• २७ असार २०८२, शुक्रबार

लक्ष्यभन्दा दोब्बर बढी राजस्व सङ्कलन

blog

हाङ्पाङस्थित आठराई त्रिबेणी गाउँपालिकाको कार्यालय। तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असार २६ गते।  ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले लक्ष्य भन्दा दोब्बर बढी राजस्व रकम सङ्कलन गरेको छ।  गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा लक्ष्य अर्थात् अनुमान गरेको भन्दा दोब्बर बढी आन्तरिक राजस्व रकम सङ्कलन गरेको हो। 

गाउँपालिकाले बिहीबार सार्वजनिक गरेको वित्तीय प्रगति विवरणअनुसार चालु आवका लागि ३५ लाख रुपियाँ आन्तरिक राजस्व सङ्कलन हुने लक्ष्य रहेको थियो।  लक्ष्यभदा दोब्बर बढी अर्थात ७१ लाख ४० हजार ७०१ रुपियाँ राजस्व सङ्कलन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता, लेखापाल नरबहादुर बोहरा र योजना शाखा प्रमुख लीलाराज खड्काले संयुक्तरुपमा सार्वजनिक  गर्नुभएको विवरणमा उल्लेख छ। 

यस्तै वित्तीय प्रगति विवरणअनुसार आठराई त्रिवेणी गाउँपालिकाले चालु आवका लागि स्वीकृत बजेट तथा कार्यक्रम सञ्चालनतर्फ ७६.६५ प्रतिशत खर्च भएको छ।  कुल खर्चमध्ये पुँजीगततर्फ ६५.३ प्रतिशत खर्च भएको छ।  त्यस्तै चालुतर्फ ८४.२ प्रतिशत खर्च भएको प्रगति विवरणमा उल्लेख गरिएको छ।  प्रमुख प्रशासकीय अधिकृत मेहताका अनुसार चालु आवका लागि गाउँपालिकालाई कुल ५१ करोड ५३ लाख ५० हजार रुपियाँ बजेट विनियोजन भएको थियो। 

चालु आवमा गाउँपालिकालाई विनियोजित कुल बजेटमध्ये ५९.९९ प्रतिशत चालु र ४१.०१ प्रतिशत पुँजीगततर्फ रहेको थियो।  यता गाउँपालिकाभित्र रहेका लिम्बुनी पुल–चोकपुर–हाङ्पाङ जोड्ने सडक, १० शøयाको अस्पताल, सोबुवा खोला पुललगायत केही ठूला योजनाको सम्झौता अनुसारको काम सम्पन्न नभएकाले पुँजीगत खर्च अपेक्षाकृत नभएको पनि गाउँपालिकाले जनाएको छ।