• १४ जेठ २०८१, सोमबार

मेरिङ्देनले जित्यो उपमेयर कप फुटबल उपाधि

blog

उपमेयर रनिङ कप विजेता मेरिङ्देन गाउँपालिकाको टोली ट्रफीका साथ । तस्बिर ः चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन २९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको दोस्रो उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगिताको उपाधि मेरिङ्देन गाउँपालिकाले जितेको छ । सोमबार सम्पन्न प्रतियोगिताको फाइनलमा आयोजक फुङ्लिङ नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै मेरिङ्देनले उपाधि जितेको हो ।

उपाधि जितसँगै मेरिङ्देन गाउँपालिकाले एकलाख ११ हजार १०० रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ । उपविजेतामा सीमित बनेको फुङ्लिङ नगरपालिकाले पदक, प्रमाणपत्र र नगद पुरस्कार ५५ हजार ५०० रुपियाँमा चित्त बुझाउनुपर्यो । आइतबार भएको सेमिफाइनलमा पाथीभरा याङ्वरक गाउँपालिकालाई ९–० को फराकिलो गोल अन्तरले पराजित गर्दै फुङलिङ नगरपालिका र आठराई त्रिवेणी गाउँपालिकालाई ट्राइबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै मेरिङ्देन गाउँपालिका फाइनलमा पुगेका थिए । 

विजेतालाई कोशी प्रदेश सभाका सदस्य खगेनसिंङ हाङ्गामले पुरस्कार वितरण गर्नुभएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फुङ्लिङ नगरपालिकाले अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिता आयोजना गरेको हो । गएको शुक्रवार सुरु भएको प्रतियोगितामा जिल्लाका नौमध्ये मैवाखोला र मिक्वाखोला गाउँपालिकाबाहेक सात स्थानीय तहले सहभागिता जनाएका थिए ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।