मुक्तिनाथ समाचारदाता
मुक्तिनाथ (मुस्ताङ), वैशाख २३ गते । मुस्ताङको घरपझोङ गाउँपालिकाले सदरमुकाम जोमसोममा आयोजित १५ दिने घरपझोङ राष्ट्रिय मूर्तिकला कार्यशाला सम्पन्न गरेको छ । धार्मिक तथा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले ललितकला प्रज्ञा–प्रतिष्ठानका मूर्तिकारको उपस्थितिमा आयोजित कार्यशालामा भगवान्का साथै हिमाली भेगको जैविक विविधता झल्काउन पन्छी तथा जनावरका मूर्ति बनाइएको थियोे ।
कालीगण्डकी नदीमा मात्र पाइने शालिग्रामबाट धार्मिक तीर्थस्थल मुक्तिनाथ, दामोदरकुण्डलगायतका धार्मिक स्थलमा पूजा गरिने शिव पार्वती, विष्णु, नारायण, बुद्धलगायतका भगवान्का साथै मुस्ताङको हिमाली क्षेत्रमा वासस्थान रहेको हिउँचितुवा, याकनाकलगायत अन्य जङ्गली र घरपालुवा जनावरको मूर्ति बनाइएको प्रतिष्ठानका मूर्तिकार दिनेश्वर महतोले बताउनुभयो ।
सो कार्यशालामा प्रतिष्ठानका २१ र दुई अतिथि मूर्तिकारले २५ वटा मूर्ति बनाएका छन् । ललितकला प्रज्ञा–प्रतिष्ठानले स्थानीय तहसँगको सहकार्यमा मूर्तिकला कार्यशाला सञ्चालन गर्ने गरेको कलाकार महतोको भनाइ छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले शालिग्रामको महिमा, सभ्यता र शालिग्राम लोप हुनबाट जोगाउन पार्कमा राखेर धार्मिक पर्यटकलाई आकर्षित गर्ने बताउनुभयो । कालीगण्डकी नदीको किनारामा २२ फिट अग्लो शालिग्राम शिलामा मूर्तिसहित पार्कले जोमसोम बजार झनै आकर्षित देखिएको उहाँको भनाइ छ । गाउँपालिकाले भविष्यमा अन्तर्राष्ट्रियस्तरको मूर्तिकला कार्यशाला सञ्चालन गर्ने योजनासमेत रहेको छ ।