• १३ साउन २०८१, आइतबार

चैते वर्षाले गहुँ बालीमा क्षति

blog

वर्षाको पानीले भिजेर खेतमै नोक्सान भएको गहुँ। तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, चैत १० गते। पटक-पटक परेको चैते वर्षाले धनुषामा गहुँ बालीमा क्षति भएको छ। धनुषालगायत मधेश प्रदेशका जिल्लामा बुधबार बिहानदेखि पानी पर्न सुरु भएको छ। त्यसयता दैनिक  वर्षा भइरहेको छ। शनिबारसम्म पानी पर्नेक्रम जारी छ। 

बालीनाली सुक्दै गएका बेला झण्डै छ महिनापछि भएको वर्षाले बालीनाली सप्रिने भन्दै खुसी भएका यहाँका किसान पटक-पटकको वर्षाले गहुँबालीलाई नोक्सानी पुर्‍याउन थालेपछि चिन्तित बनेका छन्। अन्तिम पटक असोज दोस्रो साततिर वर्षा भएको थियो। त्यसको झण्डै छ महिनापछि पहिलो पटक बुधबार बिहान वर्षा भएको थियो। वर्षापछि यहाँका किसान खुसी देखिएका थिए। तर, त्यही वर्षाले गहुँबालीलाई नोक्सानी पुर्‍याउन थालेपछि उहाँहरू चिन्तित बनेका हुन्। 

कटान गरेर खेतमै राखिएको गहुँ वर्षाको पानीले भिजेर नोक्सान भएको छ। वर्षासँगै चल्ने हावाले गहुँको बिरुवाको जरा कमजोर भएर खेतमै लड्ने र घर भित्र्याउन काटेर राखेको गहुँ भिजेर नोक्सान भइरहेको मिथिला नगरपालिका–३, हरिहरपुरका किसान मनोज महतोको भनाइ छ। 

मिथिला नगरपालिका कृषि शाखाका प्राविधिक उमेश महतोले लामो समयपछि भएको वर्षाले सबै प्रकारका बालीनालीलाई फाइदा पुग्ने भएपनि केही प्रतिशत नोक्सानी पुर्‍याउन सक्ने बताउनुभयो। उहाँले सबैभन्दा बढी तरकारी बालीलाई फाइदा पुग्नेछ। आँप, कटहरलगायत तराईमा फल्ने मौसमी फलफूललाई पनि फाइदा पुग्नेछ। 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार हल्का वर्षा हुने जनाएको छ। मौसम खुलेर केहीबेर घाम लागे पनि फेरि बदली भएर वर्षाको सम्भावना रहेको बताइएको छ। महाशाखाका मौसमविद् गोविन्द झाकाअनुसार विशेष गरेर मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा सोमबारसम्मै पानी पर्ने सम्भावना छ।