• २० वैशाख २०८१, बिहिबार

युगकवि सिद्धिचरण श्रेष्ठ र उनको काव्यसाधना

blog

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा ११२ औ“ युगकवि सिद्धिचरणको जन्मजयन्ती समारोहमा आफ्नो स्वागत मन्तव्यको आरम्भमा यो पङ्क्तिकारले भनेको थियो– छ दशकभन्दा बढी लामो समय काव्यसाधनामा संलग्न रही युगकविले एउटा सिङ्गो युगको निर्माण गर्नुभएको थियो । कठोर एकतन्त्रीय राणाशासनविरुद्ध कविताका माध्यमबाट  क्रान्तिको शङ्खनाद गरी युगकविले आफूलाई प्रथम क्रान्तिकारी कविका रूपमा प्रस्तुत गरेर सम्पूर्ण क्रान्तिका लागि अतुलनीय र अभूतपूर्व योगदान दिनुभएको छ । कविताको माध्यमबाट क्रान्तिको सन्देश फैलाउने तथा त्यसबेलाको जनसमुदायलाई  क्रान्तिका लागि जागृत एवं उत्प्रेरित गरेबापत उनलाई १८ वर्षको काराबास र सर्वस्वहरण दण्ड दिइयो । काराबासमै रहेर पनि उहाँको काव्यसाधना नेपाली र नेवारी भाषामा निरन्तर रूपले जारी रह्यो, साथै राजनीतिक कारणले जेल यात्रामा रही आफू जस्तै बन्दी बनेका र बनाइएका सहयात्रीहरूका लागि उहाँ प्रेरणादायी स्रोत बन्नुभयो । 

वरिष्ठ राजनीतिज्ञ स्वर्गीय गणेशमान सिंहले युगकविसित जेलयात्रामा रहँदा उहाँबाट आफू अत्यन्त प्रेरित भएको विषयमा आफ्नो जेलयात्रा संस्मरणमा चर्चा गर्नुभएको छ । “यो गणेशमानलाई गणेशमान बनाउनमा सिद्धिचरण दाइको सबभन्दा ठुलो हात छ । राणाहरूको कालकोठरीमा सिद्धिचरण दाइले मलाई मानसिक रूपले भाँचिनबाट नरोकेको भए सायद म त्यतिबेलै खत्तम भइसकेको थिएँ । सिद्धिचरण म जस्ता युवाका लागि एउटा आदर्श हुनुहुन्थ्यो । जस्तो उहाँको कविताका कारण म पनि राजनीतितिर तानिएको थिएँ र राणाविरोधी आन्दोलनमा समर्पित भएको थिएँ ।”१

युगीन चेतना जगाउने र युगका छवि उतार्ने अविस्मरणीय कार्य उहाँबाट सम्पादन भएको हुँदा स्वतः स्फूर्त रूपमा नेपाली जनसमुदायले उहाँलाई युगकविको नामले सम्बोधन गरी सम्मान गरेको छ । २००७ सालको जनआन्दोलनपछि पनि युगकविले साहित्यिक यात्रा र नेपाली वाङ्मयको उहाँप्रति समर्पणभाव तथा संलग्नताले निरन्तरता पाइरह्यो । विभिन्न विधामा लेखिएका र प्रकाशित भइसकेका युगकविका कृतिहरूबाट यसको पुष्टि हुन्छ । नेपाली वाङ्मयमा स्वच्छन्दतावादका प्रवर्तक युगकवि श्रेष्ठले न केवल प्रगतिवादी चिन्तनलाई रुचाउनुभयो, अपितु काव्यका माध्यमद्वारा सो चिन्तनलाई मूर्त रूपसमेत दिनुभयो । नेपाली कविताका बहुआयामिक पक्षको संवर्धनमा उहाँको योगदान उल्लेखनीय छ । 

