• १३ साउन २०८१, आइतबार

आगलागीमा परी २८ परिवारको खुला आकाशमुनि बास

blog

हप्रिसाद कोइराला 

उर्लाबारी, चैत ४ गते । मोरङको रङ्गेली नगरपालिका वडा नं. ३ बाबुसाहेब टोलमा शनिवार भएको आगलागीमा परी घरबारविहीन भएका २८ परिवारको खुला आकाशमुनि बास भएको छ । 

तीन तहको सरकार र दर्जनौँ सामाजिक सङ्घ संस्था भएपनि हालसम्म राहतको प्रबन्ध नभएको पीडितको गुनासो छ । 

यद्यपि आन्तरिक मामिला मन्त्रालय र जिल्ला प्रशासन कार्यालय मोरङले शनिबार साँझ र नेपाल रेडक्रस सोसाइटी मोरङले आइतबार बिहान केही आपत्कालीन राहत वितरण गरेका छन् ।

शनिबार दिउँसो विद्युत प्राधिकरणको प्रसारण लाइन एकापसमा ठोक्किँदा बिद्युत् सर्टभई तारमुनिको घरमा आगो सल्किएको थियो । 

जङ्गली मुर्मुको परालले छाएको गोठबाट सल्किएको आगो पश्चिम तर्फ आएको तीव्र गतिको हावा हुरीले निमेष भरमा बस्तीमा फैलिएको थियो ।

 ६८ वर्षीय मुर्मुले भन्नुभयो–“२२ मन धान र १८ मान तोरी आँखै अगाडि जलेर खरानी भयो । आइतबार आफ्नो जलेको घर हेरेर बसिरहनु भएका मुर्मुले बिजुली अफिसलाई तार व्यवस्थापन गर्न निवेदन दिँदा पनि तार व्यवस्थापन गरिदिएनन् ।”  

गत कात्तिकमा सोही स्थानबाट आगो लागेर  मुर्मुको गोठमा आगजनी भएको थियो । त्यसबेला अनुकूल मौसम भएकोले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

रयमति मुर्मुले वर्षभरि खाने अन्न, नयाँ साइकल, ओड्ने ओछ्याउने लुगाफाटो सबै जलेर खरानी भएको बताउनुभयो । मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार पीडितले घरभित्र रहेका कुनै पनि सामान निकाल्न पाएनन् । 

सुन चाँदी, नगद, लत्ता कपडा सहित सबै धनमाल जलेर नष्ट भएको उहाँले बताउनुभयो । घरबाट मालसामान निकाल्न खोज्दा २९ वर्षीया तलाबेटी मुर्मू जलेर सामान्य घाइते हुनु भएको छ । उहाँको रङ्गेली अस्पतालमा उपचार भइरहेको छ ।

आगोले जङ्गली मुर्मु सहित तल्लु, भना, धारो, जुगल, मङ्गल, साइला, सञ्चराम, गम्बु, शुकदेव, राम मुर्मू तथा चन्द्र, सुकल, वासुदेव, चट्टा किस्कु, मनोज, बुधराम, मराहाङ हेमराम र सुमन सतार, सुकल हाँस्दा, लुकूँ टुडु , बाबूलाल बेश्राको घर जलेको छ । उहाँहरू सबैको बास आकाशमुनि भएको स्थानीय टङ्क ठकुरीले बताउनुभयो ।

पीडितको व्यवस्थापन र राहतका लागि स्थानीय देखि प्रदेश सरकारसँग समन्वय भइरहेको वडाध्यक्ष भरत प्रसाईँले जानकारी दिनुभयो ।  

आगलागी पछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राई, मन्त्रालयका सचिव सहित मोरङका सुरक्षा अधिकारीले स्थलगत निरीक्षण गरेर घटनाको सबै जानकारी लिनु भएको छ । आपत्कालीन राहतको अपेक्षा गरेका छौँ । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय मोरङको सक्रियतामा पीडितलाई खाद्यान्न, ओढ्ने, ओछ्याउने र खानेपानी वितरण गरिएको छ ।

तत्कालका लागि एक परिवारलाई २/२ वटा ओढ्ने र ओछ्याउने कपडा तथा १० किलो चामल एवम् एक काटुन् पानी उपलब्ध गराइएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनुभयो । 

आइतबार बिहान नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाले आपत्कालीन राहत वितरण गरेको छ । अध्यक्ष सुबोधकुमार सिंहले २७ परिवारलाई ओछ्याउने म्याट, छानोको रूपमा त्रिपाल, भाँडाकुँडा ,एकसरो लगाउने लुगा , र केही खानेकुराको व्यवस्थापन गरेको बताउनुभयो ।