अनिल पराजुली
हेटौँडा, फागुन २५ गते । मकवानपुरको मनहरी गाउँपालिका –१ चकरीमा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आइतबार राति भित्री सडक खण्डमा हेटौँडाबाट चकरीतर्फ जाँदै गरेको ना १ त ३८०२ नम्बरको ट्याक्टर उकालो चढ्ने क्रममा ब्याक भइ पल्टिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा ट्याक्टर चालक पर्सा जिल्ला बिन्दबासिनी गाउँपालिका –३ झङवा निवासी ४० वर्षीय विक्रमराम र सोही ट्याक्टरमा सवार सोही ठाउँका ५५ वर्षीय मिरामहरा चमार घाइते भएका हुन् । बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नान्तीराज गुरुङका अनुसार घाइते दुबै जनाको खुट्टा र टाउकोमा चोट लागेको छ । उहाँहरूको हेटौँडा –११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरी चौकी पदमपोखरीबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । पल्टिएको ट्याक्टर घटनास्थलमै रहेको र निकाल्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।