गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २३ गते । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने अन्य देशका पर्यटकलाई सहजीकरण गर्न अनलाइन सेवा सुरु गरेको छ । अर्थ मन्त्रालयमातहतको भन्सार विभागले स्थलमार्ग भएर नेपाल भित्रिने विदेशी सवारीसाधनले अनलाइनबाटै विवरण भर्न र राजस्व तिर्न सक्ने प्रणाली विकास गरेर सञ्चालनमा ल्याएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मङ्गलबार उक्त प्रणालीको शुभारम्भ गर्नुभयो । अर्थमन्त्रीको सचिवालयका अनुसार नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब नेपालमा सवारीसाधन लिएर भित्रिने भारतीय पर्यटक तथा तेस्रो मुलुकका पर्यटकले अनलाइनबाटै आफ्नो विवरण र राजस्व तिर्न सक्ने छन् ।
यसअघि भन्सार नाकामा आएर यस्ता सवारी साधनले भौतिक रूपमा अस्थायी इजाजत लिनुपर्ने व्यवस्था थियो । साथै नेपाल यात्राकै क्रममा यात्रा अवधि सकिए नवीकरणका लागि भन्सार नाकामै पुग्नुपर्ने वा जरिबाना तिर्नुपर्ने अवस्था थियो ।
नयाँ अनलाइन प्रणाली सुरु भएसँगै अब नेपाल भित्रिने पर्यटकले आफ्नो सवारीसाधनको इजाजतपत्र घरैबाट अनलाइनमार्फत भरेर अनलाइनबाटै पैसा तिरेर बिनाझन्झट नेपाल घुम्न आउन सक्छन् ।
नयाँ अनलाइन सहजीकरण सेवाको शुभारम्भ गर्दै अर्थमन्त्री डा. वाग्लेले सीमाक्षेत्रमा पर्यटकले पाउने सास्ती अब हट्ने बताउनुभयो । “सरकारले अनुशरण गरेको सुशासन र छरितो गुणस्तरीय सार्वजनिक सेवा दिने घोषणा कार्यान्वयनको क्रममा यो कार्य सुरु गरिएको हो,” उहाँले भन्नुभयो ।
भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले नेपाल भित्रिने पर्यटक बोकेका विदेशी सवारीसाधनको इजाजत अब डिजिटल भएको बताउनुभयो । उहाँका अनुसार अब नेपाल प्रवेश गर्ने यात्रु तथा पर्यटकले प्रयोग गर्ने विदेशी सवारीसाधनसम्बन्धी विवरण अनलाइनमै स्वयम् घोषणा गर्न सक्ने छन्, जसले प्रक्रिया थप पारदर्शी र प्रभावकारी बनाउने छ ।
नेपाल सरकारलाई तिर्ने राजस्व पनि त्यस्ता पर्यटकवाहक सवारीले अनलाइनबाटै वा बैङ्क काउन्टरबाट तिर्न सक्छन् । अनलाइनबाट पैसा तिरेका गाडीले भन्सारमा आफ्नो इमेलमा प्राप्त क्युआर कोड देखाएरै नेपाल छिर्न सक्ने उहाँको भनाइ छ । विभागका अनुसार नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत नेपाल भित्रिने विदेशी नागरिकलाई सहजता प्रदान गर्न अस्थायी सवारी आयात (टिआइभी) मोड्युल विकास गरिएको हो ।
तत्कालका लागि यो सेवा नेपाल भित्रिने भारतीय तथा तेस्रो देशका पर्यटकले प्रयोग गर्ने सवारीसाधनका लागि लागु गरिएको भन्सार विभागले स्पष्ट पारेको छ । हाललाई चिनियाँ नाका भएर स्थलमार्गबाट चिनियाँ सवारीसाधनसहित पर्यटक आउने नगरेको र आएको खण्डमा उनीहरूका हकमा पनि यो सेवा रहेको विभागले जनाएको छ । तत्कालका लागि यो सेवाबाट भारत र बङ्गलादेशका पर्यटक लाभान्वित हुने विश्वास विभागको छ ।