• २३ वैशाख २०८३, बुधबार

सर्जकलाई लघुकथा पुरस्कार

blog

काठमाडौँ, वैशाख २३ गते । हाम्रो लघुकथा केन्द्र, दक्षिणकाली–३, काठमाडौँले विभिन्न लघुकथा सर्जकलाई पुरस्कार तथा सम्मान गरेको छ । केन्द्रद्वारा आयोजित पुरस्कार/सम्मान र पुस्तक लोकार्पण समारोहमा स्रष्टा महेश प्रसाईलाई  एघार हजार १११ रुपियाँसहित ‘केन्द्र लघुकथा सम्मान’, प्राडा कपिल लामिछानेलाई  एघार हजार १११ रुपियाँसहित ‘केन्द्र समालोचना सम्मान’ प्रदान गरिएको हो । त्यसै गरी सर्जक गङ्गा कर्माचार्य पौडेललाई पाँच हजार ५५५ रुपियाँसहित ‘केन्द्र लघुकथा नारी सम्मान’ र रमेन्द्र कोइराला पाँच हजार ५५५ रुपियाँसहित ‘योगनाथ बाँस्तोला लघुकथा सम्मान’ बाट सम्मानित हुनुभयो ।

दक्षिणकाली नगरपालिकाका  प्रमुख मोहन बस्नेतले सर्जकलाई पुरस्कार तथा सम्मान प्रदान गर्दै साहित्यिक गतिविधिले नगरको प्रतिष्ठा बढ्ने विचार व्यक्त गर्नुभयो । उहाँले प्राकृतिक सुन्दरताले भरिपूर्ण नगरमा पर्यटक आकर्षणका लागि साहित्यिक हब बनाउन अगाडि बढ्ने प्रतिबद्धता गर्नुभएको थियो ।

सो कार्यक्रममा उपप्रमुख वसन्ती तामाङ डङ्गोलले दक्षिणकाली प्रज्ञा–प्रतिष्ठानको काम अगाडि बढेको जानकारी दिँदै साहित्यिक माहोल अझै उर्वर हुने र यस्ता गतिविधि गर्न सर्जकलाई सहज हुने विचार व्यक्त गर्नुभयो । सो अवसरमा उपमेयर वसन्ती तामाङ डङ्गोल, साहित्यकार कृष्ण प्रधान, किशोर पहाडी, जयदेव भट्टराईलगायतले सो पुस्तकको संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो ।