• २३ पुस २०८१, मङ्गलबार

बढ्यो पशु चिकित्सक उत्तीर्ण दर

blog

काठमाडौँ, फागुन २८ गते । पशु चिकित्सकको अभाव भइरहेका बेला नेपाल पशु चिकित्सा परिषद्को नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको उत्तीर्ण दर सुखद देखिएको छ । पशु चिकित्सकको १९ औँ परीक्षाको नतिजामा ७९ प्रतिशत परीक्षार्थी उत्तीर्ण हुनुले चिकित्सक अभाव खड्किरहेका बखतमा राहत दिएको हो ।

परिषद्ले प्रत्येक चौमासिकमा लाइसेन्स परीक्षा सञ्चालन गर्दै आएको छ । परिषद्को लाइसेन्स परीक्षा उत्तीर्ण नहुनेले प्रयोगात्मक गर्न पाउँदैनन् । परिषद्ले सोमबार लिएको परीक्षामा ५३ जिल्लाका २१२ सहभागीमध्ये ४९ जिल्लाका १६८ जना उत्तीर्ण भएका छन् । परीक्षामा उत्तीर्णमध्ये ३८ प्रतिशत महिला छन् । सहभागी महिलामध्ये ९२ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षा उत्तीर्ण हुने चिकित्सकलाई मङ्गलबार शपथग्रहण गराइने छ । 

परिषद्ले २०७४ सालदेखि परीक्षा लिएर लाइसेन्स उपलब्ध गराउन थालेपछि नौ सय जनाले सो परीक्षा उत्तीर्ण गरिसकेका छन् । त्यस अघि विश्वविद्यालयमा उत्तीर्ण भएको प्रमाणपत्र पेस गरेका भरमा लाइसेन्स पाउने व्यवस्था थियो । परिषद्का प्रवक्ता डा. मनोजकुमार शाहीले पशु चिकित्सकको परीक्षामा औसतमा ५१ प्रतिशत उत्तीर्ण हुने गरेको जानकारी दिनुभयो । परीक्षामा सहभागीमध्ये नेपाल, बङ्गलादेश र चीनका नौ वटा विश्वविद्यालयमा अध्ययन गरेका सहभागी छन् । नेपालमा चार वटा क्याम्पसमा मात्रै पशु चिकित्साको अध्यापन हुने गरेको छ । 

परिषद्ले परीक्षा सञ्चालन गरेकै दिनमा नतिजा प्रकाशन गर्ने, भोलि पल्ट प्रमाणपत्रको चेकजाँच र पुनर्पुष्टि गर्ने र तेस्रो दिन लाइसेन्सको प्रमाणपत्र दिएर शपथग्रहण गराउने गरेको छ । उहाँले पशुको सम्बन्ध सिधै मानव स्वास्थ्यसँग रहेकाले लाइसेन्स परीक्षामा बढी नै संवेदनशील हुने गरेको दाबी गर्नुभयो । “विश्वमा पशु स्वास्थ्यलाई मानव स्वास्थ्य सरह प्राथमिकतामा राखिने भएकाले लाइसेन्सको परीक्षालाई विशेष महìवका साथमा लिइन्छ,” उहाँले भन्नुभयो । 

नेपालमा तीन हजार १६२ जना पशु चिकित्सकको आवश्यकता रहे पनि हाल एक हजार ९८२ जना उपलब्ध छन् । नेपालमा पशुपन्छीको सङ्ख्या नौ करोड ६२ लाख छ । एक जना चिकित्सकले ४८ हजार पशुको उपचार गर्नुपर्ने अवस्था छ । देशका ७५३ स्थानीय तहमध्ये ६० प्रतिशतभन्दा बढीमा हालसम्म पशु चिकित्सक नै छैनन् ।  राज्यले पशुपन्छी क्षेत्रको व्यवसायीकरण, औद्योगीकरण र आधुनिकीकरण गर्ने विषय नेपालको संविधानमै उल्लेख गरी बर्सेनि ठुलो रकम यस क्षेत्रमा खर्च गर्दै आइरहेको छ तर यसबाट प्राप्त उपलब्धि भने सन्तोषजनक छैन । गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग समयमै रोकथाम र नियन्त्रण गर्न नसक्दा राज्यलाई ७५ अर्ब रुपियाँभन्दा बढी क्षति भएको सरकारी तथ्याङ्क छ । बङ्गुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगले बङ्गुरपालन किसानले भोग्नुपरेको क्षतिको पीडा अकल्पनीय छ । सो सङ्क्रमणका कारणले १५ अर्ब रुपियाँ बराबरको क्षति भएको आकलन गरिएको छ । 

पशु चिकित्सक डा. हरिकृष्ण थापाले पशुसँगको लसपस, दुध, दही, मासुको सेवन र हावाको माध्यमबाट सङ्क्रमणको जोखिम हुने कुरामा ध्यान पुर्‍याउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार विश्वमा हरेक वर्ष देखिने पाँच प्रकारका नयाँ सङ्क्रमणमध्ये तीन वटा सङ्क्रमण पशुबाट मानिसमा सर्ने गरेको बताउनुभयो ।

पशु चिकित्सक डा. मणिप्रसाद सापकोटाले नेपालमा जनावरबाट मानिसमा सर्ने ६९ प्रकारका रोग पत्ता लागेको उल्लेख गर्नुभयो । अन्तर्राष्ट्रिय व्यापारका माध्यमबाट मात्रै ७७ प्रतिशत रोग मानिसलाई सर्ने गरेको पाइएको जानकारी दिनुभयो । काटेको मासुलाई राम्ररी नपकाई खाँदा, दुधलाई उमालेर नखाँदा र हावाको माध्यमबाट समेत रोग सर्ने गरेका छन् ।