• १५ वैशाख २०८१, शनिबार

आठ महिनामा चार लाख एकहत्तर हजार श्रम स्वीकृति

blog

काठमाडौँ, चैत ५ गते । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो आठ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या करिब पाँच लाख पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत साउनदेखि फागुनसम्म रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या चार लाख ७१ हजार २४० पुगेको हो । 

यो सङ्ख्या गत आवको सो अवधिभन्दा १३ प्रतिशतले कम हो । सो अवधिमा पाँच लाख ४० हजार छ सय नेपाली श्रम स्वीकृति लिएर रोजगारका लागि बिदेसिएका थिए । चालु आवमा सबैभन्दा धेरै मङ्सिरमा ७१ हजार २७६ जना र सबैभन्दा कम कात्तिकमा ४३ हजार ६२२ जना बिदेसिएका छन् ।

युएई पहिलो श्रम गन्तव्य

यो वर्ष नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) भएको छ । युएईका लागि एक लाख २० हजार १६८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । अघिल्लो वर्ष लगातार तेस्रो श्रम गन्तव्य रहेको युएई यो वर्ष भने सुरुदेखि नै पहिलोमा पर्दै आएको छ । दोस्रो श्रम गन्तव्य देश कतार रहेको छ । 

अघिल्लो वर्ष चौथो श्रम गन्तव्य रहेको कतार यस पटक दोस्रो स्थानमा छ । यस अवधिमा कतारका लागि ९२ हजार ११४ जनाले श्रम स्वीकृति लिएर बिदेसिएका छन् । 

यस्तै तेस्रो र चौथो श्रम गन्तव्य देशमा क्रमशः साउदी अरब र मलेसिया छन् । साउदी अरब जानका लागि ९१ हजार ९२९ जनाले श्रम स्वीकृति लिएका छन् भने चौथो मलेसियाका लागि ६४ हजार ९७६ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै यस अवधिमा दक्षिण कोरियाका लागि नौ हजार ५५२ जनाले लिएका छन् । 

विभागका अनुसार चालु आवका आठ महिनामध्ये कात्तिकबाहेक अन्य महिनामा रोजगारीमा जानेको सङ्ख्या ५० हजारभन्दा माथि छ । कात्तिकमा नेपालीको ठुला चाडपर्व दसैँतिहार भएका कारण यो महिना भने बिदेसिनेको सङ्ख्या कम भएको हो । फागुनमा ६५ हजार ६५८ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । विभागका महानिर्देशक डण्डुराज घिमिरेले चालु आवको सुरुदेखि नै युएई नेपालीको पहिलो श्रम गन्तव्य बन्न सफल भएको बताउनुभयो । 

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै विप्रेषण दरमा पनि वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको सात महिना (माघ मसान्त) सम्म आठ खर्ब ३९ अर्ब रुपियाँ विप्रेषण भित्रिएको छ । 

यो तथ्याङ्क हेर्दा मासिक औसत एक खर्ब २२ अर्ब रुपियाँ भित्रिएको देखिन्छ । यो वर्षको यस अवधिसम्म आएको विप्रेषण गत वर्षको यसै अवधिको तुलनामा २५.३ प्रतिशतले धेरै रहेको राष्ट्र बैङ्कले जनाएको छ । 

गत आव सात लाख ७१ हजार ३२७ युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । अघिल्लो आव २०७८/७९ मा छ लाख ३० हजार ९० ले श्रम स्वीकृति लिएर बिदेसिएका थिए ।   

विभागका अनुसार यो नयाँ र पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या हो । यो सङ्ख्या अघिल्लो आव २०७९/८० को तुलनामा कम भए पनि यस वर्ष सुरुवाती महिनाको तुलनामा भने मङ्सिर र पुसमा उच्च दरले बढेको देखिएको छ ।