• १५ वैशाख २०८१, शनिबार

करोडौँ खर्चिएर पढेका पाइलट बेरोजगार

blog

काठमाडौँ, चैत ३ गते । पछिल्लो समय पाइलट पढ्नका लागि विदेश जाने प्रचलन बढ्दै गएको छ ।  नेपालमा पढाइ नहुने भएपछि युवाहरू पाइलट पढ्नका लागि अमेरिका, फिलिपिन्स, दक्षिण अफ्रिका, थाइल्यान्ड, अर्जेन्टिना र न्यूजिल्याण्डसम्म पुग्नेगरेका छन् । 

युवाको पाइलटप्रतिको आकर्षण बढे पनि यसको नेपाली बजार भने साँघुरिएको छ । पाइलट पढाइलाई प्रतिष्ठित पेसाको रूपमा लिने गरिन्छ । तर, पाइलट पढेर नेपाल फर्केर बेरोजगार हुनुपर्ने बाध्यता रहेको छ । युवाहरू ८० लाखदेखि  एक करोड रुपियाँ खर्च गरी विदेश गएर पाइलट कोर्स पुरा गरेर नेपाल फर्कन्छन् । विडम्बना करोडौँ खर्चेर अर्बौँ कमाउने सपना देखेका धेरै पाइलट अहिले बेरोजगार छन् । 

करोडौँ खर्चेर अर्बौँ कमाउने सपना देखेका धेरै पाइलट अहिले बेरोजगार छन् । 

नेपालमा भएका एयरलाइन्स कम्पनीहरूले सबै उत्पादित पाइलटलाई रोजगारी दिनसक्ने  अवस्था छैन ।  नेपालमा बुद्ध, यति, सीता, श्री, हिमालयन एयरले जति रोजगारी दिन सके त्यतिमै सीमित भएको छ । नेपाल एयरलाइन्सका जहाजहरू पनि ज्यादै थोरै भएका कारण धेरै पाइलट बेरोजगार बस्नुपर्ने अवस्था छ । 

नेपालमा पाइलटको पर्याप्त सम्भावना नहुँदा पाइलट कोर्स सकेर फर्केकाहरू बेरोजगार बस्नुपर्ने बाध्यता रहेको छ । नेपालमा प्रत्येक वर्ष १५० जना युवा पाइलट पढ्नका लागि विदेश जानेगरेका छन् । तर प्रतिवर्ष नेपालमा पाइलटको माग १५ देखि २० जनाको मात्र हुने गरेको छ । बाँकी पाइलट बेरोजगार बस्नुपर्ने बाध्यता रहेको छ । हिमालय एयरलाइन्सका पाइलट सुरज भण्डारी मागभन्दा उत्पादन बढी भएका कारण नै पाइलटहरू बेरोजगार बस्नुपर्ने अवस्था भएको बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “नेपालमा पाइलटको मागभन्दा उत्पादन बढी भएका कारण पाइलटहरू पढेर पनि बेरोजगार छन् ।” बोइङ्ले सार्वजनिक गरेको प्रतिवेदनले २० वर्षसम्म दिनको सात जना पाइलट आवश्यक पर्ने जनाएको छ । त्यसकारण विश्वमा पाइलटको माग बढी नै हुने भएकाले पाइलट पढ्दा कुनै घाटा नहुने उहाँ बताउनुहुन्छ । पाइलटहरू आफू क्षमतावान् भने हुनुपर्ने उहाँको तर्क छ ।  

नेपालमा पाइलटको मागभन्दा उत्पादन बढी भएका कारण पाइलटहरू पढेर पनि बेरोजगार छन् ।

नेपालमा अहिले जम्मा ६७ वटा मात्र जहाज भएकाले सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले जहाज थपेको खण्डमा पाइलट बेरोजगार बस्नुपर्ने अवस्था नहुने उहाँ बताउनुहुन्छ । यस्तै, निजी कम्पनीले पनि जहाजहरू बढाउँदै लगे पाइलट बेरोजगार बस्नुपर्ने अवस्था नहुने उहाँको भनाइ छ । 

पाइलटको कमाई पनि राम्रै हुने भएका कारण यसप्रतिको आकर्षण बढी भएको पाइलट भण्डारी बताउनुहुन्छ । सुरुमा नै पाइलटको मासिक ८० हजारको हाराहारीमा कमाई हुने भएकाले यसप्रति धेरैको रुचि हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो,“पाइलटको सुरुको मासिक तलब ८० हजारबाट हुन्छ, पछि बढ्दै पनि जान्छ । त्यसैले यसप्रतिको आकर्षण बढ्दो छ ।”

