• १० मंसिर २०८१, सोमबार

नारी सङ्घर्षको सुखान्त कथा

blog

कुटी’ उपन्यासका लेखक गोविन्दप्रसाद कुसुम कुशल राष्ट्रसेवक साथै नेपाली साहित्य फाँटका विशिष्ट व्यक्तित्व हुनुहुन्छ । उहाँका कविता सङग्रह, तन्द्राभित्रको अतीत कथा सङग्रह, पर्खाल उपन्यास, पारीको अनुभव यात्रा अनुभव, प्रशासनभित्रको प्रशासन कृति प्रकाशित भइसकेका छन् । नेपाली र अङ्ग्रेजी भाषामा लेखिएका तीन सय लेख सार्वजनिक भइसकेका छन् । उहाँका पुस्तकहरू विशेष गरी व्यवस्थापन विषयवस्तुमा केन्द्रित भएर लेखिएका छन् । यद्यपि प्रशासनभित्र प्रशासनबाहिर, युगोगका कथाहरू र साना आकारका कथा सङ्ग्रह सार्वजनिक हुने क्रममा छ । भृकुटीलाई साङ्ग्रिला मिडिया ग्रुपले २०८० साउनमा प्रकाशन गरेको हो ।

उहाँको दोस्रो उपन्यास भृकुटी १५ भाग र पृष्ठसङ्ख्या ४४९ मा संरचित छ । कृतिको नाम झैँ उपन्यासको कथानुकूल छ । प्रमुख भू्मिकामा भृकुटी भए पनि अन्य पात्र परिवेश र घटना रोचक र कौतुहलपू्र्ण देखिने प्रस्तुत कृति बृहत् आकारको रहेको छ । सुरु गरेपछि छाड्न मन नलाग्ने कृतिको बाह्य साजसञ्जा कथानुकूल आकर्षक र स्तरीय रहेको छ । आजभन्दा चौध सय वर्षअघि एक नेपाली महिलाले नेपाल र तिब्बती समाजमा परिवर्तनका लागि निर्वाह गरेको भू्मिकालाई यसमा प्रस्तुत गरिएको छ । सातौँ शताब्दीमा जन्मिएकी भृकुटी एक देशभक्त, समाज सुधारक र आध्यात्मिक अभियन्ता हुनुहुन्थ्यो । उहाँकै बारेमा लेखिएको ऐतिहासिक उपन्यास हो, भृकुटी । 

प्रस्तुत उपन्यासमा कथानक तथा घटनाको उत्कर्षता तत्कालीन समयमा काठमाडौँ उपत्यकामा अवस्थित पाटन दरबारबाट सुरु गरिएको  छ । उपन्यासको कथावस्तु ऐतिहासिक भए पनि उपन्यासलाई स्रष्टाले निकै मौलिक, कलात्मक र आकर्षक शैलीमा प्रस्तुत गर्नुभएको छ । मुख्यतः तत्कालीन समयमा भृकुटीले गरेका आध्यात्मिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक आदि पक्षमा चालेका विकास र परिवर्तनका सङ्घर्षलगायत नेपालप्रति आफ्नो कर्तव्य पालनामा देखाएको निष्ठा र योगदानलाई प्रस्तुत गरिएको छ । उपन्यासको प्रारम्भिक पाँच भागमा प्रमुख पात्र भृकुटी र उहाँका साथीहरूको दैनन्दिन क्रियाकलापबाट कथा अगाडि बढेको छ । यसमा बालविवाह, बालविधवाका कारण सिर्जना भएका सामाजिक विकृति र विसङ्गति, नकारात्मक टिकाटिप्पणीप्रति दार्शनिक तर्क प्रस्तुत गरिएका छन् । त्यसै गरी शिव, विष्णु र बौद्ध धर्मप्रतिको समान आस्था र विश्वास, राज्यको सुरक्षा, राज्य समृद्ध बनाउन कृषिलाई महत्व, तिब्बती राजा स्रोङ चोङ गम्पोले भृकुटीलाई माग्न पठाएका मन्त्री गार्तोन सेन र थोन्मी शंभोतासहित सयौँको नेपाल प्रवेश निकै शङ्कास्पद चित्रण गरिएको छ । तिब्बत राज्य र नेपालबिच खानपान, रहनसहन, भाषा, धर्म, संस्कृति, संस्कार नमिले पनि स्रोङ चोङ गम्पोले अंशु बर्मालाई लेखेका तीन पत्रबाट राज्यको सुरक्षालाई ध्यानमा राखेर राजकुमारी भृकुटीलाई तिब्बतकी रानी बनाउन अंशु बर्मा सहमत भएका छन् । अंशु बर्मा राज्यका जुनसुकै निर्णय लिनुपर्दा भृकुटीको सल्लाह लिने गरेका तर छोरीको विवाहको निर्णय लिँदा एउटा बाबुको भन्दा राजाको सोच कर्तव्यका रूपमा हाबी भइरहेको  देखिन्छ । 

