• १३ पुस २०८१, शनिबार

दानदक्षिणा (निबन्ध)

blog

मलाई कसैले टीका लाएर किन पैसो दिने ? दिए भन्दैमा कुनै योगदानबिनाको पैसो मैले खुरुक्क किन लिने ? मनमा प्रश्न उठ्न थालेको धेरै वर्ष भइसकेको थियो । निकै सोचेँ । मेरा नजरमा यसरी दक्षिणा लिनुको औचित्य सिद्ध हुन सकेन । अनि दक्षिणा नलिने निर्णय गरेँ । निर्णय त गरेँ । यही निर्णयका कारणले ठाउँ ठाउँमा समस्या प-यो । 

दसैँमा ससुरालीमा आपत् प-यो मलाई । सासूआमा भएको घरमा टीका लाइसकेर जेठानहरूसित टीका लाउन पल्लो घर गएको थिएँ । जेठानहरूले टीका लगाएर पैसा दिन खोज्ने । जेठानी दिदीहरूले पनि टीका लगाएर पैसै दिन खोज्ने । मैले ‘लिन्न’ मात्रै के भनेको थिएँ, उहाँहरू त एकमुखले अरिङ्गाल झैँ ममाथि खनिन थाल्नुभयो, शस्त्रास्त्रले होइन, वचनले– किन नलिने पैसो ? धन कमाएँ भनेर धाक दिएकोे हो ? थोरै दिन्छन् भनेर हो ? मैले विनम्र भएर जवाफ दिएँ– धन धेरै कमाएको पनि छैन, धाक दिएको पनि होइन र थोरै होला भन्ने ठानेको पनि छैन । म मान्यजनसित आशीर्वचन लिन आएको हुँ । पैसा लिन आएको होइन । म लिन्नँ । ‘अहँ त्यस्ता कुनै पनि कुराले हामी मान्दैनौँ । यसरी परम्परा तोड्न पाइँदैन । हामीले आदर सत्कार गरेर दिएको, ज्वाइँ, बैनी, छोरी, भान्जा, भान्जीलाई दान दिएर पुण्य पाइन्छ भनेर दिएको । सबै जनाले एक स्वरले हप्काउनु हुन्छ । दान दिन पाउने हाम्रो अधिकारलाई कुल्चिन दिन्नौँ भन्नुहुन्छ । म एक्लो उहाँहरू धेरै । त्यहाँ त मेराविरुद्धमा नारै लाग्ला जस्तो पो भयो त । दक्षिणा लिनका लागि ममाथि सही नसक्नुको दबाब सिर्जना भयो । बडा मुस्किलले सहेँ । 

त्यो हप्काइमा आदरभाव पनि छ, प्रेम पनि छ, असन्तोष पनि छ र आग्रह पनि छ । आदरणीय जनहरूको आग्रहलाई अस्वीकार गर्नु जत्तिको असजिलो के हुन्छ होला । म अनुमानै लगाउन सक्तिनँ । मैले त्यो चलन तोड्छु भनेर घोषणा गरेको पनि निकै भइसक्यो । श्रीमतीमार्फत सोर्सफोर्स लगाएर सासूआमालाईसम्म सहमत गराउन भ्याएको थिएँ दक्षिणा नदिनका लागि । उहाँले आँखाभरि टिलपिल टिलपिल आँसु पारेर काँपेको बुढो हातले टीका लगाइदिनुभयो । मैले दक्षिणा नलिएकोमा उहाँभित्र पीडाको गहिरो पोखरी जमेको मैले तड्कारै बोध गरेँ । 

अब उता गएर पैसा लिने त झन् कुरै भएन नि । जति कर गरे पनि मैले हात थापिनँ । उहाँहरूले दक्षिणा मेरो अघिल्तिर भुइँमा राखिदिनुभयो । आठ दस वटा चरेसका थाल छन् । थालमाथि खाम छन् । खामभित्र नोटहरू छन् । कति छन् ? थाहा छैन । दक्षिणै लिन नखोजेकालाई त्यसको सरोकार भएन । दिनेहरू दक्षिणा दिएर हिँडिसक्नु भोे । म पैसाको पसल थापे झैँ गरी बसिरहेको छु । मर्यादा भङ्ग हुने भयले उहाँहरूले टक्¥याएको पैसो बेवारिस छाडेर जेसुकै होस् भनेर हिँड्न पनि सकिनँ । समात्ने कुरै भएन । मेरी श्रीमती त्यही बेला त्यहाँ भइनन् । नत्र उनैले कुरो मिलाउँथिन् । मलाई यस्तो आपत् परेको बेला कहाँ गएको होला ? मभित्र भित्र रन्थनिन्छु । फोन गर्छु, फोन लाग्दैन । दसौँ चोटि फोन गरिसकेँ । घडी हेर्छु समय जहाँको तहीँ अड्केर बसिरहेको छ । उनी टुप्लुक्क आइहाल्छिन् कि भनेर बाटो पनि हेरिरहेकै छु । बाटो रित्ताको रित्तै छ । मेरो महासङ्कटको आधा घण्टा बित्न लामो कालखण्ड लाग्यो । ओहो त्यो बेलाको कष्ट । भर्खरै जन्मकैदमा परेको अपराधी पनि योभन्दा बढी छट्पटाउँदैन होला ।