अहिले विश्व आपसी अविश्वास, मनमुटाव र द्वन्द्वले गर्दा अशान्त भएको छ । युद्धको बादल मडारिन थालेको छ । विसं २०७४ सालमा प्रकाशित युगकविको युद्ध र शान्ति खण्डकाव्यलाई समालोचकहरूले विश्वको युद्धजन्य परिवेशलाई मुखरित गर्न शान्तिको सन्देशमा आधारित सामाजिक खण्डकाव्य भनी सराहना गर्दै यसको सान्दर्भिकतालाई प्रस्ट्याएका छन् । एकातिर रुस युव्रmेन युद्ध झन्डै दुई वर्षदेखि लगातार जारी छ भने अर्काेतिर झन्डै तीन महिनादेखि मध्यपूर्वमा जारी रहेको इजरायल–हमास युद्धमा निरअपराध, निःशस्त्र र अबोध बालबालिका, महिला र अन्य गाजापट्टी निबासी नागरिकहरूको बीभत्स हत्या भएको छ । शान्तिकामी युगकवि हत्या, हिंसा र युद्धका विरोधी थिए भन्ने कुरा उनको यही खण्डकाव्यबाट प्रस्ट हुन्छ । 

त्यस्तै कवि केदारमान व्यथित पनि युगकविबाट आफूले प्रेरणा पाएको स्विकार्दै सिद्धिचरणबिनाको नेपाली वाङ्मयमा शून्यता वा रिक्तता आउने ठहर गर्दछन्, “युगकविबाट नै मैले कविता कोर्ने प्रेरणा पाएको हुँ । छन्दोबद्ध काव्य सिर्जना गर्न उहाँले जेलमा मलाई सिकाउनुभएको हो । मैले कवि सिद्धिचरणलाई कसैसँग वादविवाद नगरी छुट्टै आफ्नो अस्तित्व सिर्जना गर्ने कविको रूपमा लिएको छु । उहाँलाई झिक्ने हो भने ‘भ्याकुम’ सिर्जना हुन्छ ।”२

२००७ सालको परिवर्तनपछि पनि सिद्धिचरणको साहित्यिक यात्रा र नेपाली वाङ्मयप्रति उनको समर्पणभाव र संलग्नताले निरन्तरता पाइरह्यो । विभिन्न विधामा लेखिएका र प्रकाशित भइसकेका युगकविका कृतिहरूबाट यसको पुष्टि हुन्छ । कोपिला (२०२१), मेरो प्रतिविम्ब (२०२१), कुहिरो र घाम (२०२५), बाँचिरहेको आवाज (२०४६) सिद्धिचरणका कविता सङ्ग्रह हुन् भने उर्वशी (२०१७), ज्यानमारा शैल (२०२३), मङ्गलमान (२०४९), आँसु (२०५०), जुनकिरी (२०५९) उनका खण्डकाव्य हुन् । भीमसेन थापा (२०६०) ऐतिहासिक सन्दर्भमा लेखिएको छ भने २०६७ मा प्रकाशित बालीवध कविको चर्चित, पौराणिक पृष्ठभूमिमा रचिएको पद्यनाटक हो । बाल कवितामा पनि सिद्धिचरणले कलम चलाएका छन् । 

वि. सं. २०१४ देखि नै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यका साथै आजीवन सदस्य रहेका युगकवि सिद्धिचरण विभिन्न विधामा रचिएका कृतिहरूको विवेचना एवं विश्लेषण, अध्ययन तथा अनुसन्धान विविध दृष्टिकोणबाट भएका छन्÷ गरिएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति स्व. प्राध्यापक डाक्टर ईश्वर बराल कवि सिद्धिचरणको प्रकृतिप्रेम र चित्रणबाट निकै प्रभावित भई आफ्नो उद्गार यसरी प्रकट गर्छन्, “सरल प्रकृतिको सरल, आकर्षण तथा आह्लादक छटाको चित्रण गर्नु सिद्धिचरणको विशेषता हो । प्रत्येक प्राकृतिक वस्तुमा उहाँ कल्याणकारी सौन्दर्य देख्नुहुन्छ । शान्त प्रकृतिको शान्त, स्निग्ध तथा सरल रूप”३ कविको ओखलढुङ्गा कविता प्रकृतिको यही शान्त, स्निग्ध तथा सरल रूपको उत्कृष्ट नमुना हो । यसै कोटिका अन्य कविता जस्तै वर्षा, सुन्दरीजल, वसन्त, हिमाल, प्रातकालीन किरण, हिमालयको दृश्य साझमा र जुनेली रातमा निर्झरमा कविको प्रकृतिप्रेम अझ सशक्त रूपमा छचल्किएको छ । 

