• ५ जेठ २०८३, मङ्गलबार

दीर्घकालीन असर पर्ने निर्णय नगर्न मन्त्री पोखरेलको निर्देशन

blog

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल विश्वविद्यालयका प्राध्यापकहरूसँग छलफल गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौँ, जेठ ५ गते । विभिन्न विश्वविद्यालयमा सङ्क्रमणकालका लागि उपकुलपतिको कामकाज गर्नेगरी जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग विश्वविद्यालयको कामकाज र योजनाबारे अन्तरक्रिया सम्पन्न भएको छ।

विश्वविद्यालयहरूका सहकुलपति समेत रहनुभएका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा भएको संवाद कार्यक्रममा नयाँ व्यवस्था नहुन्जेल विश्वविद्यालयका कामकाज प्रभावित हुन नदिन तथा अध्ययन–अध्यापन कार्यलाई निरन्तरता दिन आवश्यक कदमबारे सम्बन्धित पदाधिकारीहरूबाट योजना प्रस्तुत भएको छ ।

सो अवसरमा मन्त्री पोखरेलले विश्वविद्यालयका परीक्षा, दैनिक प्रशासनिक कामहरूलाई निरन्तरता दिन तथा दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न निर्देशन दिनुभयो ।

विभिन्न विश्वविद्यालयमा उपकुलपति नियुक्तिको प्रक्रिया जारी रहेको छ । उपकुलपति नियुक्तिका लागि आठ वटा विश्वविद्यालयमा सिफारिस समिति गठन भई आवेदन दिने समय समाप्त भएको तथा छनोट प्रक्रिया अघि बढिसकेको छ । अन्य विश्वविद्यालयहरूमा पनि छिट्टै प्रक्रिया अघि बढाइने जनाइएको छ ।

सरकारले आठ विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि स्वीकृत गरी सोही बमोजिम उपकुलपति छनोट प्रक्रिया सुरु गरिसकेको छ । 

नियुक्ति प्रक्रियामा पारदर्शिता, योग्यता प्रणाली र प्रक्रियागत निष्पक्षता बलियो बनाउन विज्ञ समितिमार्फत छनोट गर्ने व्यवस्थासहित “विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३” ल्याइएको हो । सोही अनुरूप अहिले उपकुलपति छनोट प्रक्रिया अघि बढेको मन्त्रालयले उल्लेख गरेको छ ।