आधा घण्टापछि बल्ल उनी आइन् र दाइभाउजूलाई मैले दक्षिणा नलिने कुरो सम्झाउन खोजिन् । ‘आमाले कुरिरहनु भएको छ, छिटो खाना खान जानू’ भनिन् मलाई । सायद म परिबन्दमा परेको बुझेर नै त्यहाँबाट छिटो उम्काउन खोजेकी हुन् । वचन भुइँमा खसिनस्क्दै म सुइँकिहालेँ । थालहरूमाथि राखिएका खामभित्रका पैसाको स्वामित्व कहाँ पुग्यो होला ! अर्पण गरिसकेका त्यो पैसो के फिर्ता भयो होला र ! मलाई अनौठो लागिरहेको थियो । पछि थाहा पाएँ, पैसा उनैले लिइछन् । आखिर सोझै नसमाती हात घुमाएर कान समाए झैँ भयो भन्नुहोला तपाईं । तपाईंका कुरा पनि एक हिसाबले ठिकै हो । त्योभन्दा मुख्य कुरा के हो भने अब मलाई यसरी दक्षिणा दिने प्रयत्न गरिने छैन । परोक्ष ढङ्गले आफ्नो नामको दक्षिणा आफ्नै घरमा आउने परिपाटी पनि यो नै अन्तिम हुनेछ । 

सांस्कृतिक रूपान्तरणको कुरो गर्ने अनि दसैँको टीका लगाउँदै हिँड्ने ! भन्नुहोला, भन्नुस् । यस विषयमा पछि छलफल गर्दै गरौँला । 

जेहोस्, दक्षिणा काण्ड मेरो जीवनमा पटक पटक घटेको छ । 

मामाकहाँ गयो, उस्तै आपत् । मामा मर्दा श-या दान लिएको भान्जालाई टीका लाएर दक्षिणा दिएपछि मरेर गएका मामालाई स्वर्गमा सजिलो हुँदो हो भन्ने माइजूको आसय थियो । मैले दक्षिणा नलिएका कारणले मेरा मामाले नर्कको यात्रा गर्नुपर्ने सम्भावनाबाट भयभीत माइजूलाई तुरुन्तै चित्त बुझाउने कुनै उपाय थिएन मसित । शøयादान लिएका समयमा म बालकै थिएँ । अन्य कुनै ज्ञान थिएन, खुरुक्क लिएँ । अहिले यति समस्यामा पर्छु भनेर जानेको भए किन लिँदो हुँ र ! 

कुनै बिहेमा जन्त गयो । दुलही अन्माउनुअघि टीकाटालो गर्ने र केटीका बा दाइहरूले हरेक जन्तीलाई टीका लगाएर दक्षिणा दिने चलन छ । यो जातीय सीमामा बद्ध कथित ब्राह्मण समुदायको कुरा हो । यस्ता बिहेमा जन्त जान प¥यो कि मलाई टेन्सन ! टीका लगाएर पैसा दिन खोज्छन् । लिन्न भन्दा दुलहीपट्टिका र दुलहापट्टिका समेत एक मुखले ‘पैसा लिई, किन नलिने’ भनेर कराउँछन् । एक दुई ठाउँमा त टीका लाउने बेलामा भागेँ पनि । सामना गर्न नसकेर भाग्नु पनि ठिक लागेन । कति ठाउँमा विवाहका कारणीमार्फत टीकाटाला गर्न बसेकाहरूमाथि सोर्सफोर्स समेत लगाउनुप¥यो । ‘अहिले त्यहाँ मलाई असजिलो नपरोस् है, मलाई टीका लगाउने बेलामा उहाँले कहीँ गएर पनि दक्षिणा लिनुहुन्न भनेर बताइदिनु होला’ भन्नुप-यो । 

घरिघरि त नचाहिएको फजितीमा फसेँ जस्तो पनि लाग्ने ! पटक पटक यत्रो कष्ट उठाउनुभन्दा त चुपचाप दक्षिणा लिएर हिँडेको भए सजिलो हुने रहेछ भने झैँ हुने । सानोभन्दा सानो परम्परा तोड्न पनि यत्रो सङ्घर्ष गर्नुपर्ने ! समग्र विकृत परम्परा तोडेको पनि कहाँ हो र ! म आफूले यो अनर्थको दक्षिणा लिन्न भनेको न हो । जहाँ गयो झगडै गर्नु पर्ने । पैसो  ‘लिन्न’ भन्दा पनि सुख नपाइने ! कति जब्बर हो यो प्रथा ! 