उदाहरणार्थ निर्झर कविताबाट उद्धृत यी पङ्क्तिहरू सारै आह्लादक र मनमोहक छन् । सरस शब्द र सरल भाषाको संयोजनले गर्दा निर्झर आफ्नैसामु बहेको पाठकलाई अनुभूति हुन्छ । विह्वल अवस्थामा रहेको मन प्रफुल्ल र पुलकित हुन्छ । 

द्रुत निर्झर, गिरी उपर, स्वरमा सुख

झर झर्रर, तरुको तल स्वर जीवन 

वन, पर्वतमा बसीकन गर कल्कल 

स्वरले भर, स्वर सुन्दछु, स्वर सुुन्दर । 

म छु विह्वल, सुख दूर छ, 

बह निर्झर, प्रिय निर्झर । 

विभिन्न लेखक टिप्पणीकार र समालोचकहरूले नेपाली वाङ्मयमा प्रथम पटक  क्रान्तिको बिउ छर्ने अमर कवि सिद्धिचरण नै हुन् भनी ठोकुवा गरेका छन् । मङ्गलमान खण्डकाव्यको आठौँ सर्गमा कवि सिद्धिचरणको  क्रान्तिचेत यसरी मुखरित भएको छ :

हक आफ्नो खुसीसाथ हुँदैन है प्राप्ति

गर्नु पर्छ जनताले आन्दोलन  क्रान्ति ।

आन्दोलन  क्रान्तिबाटै मिल्छ अधिकार 

इतिहास सारा गर्छन् यै कुरा स्वीकार ।

कवि आफैँले मङ्गलमान जस्तो साधारण जनताको छोरालाई काव्यनायक बनाएका छन् । तथाकथित सम्भ्रान्त परिवारको सदस्य मङ्गलमान नभएको तथ्य काव्यबाट प्रस्ट हुन्छ । कविकै शब्दमा, “कस्ता कस्ता सज्जनको नलेखेर गाथा, लेख्न थाल्यो यस्तो नाथे मङ्गलमानको गाथा ।” मानिस ठुलो र सानो उसको कामबाट थाहा हुन्छ । समान र राष्ट्रका लागि मङ्गलमानले के ग¥यो उसलाई तौलने, मूल्याङ्कन गर्ने कसी यही हो भन्ने अन्तर्निहीत धारणा काव्यमा पाइन्छ । अन्याय, अत्याचार, गरिबी, शोषण र दमनविरुद्ध सङ्घर्षरत मङ्गलमान न्यायका लागि र प्रजातान्त्रिक अधिकारका लागि जीवन उत्सर्ग गर्दछ । ३६ वर्षको अल्पायुमा नै उसको निधन हुन्छ । कविवर श्रेष्ठ मङ्गलमानको निधनसँगै न्यायको अवसान भएको ठान्दछन्, “मङ्गलमान मर्नु आज न्याय निसाफ मर्नु, जनताको विश्वासमा कालो धब्बा पर्नु” मङ्गलमानको जीवन दर्शन अन्यायको विरोध गरी आमाको सेवा गर्नु रहेको छ । 

 राणाहरूलाई बिन्तिपत्र लेखी माफी माग्नु पर्छ भन्ने बाबुको आज्ञालार्ई मान्दैन र कष्टदायी जेलजीवनको यातना सहन तयार हुन्छ । माफी मागेर छुट्नुलाई ऊ नीचता ठान्दछ । आन्दोलन चर्कंदै गएपछि राणाशाही ढल्छ र मुलुकमा परिवर्तन आउँछ तर यो परिवर्तनबाट को लाभान्वित हुन्छ ? फेरि टाठाबाठाकहरूकै ढलीमली हुन्छ र सोझा निमुखालाई धैर्य गर्नुपर्छ, हडबड गर्नु हुँदैन भन्ने तिनको पाखन्डी उपदेश वर्तमान परिवेशसित मिल्दोजुल्दो छ । अहिले पनि विभिन्न चरणका आन्दोलनमा सहभागी भएर प्राणको बाजी लगाएर परिवर्तन ल्याउन तत्पर सोझा, निमुखा जनता आफैँले उच्च ओहोदामा पु¥याइएका नेताहरूको अर्ती सुन्न विवश छन् । गरिबी, अशिक्षा, महँगी र बेरोजगारीसित जुध्न बाध्य जनतामा जनमुक्तिप्रति नै वितृष्णा पैदा भएको देख्न सकिन्छ ।  

