• ८ मंसिर २०८१, शनिबार

वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइन सम्पन्न

blog

काठमाडौँ, फागुन २८ गते । सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न भएको छ । 

तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण भएका/हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न वसन्तपुर–ढुङ्गेसाँघु २२० केभी डबल प्रसारण लाइन बनाउन लागिएको हो । सोही प्रसारणलाइन अन्तर्गतको एक खण्ड तयार भएको हो । समुद्र सतहबाट तीन हजार मिटर उचाइसम्म भएर जाने वसन्तपुर–ढुङ्गेसाँघु २२० प्रसारण लाइनको लम्बाइ ३५ किलोमिटर छ । प्रसारण लाइनका लागि १२७ वटा टावरहरू निर्माण गरिएका छन् । वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइन अन्तर्गत नै वसन्तपुर सबस्टेसनमा छ वटा वे विस्तार भइरहेको छ । त्यसमध्ये तीन वटा वेका उपकरणहरू जडान र परीक्षण कार्य भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । उक्त कार्य आगामी चैतको पहिलो हप्ताभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

 वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइन निर्माण सम्पन्न भएपछि ताप्लेजुङमा निर्माणाधीन ७३ मेगावाटको मध्यतमोर जलविद्युत् आयोजनाको विद्युत् प्रवाह सहज हुने भएको छ । प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन र सबस्टेसन तयार भए पनि तर जलविद्युत् आयोजना निर्माण हुन नसक्दा २२० केभी लाइन कम क्षमतामा चलाउनुपर्ने अवस्था रहेको जानकारी दिनुभयो । मध्यतमोरलगायतका जलविद्युत् आयोजनाको विद्युत् उक्त लाइनमा जोडिएर इनरुवा सबस्टेसनमार्फत मोरङ र सुनसरी जिल्ला आपूर्ति गरिने हुँदा त्यस क्षेत्रमा विद्युत् आपूर्तिका सहज हुने उहाँले बताउनुभयो ।

कोशी कोरिडोर प्रसारण लाइन आयोजना प्याकेज–३ अन्तर्गत वसन्तपुर–ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइन र ढुङ्गेसाँघुमा १३२/३३ केभी सबस्टेसन निर्माणका लागि केइसी इन्तरनेसनल, भारतसँग २०७४ माघमा दुई करोड ४५ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । उक्त ठेक्का सम्झौता २०७५ जेठबाट कार्यान्वयनमा आएको थियो । प्रसारण लाइन निर्माण सम्पन्न भएको छ भने ढुङ्गेसाँघु सबस्टेसन निर्माण अन्तिम चरणमा छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारत सरकारले एक्जिम बैङ्कको सहुलितपूर्ण ऋणमा वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइन निर्माण गरिएको हो । 

कोशी कोरिडोर प्रसारण लाइन आयोजना प्याकेज–४ अन्तर्गत वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइनको दोस्रो सर्किट निर्माण र वसन्तपुर सबस्टेसनमा वे विस्तार कार्य भइरहेको छ । कुल ३५ किलोमिटरमध्ये प्रसारण लाइनमध्ये हालसम्म १५ किलोमिटर तार तानिएको छ । वे विस्तार कार्य जारी छ । 

यस प्याकेजका काम गर्न नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लि. सँग २०७९ कात्तिकमा ठेक्का सम्झौता भएको थियो । नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण भइरहेको यस प्याकेजका सम्पूर्ण काम आगामी डेढ महिनाभित्रमा सक्ने लक्ष्य राखिएको छ । 

कोशी कोरिडोर प्रसारण लाइन प्याकेज–१ अन्तर्गत सङ्खुवासभाको तुम्लिङटारबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित इनरुवा सबस्टेसनसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरी टावरको एकतर्फ मात्र तार तानेर लाइन सञ्चालनमा ल्याइएको छ । 

अरुण तथा तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण हुने र भइरहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत कोशी कोरिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । कोशी प्रदेशका भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी कोरिडोरको निर्माण गरिएको हो ।