नेपाल वायुसेवा निगमका पाइलट मेल्सन ओझा विभिन्न कन्सल्टेन्सीले आफ्नो बिजनेस बढाउनका लागि धेरै व्यक्तिहरूलाई अध्ययनको लागि बाहिर पठाउने गरेका कारण बेरोजगार पाइलटको सङ्ख्या बढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “धेरै कन्सल्टेन्सिहरुले आफ्नो व्यापार बढाउनका लागि छोटो समयमै धेरै जनशक्ति बाहिर पठाउन प्रोत्साहन गरिरहेका कारण पाइलट बेरोजगार हुनेक्रम बढ्दो छ ।” 

सरकारको नियमन नहुँदासम्म यो क्रम नरोकिने उहाँ बताउनुहुन्छ । अहिले विज्ञान सङ्कायबाट कक्षा १२ उत्तीर्ण गरेपछि सिधै पाइलटको कोर्स पढ्न कन्सल्टेन्सीले प्रोत्साहित गरिरहेकोले धेरैको आकर्षण हुनेगरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले १२ कक्षामा गणित नपढी जीवविज्ञान पढेकाहरू पनि पाइलट कोर्स गर्न बाहिर जान कन्सल्टेन्सीहरू प्रेरित गर्दै हिँडेका छन् ।  गणित र भौतिकशास्त्र नपढी जाँदा धेरै दुःख हुन्छ । यसलाई नियमनकारी निकायहरूले अनुगमन गर्नुपर्छ ।” 

कोभिडको समयमा बिदा राखेका पाइलटहरूलाई नै अहिले एयरलाइन्सले बोलाएकाले नयाँ पाइलटहरू बेरोजगार हुनुपर्ने अवस्था आएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कोभिडको बेलामा धेरै निजी एयरलाइन्सले सीमित पाइलटको सहायताले जहाज चलाए, धेरै पाइलट बिदामै बसे । अहिले तीनै पाइलट काममा फर्केर जहाज उडाइरहेका छन् । त्यसैले नयाँ पाइलटहरू बेरोजगार बस्नुपरेको हो ।” राज्यले पनि सबै वायुसेवालाई आगामी वर्ष कति पाइलट आवश्यक पर्छ त्यति नै सङ्ख्यामा वा केही बढीलाई मात्र अनुमति  दिनुपर्ने उहाँको तर्क छ । 

कति गए पाइलट पढ्न  

नेपाल नागरिक उड्डयन प्राधिकरणले २०५२ जेठ ९ गतेदेखि पाइलट पढ्नका लागि विदेश जानेलाई नो अब्जेक्सन लेटर ( एनओसी) दिन थालेको थियो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार २०५२ सालदेखि अहिलेसम्म एक हजार ५८३ पाइलट पढ्नका लागि नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन् । जसमध्ये पुरुष एक हजार ३४२ जना र महिला २४० जना रहेका छन् ।

पछिल्लो समय पाइलट पढ्नका लागि एनओसी लिनेको सङ्ख्या बढ्दो छ ।

केही व्यक्तिहरू भने नो अब्जेक्सन नलिएर पनि पाइलट पढ्न गएको हुनसक्ने भएकाले पाइलट पढ्न बाहिर जानेको सङ्ख्या अझ केही बढी हुनसक्ने उहाँ बताउनुहुन्छ । पछिल्लो समय पाइलट पढ्न विदेश जानेको सङ्ख्या बढ्दै गएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “२०५२ सालदेखि अहिलेसम्म एक हजार पाँच सय ८३ जनाले एनओसी लिएका छन्। पछिल्लो समय पाइलट पढ्नका लागि एनओसी लिनेको सङ्ख्या बढ्दो छ ।” 

उहाँका अनुसार गत आर्थिक वर्ष २०७९-८० मा ९७ जनाले पाइलट पढ्नका लागि एनओसी लिएका थिए । चालु आर्थिक वर्षको आठ महिनामै ६२ जनाले पाइलट पढ्न एनओसी लिइसकेको प्राधिकरणका प्रवक्ता निरौलाको भनाइ छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।