“परिवर्तन भयो त सुख भेटिएन, तिर्खाएका पथिकको तिर्खा मेटिएन” हजारौँ मङ्गलमानहरू तिर्खाएका पथिक झैँ राजनीति लगायत विभिन्न क्षेत्रमा देखिएका विकृति र विसङ्गतिबाट छ दशकअघि पनि असन्तुष्ट थिए र अहिले पनि छन् । 

मङ्गलमान खण्डकाव्यमा युगकविबाट भएको युगबोधको सान्दर्भिकता अझै हराएको छैन । निःसन्देह युगकवि श्रेष्ठका काव्य कृतिहरूमा मङ्गलमान एउटा उत्कृष्ट र प्रतिनिधिमूलक खण्डकाव्यका रूपमा रहेको छ । यो काव्य वियोगान्त रहेको छ र भएको नायक माथि उल्लेख भए झैँ सम्भ्रान्त परिवारको छैन । २००० हजार वर्षअघि ग्रिसका सिद्धान्तकार एरिस्टोटलबाट प्रतिपादित वियोगान्त काव्य वा नाटकमा नायक घरानियाँ परिवारको सदस्य हुनै पर्छ भन्ने सिद्धान्त मङ्गलमानमा लागु हुँदैन । 

कविवर श्रेष्ठले आफ्नै सैद्धान्तिक विचार र परम्परा कायम गरेका छन् । खण्डकाव्यको प्रकाशकीयमा व्यक्त धारणा सान्दर्भिक देखिन्छ । “आजको एक्काइसौँ शताब्दीमा आइपुग्दा पनि मानवीय न्याय, करुणा, समानता अनि मानव अधिकारका लोकतान्त्रिक सपनाहरू विपना भइसकेका अवस्थामा यस काव्यले मानव सभ्यताको लामो सङ्घर्षलाई निरन्तरता दिँदै आजको युगको प्रतिनिधित्व गरेको छ ।” 

कवि श्रेष्ठका अन्य कृतिहरू कम महŒवपूर्ण छैनन् । तिनबाट पनि नेपाली वाङ्मयको उत्थान, उन्नयन र संवृद्धिमा मनग्य योगदान पुगेको कुरामा सन्देह छैन । मङ्गलमान खण्डकाव्यको प्रकाशनलगत्तै अर्को खण्डकाव्य आँसु प्रकाशनमा आयो । यसले पनि सत्यको जितका लागि अन्याय र अत्याचारको विरुद्ध सङ्घर्ष गरिरहनु पर्ने सन्देश दिन्छ । आँसु सङ्घर्षको प्रतीक हो । यसको ‘भेलले मानव मात्रलाई सुन्दर, शान्त परिवेशयुक्त समाज प्रदान गर्ने कविको अठोट देखिन्छ’४ भन्ने डा. गार्गी शर्माको टिप्पणीले यस खण्डकाव्यको मर्म र भावनालाई प्रस्ट्याउँछ । मङ्गलमान काव्यको नायकले आमाको सेवालाई आफ्नो मूल धर्म माने झँै आँसु खण्डकाव्यको निम्न उद्धरणमा मनुज सेवाकै लागि लम्कन कविले आह्वान गरेका छन् । 

कर्म क्षेत्रमा तँ निस्की 

मनुज सेवामा तँ लम्की 

मर् तँ आजै क्यै गरेर 

चुपचाप नबस् सडेर ।

युगकवि श्रेष्ठको  क्रान्तिचेतले समाज सुधारको क्षेत्रलाई पनि अँगालेको देख्न सकिन्छ । उनको खण्डकाव्य जुनकिरीमा एउटा समावेशी समाजको परिकल्पना गरिएको छ, जहाँ जातपातको संस्कारबाट समाजलाई मुक्त गर्न कविको प्रगतिवादी अठोट देखिन्छ । मङ्गलमानको चर्चा वियोगान्त खण्डकाव्यको रूपमा गरियो भने भिन्नाभिन्नै जातका जुरे र जुनकिरीको प्रेम सम्बन्धलाई मिलन बिन्दुमा पु-याएर कविले जूनकीरी खण्डकाव्यलाई संयोगान्त स्वरूप प्रदान गरेका छन् । 

