• १३ साउन २०८१, आइतबार

कृषकलाई मकैको बिउँ वितरण

blog

अर्जुन काफ्ले

स्याङ्जा, फागुन २३ गते । चापाकोटमा साना किसान कृषि सहकारी संस्थाले किसानहरूलाई मकैको बिउँ वितरण गरेको छ । कृषि ज्ञानकेन्द्र स्याङ्जासँगको समन्वयमा कुवाकोट साना किसान कृषि सहकारी संस्था लिमिटेडले किसानहरूलाई मकैको बिउँ वितरण गरेको हो । 

सहकारीले मनकामना, अरुण २, रामपुर कम्पोजिट जातको बिउँ ७५ प्रतिशत अनुदानमा किसानहरूलाई उपलब्ध गराएको हो । दुई हजार दुई सय जना शेयर सदस्य रहेको सहकारीले उनीहरूको मागको आधारमा मकैको बिउँ उपलब्ध गराइएको संस्थाका अध्यक्ष राजु कोइरालाले जानकारी दिनुभयो । अहिले ६ हजार किलो मकैको बिउँ अनुदानमा वितरण गरिने संस्थाका अध्यक्ष कोइरालाले बताउनुभयो । 

चापाकोट क्षेत्रको उर्वर भूमि र किसानहरूको सक्रियतालाई मध्यनजर गरेर उन्नत बिउँ विजनसँगै बिमाको समेत सहकारीले सहजीकरण गर्दै आएको छ । स्थानीय उत्पादनमा वृद्धिसँगै कृषक उत्थानमा टेवा पुगोस् भनेर विगतका वर्षदेखि काम गर्दै आएको र किसानहरू पनि लाभान्वित हुँदै आएको अध्यक्ष कोइरालाले बताउनुभयो । यसकासाथै समग्र पालिकाभरि गरेर एक हजार छ सय घरधुरी अनुदानको बिउँबाट लाभान्वित हुने अध्यक्ष कोइरालाले उल्लेख गर्नुभयो ।

सहकारी संस्थाले बिउँ विजनका साथै बिमाको समेत सहजीकरण गर्दा किसानहरूलाई धेरै सहज गराएको यहाँका कृषक प्रेमनारायण पङ्गेनी बताउनुहुन्छ ।