• १२ साउन २०८१, शनिबार

दोखुको वनमा लागेको डढेलोले चार घर जले

blog

फुङ्लिङ नगरपालिका–८ दोखुको वनमा लागेको डढेलो। तस्बिर सौजन्य : सुरज ओझा।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत ४ गते। ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा वनमा लागेको डढेलोले चार वटा घर जलेर नस्ट भएका छन्। प्रहरीकाअनुसार फुङ्लिङ नगरपालिका–८ दोखुमा वनमा लागेको डढेलोले आइतबार चारवटा घर जलेर नस्ट भएका हुन्। 

वनमा लागेको डढेलोले दोखुका स्थानीय नरहरि पौडेल र डिल्ली पौडेलको घर जलेर नस्ट भएको छ। नरहरि र डिल्ली पौडेलको घर आइतबार दिउँसो करिव ५ बजेतिर जलेको स्थानीय अमर विकले जानकारी दिनुभयो। उहाँका अनुसार सोही डढेलोले बिहान स्थानीय पार्वता विश्वकर्माको दुई वटा घर जलेर नस्ट भएका थिए। 

घर नजिकको वनमा लागेको डढेलोले चार घरमा आगलागी भएको र क्षतिको विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ गएको र सो टोली फर्केपछि मात्र क्षतिको विवरण आउने लुङ्गेलीले बताउनुभयो।