• २६ असार २०८२, बिहिबार

मैवाखोलाको बजेट खर्च ८९ प्रतिशत बढी

blog

साँघुस्थित मैवाखोला गाउँपालिकाको कार्यालय । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असार २६ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१-८२ मा करिव ९० प्रतिशत खर्च गरेको छ । गाउँपालिकाले चालु आवका लागि स्वीकृत बजेट तथा कार्यक्रम सञ्चालनअन्तर्गत चालु र पुँजीगत दुवै गरी कुल ८९.११ प्रतिशत खर्च गरेको हो । 

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार कुल खर्चमध्ये विकास बजेट अर्थात पुँजीगत खर्चको प्रगति ८७.४१ प्रतिशत रहेको छ । त्यस्तै चालुतर्फ खर्चको प्रगति ९०.०५ प्रतिशत रहेको अध्यक्ष वनेमले जानकारी दिनुभयो । 

बजेट कार्यान्वयनका लागि जनप्रतिनिधि, गाउँपालिकामा कार्यररत कर्मचारी, टोल विकास संस्था, निर्माण व्यवसायी, राजनीतिक दल लगायतको सक्रिय भूमिकाबाट उक्त परिमाणमा खर्च गर्न गाउँपालिका सफल भएको अध्यक्ष वनेमको भनाइ छ । गाउँपालिकाको बजेट तथा कार्यक्रम सञ्चालन र कार्यान्वयन गर्न आ–आफ्नो ठाउँमा योगदान गर्ने सबै पक्षलाई अध्यक्ष वनेमले धन्यवादसमेत दिनुभएको छ ।

यसैगरी, जिल्ला सदरमुकाम अवस्थित फुङ्लिङ नगरपालिकाले पनि चालु आवमा भएको खर्चको अवस्था सार्वजनिक गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम र लेखा अधिकृत दिनेश भण्डारीले संयुक्त प्रेस नोट प्रकाशित गर्दै चालु आवका लागि स्वीकृत बजेट तथा कार्यक्रम सञ्चालनको प्रगति सार्वजनिक गर्नुभएको हो । 

प्रेस नोटअनुसार बुधबार राति १२ बजे सम्ममा कुल ७७.४४ प्रतिशत रकम खर्च अर्थात भुक्तानी भएको उल्लेख गरिएको छ । उक्त खर्च रकममध्ये चालुतर्फ ८६.०२ प्रतिशत र पुँजीगततर्फ ५९.०८ प्रतिशत रहेको छ । बजेट खर्चमा भएको प्रगतिका लागि भूमिका निर्वाह गर्ने जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समिति, निर्माण व्यवसायीलगायत सबै पक्षलाई नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ।