• ११ मंसिर २०८१, मङ्गलबार

राष्ट्रप्रेम झल्कने शिक्षा

blog

नेपालका विश्वविद्यालयमा कार्यकारी उपकुलपति (भिसी), रेक्टर र रजिस्ट्रारलगायतका पदाधिकारी नियुक्ति र पदस्थापनाका बारेमा बहस चलिरहेको छ । त्रिविले भर्खरै नयाँ भिसी पाएको छ । यसैबिच केही भिन्न सोच बोकेकी, उच्च शिक्षा सम्बन्धमा उच्च दखल भएकी नयाँ शिक्षामन्त्रीको आगमन पनि भएको छ । त्रिविको भिसीबाहेक अब अन्य विश्वविद्यालयमा पनि भिसीलगायत विविध पदाधिकारी नियुक्ति प्रक्रियाले तीव्रता लिँदै छ । 

नियुक्ति मात्रै महत्वपूर्ण विषय होइन । शिक्षानीतिबारे विभिन्न कोणबाट बहस चलिरहेको छ । नयाँ शिक्षा प्रणाली २०२८ असान्दर्भिक भइसकेको छ । हालसम्म विद्यालयदेखि विश्वविद्यालयका पाठ्यक्रममा हामी चुकिरहेका छौँ । यस आलेखमा विद्यालयदेखि विश्वविद्यालयसम्म सैद्धान्तिकसँगै व्यावहारिक ज्ञानको अवधारणा अगाडि सार्दै अघि बढ्नु अपरिहार्य भइसकेको विषय उठान गर्ने प्रयास गरेको छु । 

शिक्षा ज्ञानले भरिएको विषय हो, यसले विषय वस्तुलाई आलोचनात्मक ढङ्गले मूल्याङ्कन गर्ने, विभिन्न पक्षलाई संश्लेषण गर्ने, र बौद्धिक जिज्ञासुका साथै अन्तरनिहित विषयका रूपमा कार्य गर्न सक्नु पर्छ । ज्ञानभित्र ज्ञानको आधार, आलोचनात्मक सोचसम्बन्धी दक्षता, समस्या समाधान गर्ने क्षमता, अनुसन्धान तथा सोध गर्ने क्षमता, पारस्परिक ज्ञान आदान प्रदान गर्ने क्षमता तथा नैतिक र सामाजिक दायित्व जस्ता पक्ष हाबी हुनु पर्छ । अतः ज्ञानले उपलब्धि, समझदारी, विषय वस्तुको जानकारीको प्रयोग, अवधारणा, सिद्धान्त र सम्बन्धित विषयका दक्षतामाथि प्रकाश पार्न सक्नु पर्छ । 

प्राचीन समय इपु. ३२७ मा विद्वान् अरिस्टोटलले स्टागिरा भन्ने स्थानदेखि बाघ भालु लाग्ने घना जङ्गल पार गरी महिनौँ दिन हिँडेर एथेन्समा रहेको प्लेटोको प्रसिद्ध एकेडेमीमा शिक्षा हासिल गर्न पुगेको इतिहास छ । चिनियाँ यात्री हु यान साङ नेपालबारे जानकारी लिन महिनौँ यात्रा गरेर यहाँ आई विविध विषयमा अध्ययन गरी फर्केको इतिहास पनि हाम्रैसामु विद्यमान छ । भियतनामका प्रसिद्ध नेता होची मिन्हले व्यक्त गरेका अभिव्यक्ति अनुसार ‘१० वर्षको लाभ लिनु छ भने रुख रोप, १०० वर्षको लाभ लिनु छ भने जनतालाई शिक्षित बनाऊ’’ भन्ने उक्तिबाट हामीले शिक्षाको महत्वलाई कम आँक्न मिल्दैन । 

यस्तै कठिन परिवेशमा माक्र्स, एन्जेल्स, गान्धी, नेहरू आदिले कठिन परिश्रमबाटै शिक्षा आर्जन गरी आफूलाई विश्वसामु स्थापित गरेका थिए । आज हाम्रा अगाडि घरमै बसेर संसार हेर्ने, पढ्ने र बुझ्न सक्ने अवस्था छ । अझै पनि हामी किताबी ज्ञानमा सीमित हुन बाध्य छौँ । आज पनि हामीले एउटा शिक्षित मानिस भेट्दा ज्ञानी मानिस नभेटेर किताब भेटेको भान हुन्छ । यो विषय विद्यार्थीमा पनि त्यत्तिकै लागु हुन्छ । आजका पुस्ताका लागि फूल किताबमै फुल्छन्, हवाईजहाज किताबमै उड्छन् अनि कोदो, मकै, फापरलगायतका अन्नबालीका बिरुवा धरातलमा गई चिन्ने ल्याकत अधिकांश विद्यार्थीमा छैन । यसबाट मुक्त हुनु जरुरी छ । यसका लागि सिर्जना प्रस्फुटनमा जोड दिनु पर्छ । शिक्षालाई व्यावहारिक र युग सुहाउँदो बनाउनु प¥यो । आजको पुस्ताले शिक्षालाई विद्यालय महाविद्यालयतिर गएर किताबी ज्ञान हासिल गर्नु मात्रै बुझेको छ । 

हाम्रो परिवेश र प्रकृति नै हाम्रा लागि सबैभन्दा विशाल पुस्तक हुन् । जसले यसलाई बुझेको छ, उसबाट समाजले चाहेको परिवर्तनको चाह पूरा गर्न सक्छ । भनिन्छ ‘परिवर्तनबाहेक स्थायित्व भन्ने अर्को चिज नै छैन ।’ विडम्बना आज हाम्रा स्कुल अनि विश्वविद्यालयका पाठ्यक्रम अनन्तकालसम्म ज्युँका त्युँ छन् । कतै परिवर्तन भइहाले पनि तिनमा व्यावहारिकता शून्य छ । अतः सिपमूलक ज्ञानसहितको सैद्धान्तिक पाठ्यक्रमको अभावमा हाम्रा अधिकांश विद्यार्थी अनि शिक्षक समाजका अगाडि निकम्मा सिद्ध भएका छन् ।

हाम्रा कतिपय युवा सीमित शिक्षा लिएर अब त पढेर सकियो भन्छन् तर शिक्षा आजीवन चलिरहने प्रक्रिया हो भन्ने तिनलाई हेक्का नै छैन । यसका सञ्चालकलाई न ज्ञान छ न तिनले यसको मर्मबारे गम्भीर भई जरो समातेर पढ्ने नै अवसर पाएका छन् । त्यसैले हामी माल्थुसियन ट्रयापभित्र फसेझैँ फस्दै गइरहेका छौँ । अनुसन्धानमा के, किन र कसरी भन्ने जिज्ञासासहित समाधान खोज्न नसक्नु अनुसन्धानको कमजोरी भने जस्तै हाम्रो शिक्षा के हो, यसको आवश्यकता किन छ र त्यसको पहिचानसहितको समाधानबारे हामीले हरेक विषयलाई समाजसापेक्ष के कति तुल्याउन सक्यौँ त भन्ने हेक्का राख्न नसक्दा आज हामी न हाँस न बकुल्लाको चालमा फसिरहेका छौँ । अत; जाग्ने हरेक मानिस आज पनि हरेक पुस्तामा रोइरहेको छ । यो रुवाइ व्यक्तिगत पीडाले होइन, समाजमा व्याप्त विरोधाभास देखेर मानवताको मायाले रोएको हुनु पर्छ । जाग्ने भनेको ज्योति फैलाउनु हो, जसले अन्धकार हटाउन मद्दत गर्छ । शिक्षामा त्यो ज्योति छैन भने त्यसले नै अन्धकारलाई निम्तो दिने गर्छ भन्ने हेक्का राख्न नसक्नु नै आज हाम्रा लागि दुर्भाग्यको विषय साबित हुँदै गएको छ । 

अतः आज हाम्रो शिक्षा यस्तै परिवेशमा गुज्रेको जस्तो लाग्छ । यसबाट मुक्त हुनु जरुरी छ । अबको नयाँ परिस्कृत शिक्षाले मुलुक सुहाउँदो सैद्धान्तिक र व्यावहारिक अध्ययन सँगसँगैको यात्रा तय गरी भविष्यका लागि युवालाई निर्देशित गर्दै परिवर्तन सम्भव छ भन्ने पाठ सिकाउनु जरुरी छ । 

हामी विश्वविद्यालयमा लामो समय बस्छौँ, अध्ययन गर्छौं र स्मरण गर्दछौँ, जहाँ हामी परीक्षा उत्तीर्ण हुने प्रयत्न गर्दछौँ तर जनताका दैनिक जीवन तथा परिश्रमबाट झन् झन् टाढा पुग्दछौँ । जोसँग हाम्रो भविष्य जोडिनु पर्छ तर त्यसो हुन सकेकै छैन । लाग्छ हामीहरू अल्पदृष्टियुक्त, कुप्रा विद्यार्थी बनेर आफ्नो कपालमा पहिले नै चिन्तारूपी सेता केश देखाउँदै फुच्चे वृद्ध मानिस जस्तो बाहिर निस्कन्छौँ । ‘हामी जे चाहन्छौँ, त्यसका लागि केवल तीन वर्ष काफी हुन्छ, अझै सम्भवतः साढे दुई वर्ष नै पनि काफी हुन सक्छ । हामीले पुस्तकबाट यान्त्रिक इन्जिनियरिङको अध्ययन गर्नु एउटा कुरा हो तर यन्त्रलाई बन्द गरेर पुनः चलाएर हेर्नु अर्को कुरा हो, जसले स्पष्ट र सङ्क्षिप्त रूपमा सिकाउँछ । 

हामी नयाँ सुविधा सम्पन्न वर्गको एउटा भाग भइरहेका छौँ । हामीसँगको स्मरण क्रियारूपी जातोको सबै रिवाजबाट गुज्रिसकेपछि हाम्रो सबै सृजनशीलता पिसिइरहेको छ, धुलो पिठो भइरहेको छ । तब कसरी हामीले परिवर्तनशील विश्वका आवश्यकता पूरा गर्न सक्छौँ, अनि कसरी औद्योगिक मुलुकसँग कदम मिलाउँदै अघि बढ्न सक्छौँ ? 

वर्तमानको शिक्षा ती वर्गको हातमा छ, जसले समूहलाई भन्दा व्यक्तिलाई जोड दिन्छ । हामीले अध्ययन गरेका थुप्रै पुराना ग्रन्थको प्राय सबै कुरा असामयिक वा असान्दर्भिक भइसकेका छन् । त्यसो भन्दै गर्दा ऐतिहासिक द्वन्द्ववादको अध्ययनबाट हामीलाई टाढा हुने छुट छैन । हामीसँग अध्ययनका साधन र आत्मिक स्वतन्त्रता छ भने यसले हाम्रो सृजनाशीलता निषेध गर्दैन, तब हामीले जनताको सेवा गर्न सक्छौँ । एउटा शिक्षित व्यक्तिको कर्तव्य पनि यही हो । 

दृढ सङ्कल्प तथा त्यागको भावनाले काम गरेर देशको माया हुने शिक्षित वर्गले शिक्षाको एउटा नयाँ प्रणालीको निर्माण गर्नु आजको नेपालको प्रमुख माग हो । हामीले हाम्रा जनताको आवश्यकतामा आधारित शिक्षा प्रणाली निर्माण गर्नु पर्छ । हामीले हाम्रो शिक्षालाई संशोधनवादी धारबाट अलग गरी व्यावसायीकरण गर्दै जानु जरुरी छ । अब हामीले हाम्रो आधुनिक शिक्षा पद्धतिलाई युगसापेक्ष शिक्षामा रूपान्तरण गर्नु पर्छ । यसमा आफ्ना गीत, कवितासँगै बाध्य यन्त्रद्वारा मिडियाको माध्यमबाट व्यापक प्रचार प्रसार गर्ने हैसियत पनि कायम गर्नु पर्छ । 

शिक्षालाई ज्ञान र सिप दुवै प्राप्त गर्ने गरी अगाडि बढाउने भनेकै सैद्धान्तिक सिकाइसँगै व्यावहारिक सिकाइको अध्ययन हो । अहिलेको शिक्षाको मुख्य उद्देश्य असल र नवीन विचार प्रदान गर्नु हो, केवल राम्रो खाने र राम्रो लगाउने विचार मात्रै होइन । यसको सट्टामा काम र सङ्घर्षका विचार, हामी किन बाँच्छौँ र हामी कसरी जनताको सेवा गर्न सक्छौँ भन्नेमा विचार प्रवाह गर्नु पनि त्यतिकै महत्वपूर्ण रूपमा लिनु पर्छ । 

हामीले विद्यार्थीका विश्व दृष्किोणलाई आधारभूत रूपमा परिवर्तन गर्न र जीवनको निकट ल्याउन जरुरी छ । शिक्षा त्यस्तो हुनु पर्छ, जहाँ शिक्षकले विद्यार्थीलाई सिकाउँछन् अनि विद्यार्थीले पनि शिक्षकलाई सिकाउँछन् । विश्व दृष्टिकोण अनुसार क्रान्तिमा गाउँका सोझा गाउँलेको प्रयोग हुने अनि उपलब्धि भने सहरियाले उपयोग गर्ने खालको शिक्षा हुनु हुँदैन । अतः शिक्षाले सबै तह तप्काका आवश्यकतालाई सम्बोधन गर्ने ल्याकत राख्नु पर्छ । यो विषय सूचना र सञ्चारमा आएको परिवर्तनले अनिवार्यसिद्ध गरिसकेको छ । ‘बादे बादे तत्व बोध’ हाम्रो संस्कृतको शिक्षाप्रद श्लोकले पनि यही भन्छ । 

हामीले अहिलेसम्म दिएको सैद्धान्तिक शिक्षा अधुरो छ । विद्यार्थीलाई कुरा आउँछ, काम आउँदैन । त्यसैले मुलुकभित्र ती बिक्दैनन् । तिनलाई छानी छानी विदेशीले लिन्छन्, केही व्यावहारिक ज्ञान दिन्छन् अनि आफ्नो मुलुकमा उपयोग गर्छन् । हाम्रा अभिभावकलगायत देशले आफ्ना बाबुनानीमा गरेको २०–२५ वर्षको सम्पूर्ण लगानी खेर गइरहेको छ । विदेशीका लागि उनीहरूको देश विकासमा हाम्रा अभिभावक तथा देशको त्यही लगानी ऊर्जा बनेको छ । हामी कति दुःखद अवस्थामा छौँ भन्ने गम्भीर विषय हो । आज उनका बाझा अनि मरुभूमियुक्त जमिन उर्वर बनेका छन् भने हाम्रा उर्वर भूमि उजाड बनिरहेका छन् । त्यसैले सैद्धान्तिक अध्ययन सँगसँगै व्यावहारिक अध्ययनको पढाइको माध्यमबाट हाम्रो जनशक्तिलाई यही खपत गर्ने शिक्षा प्रणालीको विकास गरौँ, युवा पलायनलाई रोकाैँ र देशलाई सम्पन्नताको दिशातर्फ उन्मुख गराऊ । नेताजी, नागरिक अगुवा, प्राध्यापक, शिक्षक, कर्मचारी, विद्यार्थी भाइबहिनीहरू सबैले गफ होइन काममा लाग्ने वातावरण सिर्जना गर्नतर्फ लागौँ । पार्टीगत र गुटगत राजनीति छोडौँ र देशगत राजनीति गरौँ । शिक्षाको माध्यमबाट राष्ट्रप्रेमको भावना जागृत गर्ने विषयलाई केन्द्रमा राखौँ । राष्ट्रप्रेमको भावलाई यथार्थमा चरितार्थ गराऊ । वैज्ञानिक शिक्षा प्रणालीको अवलम्बनबाट हाम्रो देश सुन त के हिरा बराबरको मूल्यमा ब्युँतिने छ, सबैले हेक्का राखौँ । 

  

Author

प्राडा महेन्द्रप्रसाद शर्मा