उपन्यासको मध्य पाँच भागमा नेपालदेखि तिब्बतसम्मको परिवेशलाई लिइएको छ । सती प्रथाका कारुणिक दृश्य, माया, प्रेम र यौवनका कुरा, काठमाडौँको सौन्दर्य, सांस्कृतिक पहिरन, कला, संस्कृति, संस्कृत र पाली भाषाका कुरादेखि कैलाशकुट भवनको पुनर्निर्माणका विषयवस्तु चित्रण गरिएको छ । ज्ञान, सिप, र प्रतिभाविहीन व्यक्ति राज्य प्रमुख भएमा त्यसले शत्रु बलियो बनाउने सङ्केत गर्दै वंश परम्पराको विरोध, जनचाहनालाई प्राथमिकता र ज्योतिष विद्यालाई अकाट्य रूपमा देखाइएको छ । नारी शक्ति, नारी सोच र नारी सामथ्र्यलाई कम आकलन गर्न नहुने तर्क समय सान्दर्भिक छ । अंशु बर्मालाई राजा बनाउनमा विशेष भू्मिका रानी उदितीको रहेको छ । पर्खालको पछाडि के छ भन्न सक्ने भृकुटीले जन्मभू्मि छाडेर कर्मभू्मि गएपछि गर्नुपर्ने कामको योजना बनाइसकेकी उहाँले बाबुले गरेको निर्णयमा कुनै विरोध जनाउनुभएका छैन । काठमाडौँबाट नुवाकोट हुँदै हात्ती, घोडा लावालस्करसहित बौद्ध भिक्षु, कालीगढ, राजकुमारीका सेवक सेविका सयौँको यात्रामा पाठक वर्गलाई यात्री भएको अनुभू्ति हुन्छ । 

उपन्यासका अन्तिम पाँच भागमा राजकुमारीको तिब्बतको रासासम्म पुग्दाको यात्रा निकै कष्टपू्र्ण छ । पठारको सिरेटो, हिमनदी, तालहरू, थरीथरी हिमाल, रासा पुगेपछि स्रोङ चोङ गम्पोले गरेको स्वागत, त्यहाँका जनताले राजकुमारीप्रति देखाएको उच्च सम्मान, हिन्दु, बौद्ध र बोन धर्म अनुसार विवाह गरेर त्रिकोणात्मक सम्बन्ध देखाइएको छ । यद्यपि राज्यको विरुद्धमा लाग्ने देशद्रोहीलाई मृत्युदण्ड दिएको, स्रोङ चोङ गम्पोले राज्य सुरक्षाका लागि गरेको दोस्रो विवाह जसको उपयुक्त व्यवस्थापन भृकुटी स्वयम्ले गरेका यावत् सन्दर्भ उपन्यासमा उल्लेख छन् । नेपालीको ज्ञान, विवेक, कला र धर्म प्रचारले तिब्बतको विकास सामाजिक चेतनामा वृद्धि भएको अझ नारीको अवस्था सुधार गर्न नारीको सक्रियता आवश्यक पर्ने देखाइएको छ । 

उपन्यासमा राज्यको सुरक्षाका लागि नारीले गरेको त्याग र सङ्घर्षको सुखान्त कथा हो । बाल्यकालदेखि किशोरावस्था हँुदै व्यावहारिक जीवनका प्रत्येक कार्यलाई समेटेर कथाले पूर्णता पाएको छ । कथाको सुरुदेखि अन्तसम्म गतिशील पात्रका रूपमा उहाँको उपस्थिति सर्वोपरि रहेको छ । पात्रबिचको कथोपकथन पाठक वर्गका लागि सजिलो, स्वस्थ, रोचक र प्रभावकारी ढङ्गले सम्प्रेषण गरिएको छ । उपन्यासमा एकाधबाहेक अधिकांश पात्र सकारात्मक रहेका छन् । बाह्य दृष्टिबिन्दुमा लेखिएको उपन्यासको भाषाशैली दरबारभित्र उच्च वर्ग र बाहिर बोलिने अन्य व्यक्तिले प्रयोग गर्ने भाषा भए पनि बोधगम्य नै छ । कतिपय तिब्बती पात्रका नाम र ऐतिहासिक नाम र ठाउँ अप्ठ्यारो भए पनि फुटनोटको प्रयोग गरिएको छ । भृकुटीको चरित्रको पुनर्निर्माण गरी लेखकले कल्पनालाई युग सत्य, घटना सत्य र व्यक्ति सत्यको आभास गराएर उपन्यासलाई कलात्मक रूपमा प्रस्तुत गरेकोले कृतिले जीवन्तता पाएको अनुभू्ति हुन्छ । 

नेपाली समाज पुरुषप्रधान समाज भए पनि इतिहासका विभिन्न कालखण्डमा भएका घटनामा महिलाको भूमिका अहम् रहेको पाइन्छ । अंशु बर्मा आफैँमा बहादुर, दूरगामी, एक कुशल राजा मात्र नभई महासामन्त पनि हुनुहुन्थ्यो । उहाँको समयलाई स्वर्णिम बनाउन र त्यो उचाइमा पु¥याउने महान् पात्र छोरी भृकुटी हुनुहुन्थ्यो । भृकुटीको अमू्ल्य योगदानको कदर गर्दै हामी नेपालीले कूटनीतिक, सामाजिक, आर्थिक र सुशासनका पक्षलाई बुझ्न सिक्न र अनुसरण गर्न यसले निर्देश गरेको छ । अर्कोतर्फ निर्दिष्ट उपन्यास अन्य अध्येताका लागि खोजको गतिलो विषय पनि बनेको छ ।