सिराज खान
नेपालगन्ज, मङ्सिर ११ गते । नेपालगन्ज उपमहानगरपालिकाले डोजर चलाएर रत्न राजमार्ग अन्तर्गत सुर्खेतरोडको विपी चोकदेखि धम्बोजी चोकसम्म सडकको दुवैतर्फको नालादेखि सात फिटभित्र पर्ने संरचना हटाउन सुरु गरेको छ ।
उपमहानगरपालिकाले गत कात्तिक १८ गते एक सार्वजनिक सूचना प्रकाशित गरेर सुर्खेतरोडको विपी चोकदेखि धम्बोझी चोकसम्मको सडकको सात फिट भित्रका सबै संरचना १५ दिन भित्र हटाउन अल्टिमेटम दिएको थियो । तर सूचना प्रकाशित गरिएको एक महिना पुग्न लाग्दा पनि सो सडकको दुबैतर्फको सात फिटभित्र निर्माण गरिएका टहरा, होर्डिंग बोर्ड लगायतका संरचना नहटाइएकोले उपमहानगरपालिकाले डोजर चलाएर बिहिबारबाट ती संरचना हटाउन सुरु गरेको हो ।
सो सडकमा फुटपाथ निर्माण तथा बृक्षारोपणस्थल निर्माण गर्ने भएकोले सडकको दुबैतर्फको सात फिट भित्र निर्माण गरिएका टहरा, होर्डिंग बोर्ड लगायतका सबै सरंचना डोजर चलाएर हटाउन सुरु गरिएको उपमहानगरका नगर प्रमुख प्रशान्त बिष्टले बताउनुभयो । उहाँले सो हटाउन १५ दिने अल्टिमेटम दिइएपनि थप केही दिन समय बढाउँदा समेत नहटाइएकोले डोजर चलाउनु परेको बताउनुभयो ।
गत कात्तिक १८ गते प्रकाशित गरिएको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माद्वारा हस्ताक्षरित सुचनामा तोकिएको अवधिभित्र उक्त संरचनाहरु नहटाइए कार्यालयले हटाउने र त्यसबाट हुने क्षतिको जिम्मेवार सम्बन्धित व्यक्ति आफैँ हुनुपर्ने र हटाउँदा लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाट असुल गरिने जनाइएको थियो ।
सुर्खेत रोडको निर्धारित क्षेत्रको सडकको दुबैतर्फको नालादेखि सात फिटभित्र पर्ने टहरा, होर्डिङ बोर्ड, पोल, पर्खाल वा जुनसुकै संरचना भएपनि सबै हटाउने उपमहानगरपालिकाले जनाएको छ ।
पैदलयात्रीलाई सुरक्षित फुटपाथ र हरियाली दिन उपमहानगरले तत्काल काम थाल्ने जनाएको छ । यो सडक नेपालगन्जको मुख्य प्रवेशद्वार हो, जसलाई सुन्दर र व्यवस्थित बनाउने लक्ष्य रहेको उपमहानगरका नगर प्रमुख बिष्टले बताउनुभयो ।