राधा लुइटेल
फिदिम,चैत ४ गते । पाँचथर जिल्लाकोे फाल्गुनन्द गाउँपालिका केन्द्र रहेको घुर्विसे पञ्चमी बजारमा आइतवार साँझ सुरु भएको आगलागीका कारण सिङ्गो बजार जोखिममा परेको छ । साँझ ८ बजे सुरु भएको आगलागीमा पर्दा यो समाचार तयार पार्दासम्म ३ वटा घर जलेका छन । उता तेह्रथुमको फेदाप गाउँपालिकामा आइतवार दिँउसो जंगलबाट सल्केको आगोले १७ र तीनवटा पाली जलेका छन ।
पाँचथर जिल्लाकोे फाल्गुनन्द गाउँपालिका केन्द्र रहेको घुर्विसे पञ्चमी बजारमा सुरु भएको आगलागी आगोले कबिन्द्र लावती,अम्बिका सापकोटा र श्रीनारायण भट्टराइका घर जलिसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख हेमन्तबहादुर क्षेत्रीले बताउनुभयो ।
आगो नियन्त्रण बाहिर रहेको स्थानीय ऋषिकेस तुम्रोकले बताउनु भएको छ । घुर्विसे पञ्चमी पाँचथरको फाल्गुनन्द र इलामको फाकफोक थुम गाउँपालिकाको सीमावर्ती बजार हो ।
आगो नियन्त्रणका लागि प्रहरी चौकी फाक्तेपका प्रहरी सँगै स्थानीय प्रयासरत छन । नियन्त्रणका लागि सदरमुकाम फिदिमबाट दमकलसँगै राँके बजारबाट सशस्त्र र जनपथ प्रहरी पठाइएको प्रमूख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिनुभयो । आगो लाग्नको कारण भने खुलेको छैन ।
तेह्रथुममा १७ घर जले
उता छिमेकी जिल्ला तेह्रथुमको फेदाप गाउँपालिकामा आइतवार दिँउसो जंगलबाट सल्केको आगोले १७ र तीनवटा पाली जलेका छन । आगलागीमा फेदाप १ का चक्रवहादुर भण्डारी, पर्सुराम राई, अश्विनकुमार राई, कृष्णवहादुर घतानी, धनप्रसाद राई, कल्पना राई, सुकविर राई, जयकुमार घतानी, मनप्रसाद राई, जयमान राई, वृखवहादुर वुडाथोकी, चन्द्रवहादुर वुडाथोकी, लैनवहादुर थापा, तिलवहादुर थापा, सेरवहादुर वुडाथोकीका घर र सरस्वती राई र डम्बरवहादुर घतानीका पाली जलेका छन ।
आगो नियन्त्रणका लागि सदरमुकाम म्याङलुङबाट जनपथ र सशस्त्र प्रहरी पुगेको प्रहरी नायव उपरीक्षक राजन चापागाइले बताउनुभयो । स्थानीय र प्रहरीले संयुक्त रुपमा आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । तर घना जंगल र सुख्खा क्षेत्र भएकाले नियन्त्रणमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।