दुई चार ठाउँमा भिडिसकेपछि भने अब फलानाले यस्ता दान दक्षिणा लिँदैन भन्ने हल्ला भइसक्यो । अब गाह्रो छैन । 

यी सम्पूर्ण दक्षिणा काण्डलाई गहिरिएर हे¥यो भने यहाँ पितृसत्तात्मक हैकमको व्यवस्थित सांस्कृतिक प्रणालीको एउटा रूप देख्न सकिन्छ । छोरीपट्टिका नालनाता कुलकुटुम्ब जम्मै छोरापट्टिका नालनाता कुलकुटुम्बसित पुस्तौँ पुस्ता झुकिरहनुपर्ने । दुःखमा परेका जोसुकैलाई पनि सहयोग गर्ने परम्परा नबसालेर ज्वाइँ नै किन खोज्नुप¥यो ? भान्जा नै किन चाहियो ? अर्थभित्र पनि अर्थ छ । 

‘ढिलै होस् छोरै होस्’ भन्ने । छोरी जन्माउनै नचाहने । जन्मिहाली भने मुख अँध्यारो पार्ने र चुपचाप बस्ने । छोरो जन्म्यो भने छैटीँ गर्ने । छोरीलाई भने अर्काको घर जाने जात भन्ने र जे पनि सहन सिकाउने । अहँ अन्यायका विरुद्धमा लड्नुपर्छ भनेर कहिल्यै नसिकाउने । आकाशतिर हेर्नै नदिने । क्षितिजतिर चियाउनै नदिने । झुकेको झुक्यै गर्नुपर्ने । भुइँतिर हेरिरहनुपर्ने । पुरुषको स्वतन्त्रतालाई व्यवस्थित पार्न घरकाममै बन्दी हुनु पर्ने । छोरो जन्माउनेले मान मर्यादा र ढोग पाइरहने । दक्षिणा पाइरहने । छोरी जन्माउनेले निरन्तर तिरिरहनुु पर्ने । ढोगिरहनु पर्ने । मानिरहनु पर्ने । नुघिरहनु पर्ने । शिक्षा नदिने, अंश नदिने अनि दान दक्षिणाको आसे बनाइदिने । उद्यमी होइन, आसे । पितृसत्तात्मक प्रणाली संवर्धनकोे जब्बर उपकरण रहेछ दक्षिणा प्रथा । 

मान्छेहरू वंशावली बनाउँदै हिँडिरहेका छन्, थरका आधारमा । यी विद्वानहरूलाई आफ्नी हजुरआमा हराएको पत्तै छैन । पितृसत्तात्मक समाजमा महिलाको थर हुँदैन । पतिको थर नै उसको थर हुन्छ । पति–पत्नी दुवैका आमाको पनि थर गायब छ । विवाहपूर्व महिलाले प्राप्त गरेका थर पनि उसको बाबुको थर हो । 

दक्षिणा प्रथा धनाढ्यहरूले धनको धाकमा नालनाता कुलकुटुम्ब र कर्मकाण्डी ब्राह्मणहरूका बिचमा प्रभुत्व कायम गर्ने शस्त्रास्त्र पनि हो । निजीवादले निर्माण गरेको धनवादी चिन्तनले धेरै दान दिन नसक्ने विपन्नहरूलाई उपेक्षणीय र सम्पन्नहरूलाई आदरणीय सिद्ध गरेर छाडिदिन्छ । निरन्तर अन्धविश्वास, अन्धभक्ति र वैयक्तिकता सिकाइएका कारणले आलोचनात्मक चेत विकास हुन नसकेका बिचरा प्रापकहरूले दानको स्रोत कसरी खोजुन् ! जसले धेरै दियो उसैको ‘जय’ भन्छन्, पैसा लिन्छन्, हिँड्छन् ।  

यो निबन्धको अर्थ यो होइन कि मैले कुनै वीरतापूर्ण काम गरेँ । अर्थ त यो हो कि पितृसत्तात्मक सामन्ती संस्कृतिको जरा हाम्रो समाज व्यवस्थामा जनमानसको भित्रैसम्म गडेको छ । प्रारम्भमा एक्लो प्रतिरोधको पनि दृष्टान्तमय अर्थ हुन्छ । सधैँ एक्लै परिरहनुको अर्थ हुँदैन । यो कुप्रथा नै अन्त्य गर्नका निमित्त ठुलो जनमत अग्रसर रहनु र त्यो प्रथा सदाको निमित्त तोडिनु बल्ल यसको महार्थ हुन जान्छ । सामन्ती पितृसत्ताको व्यापक सञ्जालभित्रको एउटा सानो डोरो चुँडाउँदा पनि त्यसले समग्र सञ्जाललाई केही न केही कमजोर भने बनाएकै हुन्छ ।