• १२ पुस २०८१, शुक्रबार

साँचो मित्रता

blog

पूर्वी तराईको जनकपुर उपमहानगरपालिकामा बस्ने दुई मित्रहरू सुभाष घिमिरे र सत्यम पौडेल थिए । दुवै ज्यादै मिलनसार, मेहनती, इमानदार र एकाअर्काप्रति ज्यादै आत्मीय थिए । उनीहरूको मित्रता उदाहरणीय थियो । उनीहरू एकाअर्काका छिमेकी पनि थिए र मित्रता पनि बालककालदेखिकै थियो ।

यी मित्रहरूको चरित्र भने एकाअर्काको विपरीत थियो । सुभाष गम्भीर, अध्ययनतिर नै ध्यान दिने, अरू क्रियाकलापमा खासै चाख नलिने, साथीभाइको समूहमा पनि धेरै घुलमिल नहुने एकान्तप्रेमी थियो भने उसको साथी सत्यम ठिक विपरीत स्वाभावको । हरेक क्रियाकलापमा सक्रियता देखाउने, धेरै मान्छेसँग नजिकिएर मित्रता गाँस्ने, आफ्नो वाक्पटुताले सबैलाई दङ पार्ने स्वभावको थियो । विद्यालयको अतिरिक्त क्रियाकलाप जस्तै वादविवाद प्रतियोगिता, खेलकुद आदि हरेक छेत्रमा सक्रिय भएर सहभागिता जनाउँथ्यो । अध्ययनतिर भने धेरै ध्यान नै दिँदैनथ्यो ।  यसरी विपरीत स्वभावका यी दुईको मित्रता भने अचम्मको घनिष्ठ थियो ।

सुभाष सत्यमलाई पढाइ तथा सिकाइतिर कसरी अत्यधिक ध्यान केन्द्रित गराउने र हामी दुवै साथी मिलेर अध्ययनको क्षेत्रमा उच्चताको बिन्दुमा पुग्ने भन्ने कोसिसमा हुन्थ्यो भने सत्यमको कोसिस भने आफ्नो एकान्तप्रेमी मित्रलाई धेरै साथीभाइको समूहमा ल्याएर विद्यालयको सबै क्रियाकलापमा सक्रिय सहभागी गराएर आफू जस्तै बनाउने मन थियो ।

सत्यमको निरन्तर प्रयासका कारणले ठुलो कक्षामा पुग्दासम्म्म सुभाष पनि विद्यालयबाट सञ्चालन हुने अतिरिक्त क्रियाकलापमा सहभगी भई धेरै साथीभाइको समूहमा घुलमिल हुने भएको थियो भने सुभाषले गर्दा श्याम पनि पढाइमा धेरै मेहनत गरी परिक्षामा राम्रो अङ्क ल्याउन थालेको थियो । फुटबल खेलमा जिल्लास्तरीय विद्यालय प्रतियोगितामा यी दुई साथीको प्रयासले राम्रो टिम तयार भई प्रथम हुन सफल भएको थियो । सत्यम भने राष्ट्रियस्तरको खेलाडी बन्ने चाहनामा सक्रिय थियो । साहित्यको क्षेत्रमा पनि राष्ट्रियस्तरको पत्रपत्रिकामा आफ्नो लेख रचना सुभाष र सत्यमले लेख्ने गरेका थिए र ती रचनालाई आफ्ना साथी र शिक्षकलाई पनि सुनाउने देखाउने गरेका थिए । सबैले उनीहरूको रचनालाई मन पराउनुका साथै अझै राम्रो गर्न हौसला पनि दिन्थे । उनीहरू पनि एकाअर्काको साथ पाएर हरेक क्षेत्रमा आफ्नो प्रतिभालाई प्रकट गर्न कुनै मौका छुटाउँदैन थिए । यसरी सबै सामु सफल र प्रशंसित हुँदा यी दुवै मित्र खुसीले गदगद हुन्थे । 

 यसरी समयक्रम अनुसार सुभाष मुलुकको नै एक प्रतिष्ठित चिकित्सक भए एवं विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सेमिनारमा आफ्नो प्रस्तुतिलाई प्रकट गर्न, आफ्नो वाक्पटुता तथा अन्य क्रियाकलापमा मित्र सत्यमले गरेको प्रयासले आफू सफल हुन पुगेको अनुभूति गर्दथियो । यसै गरी सत्यम पनि मुलुकको एउटा प्रतिष्ठित फुटबल खेलाडीका रूपमा आफूलाई स्थापित गर्न सफल भएको थियो । साथै शिक्षाको महìवलाई बुझेर अङ्ग्रेजी विषयमा स्नातक गरेर शिक्षा, त्यस्तै खेलकुद आदि अन्य क्षेत्रमा पनि राम्रो प्रगति गर्दै गएको थियो र यी सबै प्रगतिमा साथी सुभाषको साथ र सहयोगले मात्र सम्भव भएको अनुभूति उसले पनि गरेको थियो । विपरीत स्वभावको मित्रताको साथले पनि एकाअर्काको प्रतिभालाई तिखार्न, निखार्न मद्दत मिल्दछ भन्ने उदाहरण यी दुईको कलाकौशलबाट ग्रहण गर्न सकिन्छ ।

जीवनको प्रवाहलाई सुगमतासाथ नदीको प्रवाहझै सलल बगिरहन दिने हो भने विपरीत विचार, भावना, सोच तथा विविध प्रतिकूलताबाट पनि सही दिशा पहिल्याउन सकिन्छ, साथीको असल सङ्गत, असल निर्देशनबाट सफलताको सिँढी चढ्न सकिन्छ भन्ने मान्यतालाई यी दुई मित्रले साकार गरे । आज परिवार समाज र राष्ट्रमा सम्मानित नागरिक भएर जीवनयापन गरिरहँदा सबैले मित्र होस् यस्तो अनि मित्रता होस् त यिनीहरूको जस्तो भनेको सुन्दा यिनीहरू खुसीले गदगद हुन्छन् ।  

 

Author

कविता शर्मा