अमरराज नहर्की
तनहुँ, चैत ५ गते । वन डढेलो रोकथामका लागि तनहुँमा विशेष अभियान सुरु गरिएको छ । यस जिल्लाका अधिकांश वन डढेलो उच्च जोखिममा रहेकाले डिभिजन वन कार्यालयले विशेष अभियान सञ्चालन गरिएको हो । वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्न चैत १ देखि ७ सम्म वन डढेलो सचेतना सप्ताह कार्यक्रम सञ्चालन गरिएको हो ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठले सुक्खायाममा मानवीय कारणबाट हुने डढेलो रोक्न सचेतना अभियान सञ्चालन गरिएको बताउनुभयो । सो कार्यक्रम अन्तर्गत गाउँ गाउँमा सचेतना सामग्री वितरण, माइकिङ, रेडियोबाट सूचना सामग्री प्रसारण, पोस्टर टाँस्ने, फायरलाइन रेखा सफा गर्ने, डेमो गराउने, पातपतिङ्गर हटाउने तथा जलाउनेलगायतका कार्य गरिएका छन् ।
डिभिजन वन कार्यालयले समुदाय, वन कर्मचारी तथा सरोकारवाला निकायसँग अन्तर्क्रिया गर्दै सप्ताहव्यापी रूपमा कार्यक्रमलाई अगाडि बढाएको उहाँले जानकारी दिनुभयो । राजमार्ग सडक तथा भित्री सडक छेउछाउको पातपतिङ्गर हटाउने, सरसफाइ गर्ने र पूर्वतयारीका कार्यक्रमलाई प्राथमिकता दिइएको कार्यालयले जनाएको छ ।
वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन आग्रह गरिएको छ । स्थानीयवासी, जनप्रतिनिधिलगायत सरोकार पक्षलाई यस अभियानमा जोडिन आग्रह गरिएको छ ।
सूचना अधिकारी श्रेष्ठका अनुसार जिल्लाको अधिकांश सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेकाले सबैलाई सतर्क र सुरक्षा अपनाउन आग्रह गरिएको छ । वनजङ्गलमा सुक्खा मौसमको समयमा लाग्ने आगलागी तथा डढेलोबाट हुन सक्ने नोक्सानी र डढेलो लाग्नै नदिने उपायबारे सरोकारवालासँग छलफल गरिएको छ । डढेलोले गर्दा हुने क्षति, प्रभाव, डढेलोबाट वन जोगाउन खेल्नुपर्ने भूमिका र चुनौतीका विषयमा व्यापक रूपमा सुसूचित गरिएको जनाइएको छ । मानवीय कारणले ९६ प्रतिशत डढेलो लाग्ने भएकाले सचेतना कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।
सूचना अधिकारी श्रेष्ठले भन्नुभयो, “साताव्यापी अभियान कार्यक्रम सकिएपछि पनि अन्य सचेतना कार्यक्रम डढेलोको जोखिम रहने समयभरि जारी रहने छ, सुरक्षानीकायसँग सहकार्य गरी वनमा लाग्ने डेढेलो नियन्त्रण गर्न टोली परिचालन गर्ने तयारी छ ।” सुक्खा मौसम भएकाले व्यास नगरपालिका र आँबुखैरेनी गाउँपालिकाको सामुदायिक वनमा डढेलोको समस्या देखिन थालेको सो कार्यालयले जनाएको छ । घाँस राम्रो पलाउने, चितुवा, बाँदरले दुःख दिँदैनन् भन्ने धारणाले गर्दा वनमा आगो लगाउने समस्या छ । वन्यजन्तुको सिकारका लागि समेत कतिपयले वनमा जानाजान आगो लगाउने गर्दा वन विनाश हुने गरेकाले यस्ता प्रवृत्तिको रोकथाममा लाग्न डिभिजन वन कार्यालय सहायक वन अधिकृत काशीराज पण्डितले आग्रह गर्नुभयो ।
गोठाला तथा केटाकेटीले मनोरञ्जनका लागि वनमा आगो बाल्दा, वननजिकका खेतबारीमा झारपात डढाउँदा आगो बाल्ने र ननिभाउने गर्नाले वनमा डढेलो लाग्ने गरेको बताइएको छ । राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा क्षति भएको बिगो असुलउपर गरी तीन वर्ष कैद वा ६० हजार रुपियाँसम्म जरिवाना हुने वा दुवै सजाय हुने प्रावधान छ ।