• २१ वैशाख २०८१, शुक्रबार

समयमै पाठ्यपुस्तक

blog

हरेक व्यक्तिका लागि विद्यालय नै भावी जीवनको सम्पूर्ण आधार हो । त्यसैले विद्यालय शिक्षा प्रभावकारी भएका मुलुक सम्पन्नताको खुट्किलोमा अगाडि छन् । विद्यालय शिक्षालाई व्यवस्थित बनाउन निर्धारित पाठ्यक्रम र त्यस आधारमा तयार गरिएका पाठ्यपुस्तक अपरिहार्य छ तर विगतमा समयमै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्न सकेको थिएन । पाठ्यपुस्तक छपाइ तथा ढुवानीमा सम्बद्ध संस्थाको कतिपय कमजोरीले विद्यार्थीका हातमा समयमै पाठ्यपुस्तक पुग्न नसक्दा शैक्षिक क्रियाकलापमै कठिनाइ उत्पन्न भएको थियो । 

आगामी शैक्षिक सत्र २०८१ का निम्ति विद्यालय तहका पाठ्यपुस्तक छपाइ कार्य सकिन लागेको खबर सार्वजनिक भएको छ । यसले समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने विश्वास पलाएको छ । पाठ्यपुस्तक छपाइ संरचना अनुसार विद्यालय तहको कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी जनक शिक्षा सामग्री केन्द्रलाई दिइएको छ । कक्षा १ देखि ४ सम्मको छपाइ भने पाठ्यक्रम विकास केन्द्रमार्फत निजी क्षेत्रलाई दिइएको छ । मुलुकमा विकट भौगोलिक अवस्थितिमा समेत विद्यालयहरू छरिएर रहेका छन् । उच्च हिमाली भेगमा वर्षको केही महिना त हिउँले छोपेको हुँदा विद्यालय नै बेँसीमा स्थानान्तरण गर्नुपर्ने हुन्छ । त्यसैले हुनु पर्छ, हुम्लाका कतिपय विद्यालयमा अहिले नै नयाँ शैक्षिक सत्रको पढाइ आरम्भ नै भइसकेको पाइएको छ तर पाठ्यपुस्तक नपुग्दा पठनपाठनमा असजिलो भएको छ ।

समयअघि नै शैक्षिक सत्र सुरु गरेका विद्यालयका विद्यार्थीले मात्र होइन, देशभरका सामुदायिक विद्यालयका विद्यार्थीले नयाँ शैक्षिक सत्र आरम्भ भएकै दिन पाठ्यपुस्तक पाउने अब यकिन भएको छ । पाठ्यपुस्तक छपाइको काम सकिन लागेको खबरले यस विषयमा किटान गर्न सकिएको हो । हिमाली जिल्लाको केही अपवाद छाडेर देशभरिका सबै जिल्लामा वैशाख १ गतेबाटै नयाँ शैक्षिक सत्र सुरु हुने छ । जनक शिक्षा सामग्री केन्द्रका अनुसार ९० प्रतिशत छपाइ भइसकेको छ । कक्षा ५ देखि १२ सम्म एक करोड ७५ लाख थान पाठ्यपुस्तक छाप्नुपर्ने छ । त्यसमध्ये हालसम्म एक करोड ५७ लाख थान छापिसकिएको छ । कक्षा ६ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइ भइसकेको छ भने अब कक्षा ५ को पुस्तक मात्रै छाप्न बाँकी छ । कक्षा ५ मा छाप्नुपर्ने कुल २४ लाख थान पाठ्यपुस्तकमध्ये पनि छ लाख थान छापिसकिएको छ । बाँकी १८ लाख थान पाठ्यपुस्तक १५ दिनभित्रमा छपाइ सम्पन्न भइसक्ने छ र त्यसपछि वितरणको काम आरम्भ हुने जानकारीले शुभ सङ्केत गर्छ ।

जनक शिक्षा सामग्री केन्द्रले पुस्तक छपाइमा विश्वास बढाएको छ । चालु शैक्षिक सत्रमा पनि समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पु¥याउन सफल भएर यो विश्वास बढाएको हो । केन्द्रलाई चालु शैक्षिक सत्रका लागि कक्षा ६ देखि १२ सम्मको मात्रै पुस्तक छाप्ने अनुमति दिइएको थियो तर समयमै पुस्तक छापेर शैक्षिक सत्र सुरु हुनेबित्तिकै विद्यार्थीको हात हातमा पु¥याउन सफल भएपछि आगामी शैक्षिक सत्रका लागि कक्षा ५ देखिकै पाठ्यपुस्तक छपाइको जिम्मेवारी दिइएको हो । कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मेवारी नौ वटा निजी मुद्रण संस्थालाई दिइएको छ । निजी क्षेत्रका मुद्रण संस्थाले पुस्तक छपाइ कार्यलाई तीव्रता दिइरहेको सम्बद्ध जिम्मेवार निकाय पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । केन्द्रका अनुसार कक्षा १ देखि ४ सम्मका विद्यार्थीका लागि ८४ लाख थान पाठ्यपुस्तक आवश्यक पर्छ । छपाइ अन्तिम चरणमा पुगेको छ । 

समयमै पाठ्यपुस्तक विद्यार्थीका हातमा पुग्नुपर्ने सरकारको दृढ प्रतिबद्धता छ । त्यसै कारण छपाइको अवस्थाबारे सरकारले निरन्तर निगरानी गरिरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले केही दिनअघि सानोठिमीस्थित जनक शिक्षामा पुगेर छपाइको अवस्था हेरी समयमै विद्यार्थीका हातमा पाठ्यपुस्तक पु¥याउन निर्देशन दिनुभएको छ । समयमै छपाइ हुनुका साथै वितरण प्रभावकारी भए नयाँ शैक्षिक सत्रमा समयमै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्नमा कुनै दुबिधा छैन । त्यसो त समयमै पाठ्यपुस्तक पुग्नु नियमित प्रक्रिया मात्रै हो । यो नियमित प्रक्रियामा पनि विगतका कतिपय वर्षमा अनियमित भएको थियो । शैक्षिक सत्रको आधा समय बित्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका थिएनन् । अब विगतका कमजोरीमा सुधार हुँदै गएको छ । विद्यालयको शैक्षिक प्रक्रियामा अरू पनि धेरै सुधार गर्न बाँकी छ । त्यसतर्फ सम्बद्ध पक्षको ध्यान जानु आवश्यक छ ।