्चा गरे अनुसार राजा युधिष्ठिरले होलिकोउत्सवका बारेमा श्रीकृष्णलाई सोध्दा यस दिनमा रक्षामन्त्र पढ्दै विभिन्न क्रियाकलाप गर्दा केटाकेटीलाई हरण गर्ने, दुःख दिने राक्षसीको विनाशपछि होलिका उत्सवको परम्परा चल्यो भनी बताएका थिए । 

होलीकै प्रारम्भ सन्दर्भमा अर्को पौराणिक कथनले ‘होली’ को सम्बन्ध ‘होलिका’ नामकी राक्षसी राजकुमारी सोही प्रकृतिका उनका पिता हिरण्यकशिपु तथा उनका ईश्वरभक्त छोरा प्रह्लादसँग देखाइएको छ । जस अनुसार प्राचीन समयमा हिरण्यकशिपुले राज्य गरिरहेको समयमा अन्याय, अत्याचार, असत्यको बाहुल्यता थियो । ईश्वर भक्तहरू शोषित भएको अवस्थामा हिरण्यकशिपुका पुत्र प्रह्लाद भने ईश्वरभक्त तथा सत्यवादी थिए । यही भएकाले उनी असत्य, अत्याचार, अन्यायको विरुद्धमा सतमार्ग तर्पm लागेका थिए । यो कुरा राक्षसी प्रवृत्ति तथा असत्यवादी पिता हिरण्यकशिपुलाई मन नपरेपछि प्रह्लादले सत मार्गप्रति देखाएको साहसलाई दबाउन ईश्वरविरोधी बाबुले उनलाई अनेक यातना दिएका थिए । सजायस्वरूप उनलाई पहाडबाट खसाल्ने, हात्तीलाई कुल्चाउने, आगोमा फसाउने जस्ता अनेक कुकृत्य गर्दा पनि प्रह्लाद सतमार्गबाट च्युत भएनन् । अनेक प्रयास असफल भएपछि अन्त्यमा प्रह्लादलाई पत्थरको स्तम्भमा बाधेर काट्न लाग्दा सोही खम्बाबाट नरसिंह (शरीरको आधा भाग मानिस र आधा भाग जनावर) प्रकट भएका थिए । पछि राक्षसी प्रवृत्तिका हिरण्यकशिपुलाई सत्य र न्यायका लागि चिरफार गरेर रक्तधारा बगाएको भन्ने कथन छ । 

यसपछि राक्षसी प्रवृत्तिको अन्त्य भएको खुसियालीमा अबिर आदि रङ परस्परमा लगाएर खुसी बाँडियो । यही सन्दर्भमा अर्को कथन अनुसार अन्याय र अत्याचारको विरोधमा लडेका प्रह्लादको साहस र आत्मविश्वासलाई निस्तेज पार्नका लागि हिरण्यकशिपुले बहिनी होलिकाको साथ लिएका थिए । दाजुको आज्ञा अनुसार प्रह्लादलाई जलाउन साथमा लिएर आगोमा हाम फाल्दा सत्यवादी प्रह्लादकै विजय भयो र उनलाई अविरयात्रा गरेर उत्सव मनाइयो, यसमा अग्निदेवले होलिकालाई भष्म पारे, होलिका जलेर भष्म भएपछि, असत्यको प्रतीक होलिकाको विनाश भएको सम्झना स्वरूप खुसियालीमा होली उत्सव मनाउने चलनको प्रार्दुभाव भएको कुरा कथामा वर्णित छ । 

नेपालमा होली (फागु) मनाउने इतिहास हेर्दा प्राचीन कालबाटै यसको सुरुवात भएको इतिहासकारले उल्लेख गरेका छन् । काठमाडौँमा होली मनाउने थालनीबारेको कथन अनुसार एक पटक उत्तर प्राचीन कालमा सिंह सार्थबाह नामका व्यापारी व्यापारको सिलसिलामा ह्लासा जाँदाको कथालाई जोडिएको छ । यस दिनलाई नेवारीमा ‘चकद्य’ यात्रा भनिन्छ । लिच्छविकाल मल्लकाल हुँदै आजसम्म पनि होली मनाउने परम्परा कायमै छ । केही स्रोतहरूमा लिच्छवि कालमा पुस महिनामा होली मनाइन्थ्यो भन्ने चर्चा छ । आजभोलि काठमाडौँ उपत्यकालगायत विशेषत तराई तथा अन्य क्षेत्रमा होली विशेष उल्लासका साथ मनाइन्छ । 

उपत्यकामा मनाइने होलीको विशेष महत्व छ । यहाँ फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा काठको पच्चीस फुट अग्लो चीर गाडिन्छ जसलाई विभिन्न रङका कपडाका टुक्राहरूले छाताको आकृतिमा सजिसजाउ बनाइएको हुन्छ । जसले वृन्दावनको कदमको वृक्षको सम्झना गराउँछ । उक्त चीरलाई पूर्णिमाको दिन टुँडिखेलमा लगेर डडाएपछि फागु सम्पन्न भएको मानिन्छ । चीरदाह गरेको खरानी दल्ने, टीका लगाउने, फागुको गीत गाउँदै घरघर गई रङ, अबिर खेल्ने चलन छ । 

मध्यरातमा यहाँ गुरुमापा राक्षसलाई भोज खुवाउने चलन छ । हनुमान ढोका दरबार आगाडि चीर गाड्ने चलन पृथ्वीनारायण शाहले काठमाडौँ विजय गरेपछि सुरुवात गरेको कुरा पुस्तकहरूमा उल्लेख छ । तराई क्षेत्रमा होलीको चीरदाहलाई सम्मत जलाउने भनिन्छ, विशेष गरी थारू जातिले आपसमा मनोरञ्जनका साथ नाचगान गरी फगुवा मनाउँछन् भने गुरुङ समुदायले आफ्नो रोधीघरमा रमाइलो गर्छन् भने अन्य समुदायले आआफ्नो स्थानमा परम्परा अनुसार एक आपसमा प्रेम सद्भाव, सहानुभूति आदानप्रदान गरी हर्षोउल्लासका साथ होली मनाउने गर्छन् ।

होलीमा उपत्यकामा ठढ्याउने काठको चीर तथा कपडाबारे पौराणिक कथालाई आधार मानेर स्रोतहरूमा चर्चा गरे अनुसार, काठको पोलको टुप्पोमा एउटा छाता आकारको रङ्गीन कपडा झुन्डाएको थियो । यो २५ फिट अग्लो काठको पोलले वृन्दावनमा भएको कदम्बको रुखको प्रतिनिधित्व गर्दथ्यो । केही महिला एक दिन जमुना नदीको किनारामा नाङ्गै नुहाइरहेको अवस्थामा थिए, कृष्णले उनीहरूको कपडा चोरीदिएर ती कपडा उनले कदम्बको रुखमा राखिदिए, जब महिला नुहाएर बाहिर निस्किएपछि दुम्बित भई लुगा फिर्ता गर्न कृष्णसँग अनुरोध गरे । उनले उनीहरूलाई एउटा नैतिक शिक्षा सिकाउन चाहे र उनले भने कि त्यो नियम नमानेर ठुलो अपराध गरे । यसबाट मुक्त हुनलाई उनीहरूले नदीबाट बाहिर आई सूर्य भगवान्को पूजा गर्नु पर्दथ्यो, त्यहाँ कुनै विकल्प नभएको कारणले कृष्णले उनीहरूलाई सोही अनु्रूप गर्न निर्देशित गरेपछि कृष्णले उनीहरूलाई लुगा फिर्ता गरिदिए । त्यहाँ नाङ्गै नुहाउनु अपराध हुने छ सायद यसैको परिणाम स्वरूप हिन्दु महिलाले नुहाउँदा शरीरमा एउटा कपडा लगाउन कहिल्यै बिर्सेनन् ।

यस कथाले पनि होलीको महत्व राख्छ, कथाहरूमा जे जसरी चर्चा गरिए पनि प्राचीनकालदेखि नै मनाउँदै आएको होलीको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक महत्व छ । असत्यबाट सत्यतर्पm लाग्ने प्रेरणाको रूपमा मनाउन सुरु गरेको कुरा पौराणिक कथनहरूले पुष्टि गर्छन् । यसले एकातिर धार्मिक, समाजिक, सांस्कृतिक महत्व बोकेको छ भने अर्कोतर्पm विकृति, विसङ्गति अन्त्यका लागि सौहार्दपूर्ण ढङ्गबाट ऐतिहासिक सन्देशको मर्म अनुसार यो पर्व मनाउनु पर्छ भन्ने सामाजिक सन्देश हो । 

विभिन्न रङले भरिएका पानीका लोला प्रयोग गर्दा अर्काको शरीर तथा स्वास्थ्यप्रति सजग हुनु पर्छ । आजभोलि होलीको नाममा पर्व सुरु हुनु अगाडिदेखि नै लोला हान्ने, पानी छ्याप्ने, मानव स्वास्थ्य र शरीरमा असर पुग्ने रङ तथा पानीको प्रयोग गर्ने, यसै शैलीमा एसिड प्रहार गर्ने जस्ता विकृति तथा सामाजिक एकता र सद्भाव बिगार्ने क्रियाकलाप भित्रिएका छन् । यी विकृति होलीले दिएको ऐतिहासिक, सामाजिक, धार्मिक सन्देशभित्र पर्दैनन् । तसर्थ यस्ता विकृति अन्त्य हुन जरुरी छ । सरकार, प्रशासनिक निकाय तथा स्वयम् पर्व मनाउनेले यसतर्फ सजग हुनु जरुरी छ कि होली संस्कृतिको पर्व हो, विकृतिको पर्व होइन । आपसी प्रेम, सद्भाव, खुसियाली प्रकट गर्ने पर्व भएकोले रङ साटासाटको क्रममा कसैको इच्छाविपरीत जबरजस्ती रङ लगाइदिने, दूषित पानी छ्याप्ने, लोला हान्ने, लतपत पारिदिने जस्ता विकृतिको अन्त्य गरी अनुशासित र मित्रवत् ढङ्गबाट होली मनाउनु पर्छ । स्वेच्छाले गरिने रसरङले आपसी सद्भाव बढाउँछ भने यसले सांस्कृतिक र सामाजिक महत्व राख्छ । 

   

Author

झरेन्द्र बराल