गोकर्ण दयाल
बैतडी, फागुन २५ गते । खडेरीका बेला गाउँमा पानीको मूल फुटेपछि खुसीयाली छाएको छ । पाँच वर्षअघि सुकेको मौलिक कुवामा यही फागुन १८ गतेदेखि पानी बग्न थालेपछि अवलोकन गर्न वडा अध्यक्ष र स्थानीयवासीको घुँईचो लागेको छ ।
मेलौली नगरपालिका-९,असुर गाउँमा पाँच वर्षअघि सुकेको पानीको मुहानमा फागुनको खडेरीमा मूल फुटेको हो । यसलाई यहाँका स्थानीयले दैवीय शक्तिको प्रभाव मानेका छन् । सुक्खा याममा गाउँभन्दा तीन-चार सयक मिटर तलका खोलानालामा समेत पानी घटेको बेला समुद्री सतकहबाट एक हजार आठ सय मिटर उचाईमा रहेको स्थानमा पानीको मसल फुट्नुलाई धेरैले अचम्म मानेका छन् ।
स्थानीय शिव आधारभूत विद्यालय नजिकै रहेको मुहानमा पानीको मूल फुटेको मेलौली नगरपालिका–९,का वडा अध्यक्ष लोकराज भट्टले बताउनुभयो । गाउँमा एक्कासी पानीको मुल फुट्दा खुसीयाली छाएको उहाँले बताउनुभयो । मुहान संरक्षणका लागि वडा कार्यालयबाट तुरुन्तै पहल चालिएको वडा अध्यक्षले जानकारी दिनुभयो ।
शीतदेवी न्वालोको धार्मिक कथा
पानीको मूल फुटेको स्थानलाई देउथान भन्ने गरिएको छ । यहाँको देउथानमा स्थानीयले सुुख, शान्तिका लागि दुध, अन्न र फलफूल चढाउने गरेको स्थानीय संस्कृतिका जानकार ६० वर्षीय धार्मिक अगुवा परमानन्द भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “यो न्वालोको पानी पाँच वर्षअघि खर्लप्पै सुक्यो । पाँच यता बर्खामासमेत मुलमा पानी देखिएन । अचानक यही फागुन १८ गते पानीको मुल फुट्यो। यो दैवीय शक्ति नै हो ।”
उहाँले यस्तो घटना बुढापाकाले पहिले पनि सुनाउने गरेको स्मरण गर्नुभयो । पाँच अधि सुकेको मूलमा यो वर्षको खडेरीमा पुनः पानी बगेको देख्दा स्थानीयवासी चकित परेको चेतराम नेपालीले बताउनुभयो । मूल फुटेको स्थानमा परम्पपरागत शैलीको ढुङ्गाले निर्माण गरेको ढोकासहितको कुवा देख्न सकिन्छ । न्वालो फोहोर हुन नदिन ढोका बन्द गरेर पाइपबाट पानीको निकास गरेर धारो निर्माण गरिएको छ । सोही ठाउँमा शीतदेवी (केही स्थानीयले सितनदेव पनि भन्ने गरेको) न्वालो (मुहान) नजिकै देउथान रहेको छ ।
वनमा आकासे पोखरी
मेलौली नगरपालिकाको असुर गाउँको देउथान मुलसहित अधिकांश खोला नालामा पानी सुकेपछि गत वर्षको भदौमा आकाशे पानीका पोखरी निर्माण सुरु गरिएको छ । गाउँ क्षेत्रको वनमा रिचार्ज पोखरी निर्माण गरिएका कारणले पनि पानीको मुल फुटेको हुन सक्ने आँकलन गरिएको छ । यद्यपि बर्खामा निर्माण गरिएका रिचार्ज पोखरीमा अहिले पानी भने छैन ।
गएको भदौ महिनामा असुर–मौजा सामुदायिक वन क्षेत्रमा १५ वटा रिचार्ज पोखरी निर्माण गरिएको स्थानीय सामाजिक अगुवा नरीराम लोहारले बताउनुभयो । वडा कार्यालय र समुदायिक रुपान्तरणका लागि पैरवी समूहमार्फत आकाशे पानीका १५ वटा रिचार्ज पोखरी निर्माण गरिएको उहाँले बताउनुभयो । निर्माण गरिएका रिचार्ज पोखरीमा सुक्खा याममा भने पानी जम्न सकेको छैन ।