• १४ जेठ २०८१, सोमबार

सत्य हरणको चरित्र

blog

साहित्य मानव जातिको मानसिक सिर्जना हो । समयक्रमले ल्याउने चेतना र परिवर्तित वातावरणमा अनुकूलित विकासबाट गति लिँदै साहित्य मानव जातिले गरेका सम्पूर्ण चमत्कारसँगै सहयात्रामा आफ्नो अस्तित्व र पहिचान कायम गरेर हरेक स्थान र विषयमा प्रवेश गरेको छ । साहित्यमा सबै विषयलाई हार्दिकताका साथ आमन्त्रण गरिन्छ । सर्जक पनि विभिन्न क्षेत्रबाट आफ्ना भोगाइ, भाव र कल्पना शक्तिलाई सिर्जनामार्फत साहित्यिक अभियानमा नयाँ कृति लिएर आइरहेका छन् । यही क्रममा राजु अधिकारीद्वारा लिखित उपन्यास सत्य हरण सार्वजनिक भएको छ । उपन्यासकार अधिकारीको प्रकाशित कृतिमा लावण्यदेश, धुवाँको तस्बिर, लास्ट ड्रिम, राज्याभिषेक, व्रmोनेसनपश्चात् रिड प्रकाशन काठमाडाँैद्वारा प्रकाशित नयाँ उपन्यास सत्य हरण हो । 

सत्य हरण उपन्यासले नेपाली साहित्यको आख्यानमा परम्परागत शैलीबाट विच्छेद नगरी नवीन शैली दिन खोजेको छ । उपन्यास ५२ भागमा विभक्त ३३५ पृष्ठमा समविष्ट छ । पुस्तकमा पुस्तकालयको विषय प्रारम्भिक उठानदेखि भाग भागमा अत्यन्त गम्भीर विषयलाई जासुसी शैलीमा आकार दिँदै सन्दिग्ध वस्तु यथार्थलाई कथा बनाइएको छ । मानव जातिको आदिकालदेखि अपौरुषीय चेतनाका सङ्ग्रह, साहित्यका आदिग्रन्थ, चिरहितकारी दर्शन शूत्र शास्त्र, सत्यविद्या, ज्ञान विज्ञान, गणित, खगोल भूगोल, नक्षेत्र आदिकुराको मूलस्रोत वा ज्ञानजननी ग्रन्थको महìव, संरक्षण, आव्रmमण र विचलन जस्ता कुरालाई प्राविधिकीय रूपमा आख्यानात्मक संरचना निर्माण गरिएको छ । प्राचीन अमूल्य ग्रन्थहरूलाई अनेक षडयन्त्रमार्फत मूलभूिमबाट विस्थापन गरेर त्यसमा नक्कली प्राण प्रतिस्थापन गर्ने योजनालाई उपन्यासले केन्द्र भागमा राखेर धर्मका नाममा आएका विकृतिलाई समयमा नियन्त्रण गर्न सकिएन भने त्यसबाट हुने क्षतिले समग्र मानव जातिलाई प्रभावित गर्छ । एक धर्मले अर्को धर्मप्रति गर्ने अन्यायले मानवभित्रको मानवीयतालाई विभाजन गरेर मानवद्वारा मानवको अन्त्य निम्त्याउनु हो भन्ने सङ्केत गरिएको छ । आवरणमा सहयोग हस्तान्तरण, मूल लक्ष्य प्राचीनग्रन्थ स्थानान्तरण र परिणाममा धर्मान्तरणलाई रणनीतिक तरिकाले सफल तुल्याउन राज्य प्रणालीका हरेक अवयवमा उपस्थिति, प्रभाव र नियन्त्रणद्वारा उपलब्धि प्राप्तिका लागि गरिने अनेक अभ्यास र परीक्षणलाई विभिन्न पात्रका माध्यमद्वारा आख्यानलाई जीवन्त तुल्याइएको छ । सामान्य जनस्तरमा अन्दाज गर्न नसकिएका अप्रिय कर्म गर्न कसरी प्रलोभनमा फस्दै गएर आफ्नो इहलीला समाप्तिसम्म पुगेका हुन्छन् । यसका उदाहरण उपन्यासभित्र भएका दबाब, यातना, अङ्गछेदन र हत्याले देखाएको छ । यस्ता गतिविधि अत्यन्त योजनाबद्ध र गोप्य रूपमा हुने गरेको रहस्यलाई आमसाधारणमा सार्वजनिक गर्ने चेस्टा आख्यान लेखनमा भएको छ ।