“मानिस ठुलो दिलले हुन्छ जातले हँुदैन,” महाकवि देवकोटाले जात होइन, दिल सर्वाेपरि हुन्छ भनी मुनामदनमा लेखेको सम्झना पाठकलाई हुन्छ । जातपातको कृत्रिम सीमाभन्दा प्रकृतिसित तादात्म्य रहेको विशुद्ध प्रेममा ईश्वरीय शक्ति नै रहेको छ भनी आफ्नो विश्वासप्रति जूनकिरीको पहिले उच्छ्वासको दोस्रो श्लोकमा नै कविले पाठकको ध्यानाकर्षण गरेका छन् :

जस्तै हओस् प्रकृति नूतन स्वच्छ ताजा 

जन्माउँछे सरस भाव र स्नेह साजा 

बाँझो रहन्छ नभए मनभित्र प्रेम 

हो प्रेम नै स कुरा मधु–दिव्य धाम । 

नेपाली भाषा र साहित्य खास गरी नेपाली कविताका बहुआयामिक पक्षको संवर्धनमा कविवर सिद्धिचरणबाट भएको योगदान वर्णनातीत छ । युगकवि श्रेष्ठको ११२ औँ जन्मजयन्तीको अवसरमा २०८० को युगकवि सिद्धिचरण प्ुरस्कार प्राप्त गर्नुहुने प्राध्यापक, लेलक, भाषाविद् एवं वरिष्ठ कूटनीतिज्ञ डा. जयराज आचार्य पुरस्कार स्विकार्दै भन्नु हुन्छ, सरल भाषामा महत्वपूर्ण सन्देश दिनु सिद्धिचरण श्रेष्ठको विशेषता हो । यस अर्थमा उनी आफ्ना समकालीनहरू खास गरी सम र देवकोटाभन्दा फरक छन् । समको बौद्धिक क्लिस्टता र परिश्रम अनि देवकोटाको कल्पनाको उडान कतिपय स्वनिर्मित शब्दहरूको स्वच्छन्द नाच सिद्धिचरणमा पाइँदैन । उनले त समकालीन नेपाली जनसाधारणको भावनाको निकटतम सान्निध्यमा रहेर बातचितको भाषामा कविता लेखे ।५

अन्त्यमा मेरा आदरणीय गुरु श्रद्धेय प्रा. यदुनाथ खनालबाट भएको नेपाली साहित्यमा विशिष्ट स्थान ओगट्ने युगकविको मूल्याङ्कनलाई उद्धृत गर्दछु –“उनको जीवनव्यापी कविताको उपासना छर्लङ्गिने इमानदारी, प्रतीकको अपरिचितता र अर्थको क्लिस्टतासँगको अधैर्य जीवनको बाजीमा पस्ने व्यक्तित्व सुधारतर्फ प्रवृत्ति, स्वतन्त्रताप्रति गम्भीर संलग्नता– यी सबैै गुणले गर्दा उनको कविताले नेपाली कविताका सबै पे्रमीलाई चिरकालसम्म मुग्ध गर्न सक्छन् ।६

सन्दर्भसामग्री 

१. गणेशमान सिंह, ‘सिद्धिचरण दाइ’, युगकवि सिद्धिचरण विशेष, घुँएत्रो द्वैमासिक, वर्ष २, अङ्क ८/९, काठमाडौँ, फागुन चैत । 

२. केदारमान व्यथित, ‘सिद्धिचरण एक सच्चाकवि’ ऐजन ।

३. डा. ईश्वर बराल, ‘परिवर्तनशील कवि सिद्धिचरण’, ऐजन ।

४. डा. गार्गी शर्मा, ‘युगकवि जीवल दर्शन र शिल्पकला’, ऐजन ।

५. जयराज आचार्य, ‘सिद्धिचरणको युगकवित्व– एक सङ्क्षिप्त विमर्श, काठमाडौँ, विमर्श, (२०८०) 

६. प्रा. यदुनाथ खनाल, ‘सिद्धिचरण श्रेष्ठ–एक चित्रण’, युगकवि सिद्धिचरण विशेषाङ्क, ऐजन ।

उपाध्यक्ष

युगकवि सिद्धिचरण श्रेष्ठ प्रतिष्ठान ।