राजकुमार भट्टराई
खोटाङ, चैत ४ गते । खोटाङमा वनमा लागेको डढेलो गाउँ पस्दा ४ वटा घर, मतान, गोठ र चौपायाहरु जलेर नष्ट भएका छन् । जिल्लामा अहिले ५ ठाउँमा डढेलो लागिरहेको छ । २ ठाउँको डढेलोले घरहरूमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो ।
ऐंसेलुखर्क गाउँपालिका–६ ज्यामिरे सल्लेमा शुक्रवारबाट सुरु भएको डढेलोले हालसम्म २ वटा घर, एक मतान, एउटा बाख्रा फर्म र २ वटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको त्यहाँका वडाध्यक्ष सुनिल राईले बताउनुभयो । यस्तै, धितुङमा शुक्रवारबाटै सुरु भएको डढेलोले २ वटा घर, ३ वटा गोठ र विभिन्न चौपाया जलेर नष्ट भएको त्यहाँका वडाध्यक्ष टेकराज राईले बताउनुभयो ।
चौतारा सामुदायिक वनबाट सुरु भएको डढेलोले धितुङ रातेखोलास्थित देवराज रायको घर र गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । घरभित्र रहेको अन्नपात, भाँडाकुँडा सबै जलेको छ । यस्तै गोठ जल्दा ४ खसी, एक बाख्रा, ६ पाठा पाठी र काठसमेत जलेर नष्ट भएकाे छ । यस्तै, ज्ञानमाया राईको घर र गोठ जलेर नष्ट हुँदा अन्नपात, भाँडाकुँडा, ३ खसी, ५ बाख्रा, १ गोरु, १० कुखुरा सखाप भएको छ । ईश्वरमाया राईको पनि गोठ, घाँसपात र काठ जलेको वडाध्यक्ष टेकराज राईले बताउनुभयो । प्रहरी र स्थानीयले आगो नियन्त्रण गर्न नसक्दा घरहरूमा क्षति भएको उहाँको भनाइ छ । हाल आगो नियन्त्रणमा आएको भए पनि पूर्णरुपमा निभाउन नसकिएको वडाध्यक्ष राईको भनाइ छ । उक्त वनमा अघिल्लो वर्ष पनि डढेलो लागेको थियो ।
यस्तै, ऐंसेलुखर्क गाउँपालिका–६ ज्यामिरे सल्लेमा सेतीदेवी सामुदायिक वन र फेलेम्तासी वनको सिमाना एक्लो चोतारोबाट सुरु भएको डढेलोले सल्लेका खुजप्रसाद फुयाँल र दीपक लम्सालको २ घर सखाप पारेको छ । घरसँगै अन्नपात, भाँडाकुँडा सबै जलेर नष्ट भएका छन् । लम्सालको ७० वटा रहेको बाख्रा फर्ममा ५ वटा मात्र बचेका छन् । अरू सबै सखाप भएको वडाध्यक्ष सुनिल राईले बताउनुभयो । एउटा गाई र गोरु पनि घाइते भएका छन् । यस्तै, युवराज राईको मतान, बलराम राई र रणबहादुर पोखरेलको गोठ पनि जलेर नष्ट भएकाे छ ।
वडाध्यक्ष राईका अनुसार डढेलो अहिले पनि नियन्त्रणमा आएको छैन । ज्यामिरे साबिक १ सल्लेमा अझै जोखिम छ । सल्लेरी सालघारी वनमा डढेलो पसेको छ । प्रहरी र नेपाल आर्मीको टोली पनि नियन्त्रणका लागि पुगेका छन् । शुक्रवार दिउँसो ३ बजेबाट अचानक वनमा आगलागी भएको देखेपछि स्थानीयले सेतीदेवी वनमा अग्नि घेरा हालेर थप फैलिन दिएका थिएनन् । साँझमा डढेलो सामान्य थियो तर शनिवार दिउँसोको हावाहुरीले सबैतिर फैलाएपछि घरहरूमा क्षति पुगेको वडाध्यक्ष राईको भनाइ छ ।
हाल जिल्लामा धितुङ, ज्यामिरे सल्लेसँगै, नुनथलास्थित हुर्लुङ सामुदायिक वनमा, रावाबेंसी गाउँपालिका–१ कुभिण्डे दम्कुमा, दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा डढेलो लागिरहेको प्रहरीले जनाएको छ । खोटेहाङ गाउँपालिका–८ मा लागेको डढेलो नियन्त्रणमा आएको छ ।