त्यस्ता कुकर्मको पर्दाफासले सामान्य जनस्तरमा आफ्ना मूल्यमान्यताको अविचलित संवर्धनका निम्ति सत्य हरण उपन्यासले बौद्धिक अपिल गरेको छ । कृतिको मूलभाव अध्यतामार्फत जागरणको स्तरमा पुगोस् भन्ने लुप्त अपेक्षा हो भन्न सकिन्छ । राज्यप्रणाली संवेदनशील बनेर यी अमूल्यकृतिका वैज्ञानिक पक्ष र अन्य विकसित प्रमाणित तथ्यहरूलाई पाठ्यक्रममा समावेश गर्न नैतिक बल वृद्धिको वातावरण निर्माण गर्न इमानदार शुद्ध बौद्धिक वर्गको नैतिक दायित्वप्रति प्रतीक्षारत समयलाई स्वागतका निम्ति आह्वान गरिएको छ । आख्यानमा भूमिका निर्वाह गर्ने पात्रहरू अध्ययन चिन्तन र तार्किक क्षमताले पूर्ण छन् । आख्यानको मूलभागमा रहेका पात्र कैलाश र रक्षाले अधिकांश भागमा मूल भूमिका निर्वाह गरेर आख्यानलाई गति प्रदान गरेका छन् । गान्डिनी, प्रेम, किरण, शङ्कर, विजय आदिले विभिन्न भूमिका निर्वाह गर्दै आख्यानलाई पूर्णता दिएका छन् । प्रारम्भमा कैलाशले रक्षासामु निकै शङ्कास्पद वार्तालाप र व्यवहार प्रदर्शन गर्दै रक्षाको व्यावसायिक क्षमतालाई तिखार्दै सुसुप्त प्रेमिल भावले निकट राखेर दुवैको व्यावसायिक दक्षतालाई सशक्त बनाएका छन् । रक्षा र कैलाशबिचको लामो नटुगिङ्एको सम्बन्धले व्यावसायिक जिम्मेवारीमा कति कठोर बनेर गोपनीयतामा बस्नु पर्छ भन्ने शिक्षा दिइएको छ । यी दुई पात्रबिच भएको अव्यक्त प्रेमभाव नियन्त्रण र सन्तुलनको दुरी कायम गरिएको छ । 

नेपाली सामाजिक उपन्यासको जस्तो कथा सलल नबगेर सत्य हरणमा कथा प्राविधिक चरित्रसँग जोडिएर अगाडि बढेकाले पाठकहरूमा औपन्यासिक भानभन्दा पनि फरक अनुभूति हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । प्रविधिले दिएको सुविधाबाट आकर्षित वा प्रभावित नयाँ पुस्तालाई साहित्य र प्रविधिसँग जोड्ने सत्य हरण उपन्यासको प्रवृत्तिले रसायनको काम गर्न सक्छ भन्ने कोणबाट पनि सोच्न सकिन्छ । विश्वसाहित्यमा प्रचलित विज्ञान कथाको बढ्दो लोकप्रियताबाट नेपाली साहित्य अलग रहन सम्भव छैन । नेपाली आख्यानको पृष्ठभूमिमा विज्ञान कथाको प्रवृत्ति सत्य हरण उपन्यासमा प्रवेश गरेको छ । मानव जातिमा विभक्त आध्यात्मकाबिच रहेको वशीभूत प्रवृत्तिलाई उठान गर्दा विज्ञान कथाले जस्तो रोमाञ्चित गर्न सकेको छैन ।

पूर्वीय मूल्यमान्यतालाई समाप्त पार्न सक्रिय बाहिरी योजनालाई सफल बनाउन बिकाउ पात्रले आन्तरिक गोपनीयतालाई रकमान्तरण गरेर समाजिकीकरण गर्न सकिन्छ भन्ने भ्रमलाई नेपाली गुप्तचरले पहिचान गरी प्रतिभ्रममा फसाउँदै अनत तह षडयन्त्रकारीलाई कानुनी कठघरामा उभ्याउन सक्षम छन् भन्ने कुरालाई पनि कथावस्तुले आन्तरिक रूपमा बलप्रदान गरेको छ । यस्तै निजीस्वार्थ केन्द्रित प्रवृत्तिले आममूल्यमान्यतामा प्रहार गर्ने अवसरलाई खण्डित गर्दै परनिर्देशित मूल लक्ष्यलाई किनारा लागाउन मौन कुटिलताबाट गन्तव्यमा पुगेको हुन्छ । उपन्यासकारले आख्यान मन्थनबाट धर्ममा विज्ञान विज्ञानमा कर्म गणितमा गतिलाई समातेका छन् । एकाध भडकावबाहेक बाँकी शान्त सभ्य विरासतबाट आएको पूर्वीय सभ्यतालाई बाहिरी प्रभावले सङ्कुचनमा पार्ने परियोजनाको चरित्र बलियो हुन्छ । हामी कर्तव्य बोधमा इमानदार तथा अविचलित भएर दायित्व निर्वाह गरे आफ्ना धर्म, संस्कारको रक्षा गर्न सक्छौँ भन्ने उदाहरणमा एक नारी प्रहरी अधिकारीले खेलेको भूमिकाबाट देखाएका छन् । नारीभित्र रहेको दृढ अठोट उजागर भएर अब्बल कौशल प्रदर्शनले हरेक जिम्मेवारीमा रहेका नारीप्रति मनोवैज्ञानिक ऊर्जा प्रदान गरिएको छ । साहित्यले गर्ने मनोवैज्ञानिक ऊर्जा उत्पादनमा सत्य हरणले धर्म निर्वाह गरेको छ । नामकरणको दृष्टिले अत्यन्त गहिरो अर्थ बोकेको ओझिलो र आकर्षक शब्द सत्य हरण उत्कृष्ठ चयन भएको छ । नयाँ पुस्ताका लागि सत्य हरण आकर्षक पुस्तक हो भन्न सकिन्छ ।