• २४ पुस २०८१, बुधबार

घरपेटी-भाडावालाको सधैँ खटपट, चप्पलसमेत गन्छन् घरपेटी

blog

काडमाडौं, फागुन २३ गते । देश सङ्घीय संरचनामा गइसकेपछि सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुगेको भनिएको छ । केन्द्रमा रहेको अधिकार, पूर्वाधार र अवसर अहिले प्रदेश र स्थानीय तह हुँदै जनताले प्राप्त गर्न सक्ने आधार बनेको छ । 

सङ्घीयता कार्यान्वयनपछि हरेक कुरामा काठमाडौं आउनुपर्ने अवस्था नरहने र काठमाडौंको चाप कम हुने आँकलन गरिएर यो व्यवस्था लागू गरिएको थियो । तर व्यवहारमा त्यस्तो हुन नसकेको गुनासो भने छ । देशका विभिन्न स्थानबाट विभिन्न सपना बोकेर काठमाडौं छिर्ने मानिसको सङ्ख्यामा कमी आएको छैन ।  

उपत्यका छिर्नेहरुले भोग्नुपर्ने समस्या पनि अनेक छन् । त्यसमध्ये एक समस्या घर भाडाको हो । सबैभन्दा पहिले कोठाभाडा पाउन नै मुस्किल छ । पाए पनि पर्याप्त सेवा सुविधायुक्त कोठा पाउन समस्या छ । कोठाभाडामा बस्दा घरबेटीले पर्याप्त पानी नदिने, महिना दिन नपुग्दै घरभाडा माग्ने तथा कोही पाहुना आए कचकच गर्ने र राति ढिलो पुगे ढोकामा ताल्चा लगाउनेजस्ता गतिविधिका कारण कोठाभाडामा बस्नेहरु दिक्क हुन्छन् । 

काठमाडौं महानगरभित्र पनि घरबहालसम्बन्धी उजुरी आउने क्रम निरन्तर छ । यो क्रम घट्दो छैन । बरु बढ्दो छ । छिमेकीले खानेपानी ल्याउन असहज गरेको, छिमेकीले जग्गा मिचेर घर बनाएको तथा फोहोर व्यवस्थापन नगरेको जस्ता उजुरी महानगरमा आउनेगरेको बताइन्छ । यस्ता उजुरीमध्ये करिब ७५ प्रतिशत घरबहालसम्बन्धी उजुरी आउने गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताउनुभयो । 

‘घरबहाल कर निर्देशिका २०७९’ लागु गरे पनि घरबहालसम्बन्धी उजुरीहरु आउने क्रम नरोकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “घरबहालसम्बन्धी निर्देशिका लागु गरे पनि घरबहालसम्बन्धी उजुरीहरु न्यायिक समितिसमक्ष आइरहेका छन् । यसलाई न्यायिक समितिले समाधान गर्दै लगेको छ ।’  

कोठा बहालमा बस्नेहरु कोठामा ताल्चा लगाएर भाडा नतिरी महिनौँ बेपत्ता हुने क्रम बढेको भन्दै घरपेटीहरु पनि महानगरमा उजुरी लिएर आउनेगरेको उहाँले बताउनुभयो । यसरी उजुरी आउने क्रमलाई उहाँले सामान्य रुपमा लिनुपर्ने बताउनुहुन्छ  । उहाँले भन्नुभयो, “घरबहालसम्बन्धी निरन्तर उजुरी आउने क्रमलाई सामान्य रुपमा लिनुपर्छ, यसलाई महानगरको न्यायिक समितिले समाधान गर्दैआएको छ ।”

घरपेटीले दुई जोर चप्पल देखे भने किन ल्याएको ? अबदेखि नल्याउ भन्छन् ।

धेरै स्थानबाट पानीको समस्या, घरपेटीको अनावश्यक कचकच, समयमा भाडा नतिर्दा कोठा छाड्न दबाबजस्ता उजुरी धेरै आएको महानगरका प्रवक्ता मानन्धरले बताउनुभयो । संस्थागत र व्यक्तिगत भाडामा दिएका घर दुवैमा घरभाडासम्बन्धी उजुरी आउने गरेको उहाँको भनाइ छ ।  

जुत्ता चप्पल गन्ने घरपेटी  

कृष्ण विश्वकर्मा कुलेश्वरमा कोठाभाडा लिएर बस्न थालेको छ महिना पुग्यो । कुनै दिन कोही साथी आयो भने किन आएको हो, अबदेखि ल्याउने नगर भनेर घरपेटीले झपार्ने गरेको विश्वकर्माको गुनासो छ  । उहाँले भन्नुभयो, “कुलेश्वर कोठाभाडा लिएर बस्न थालेको छ महिना मात्र भयो । घरपेटीले दुई जोर चप्पल देखे भने किन ल्याएको ? अबदेखि नल्याउ भन्छन् । नत्र कोठा नै छाडेर जाउ भन्छन् ।”

सुरुमा एक जना मात्र बस्ने भनेर कोठा भाडामा लिएको तर कुनै दिन साथी आउँदा पनि धेरै निगरानी गरेको उहाँको गुनासो छ ।

मनलाग्दी भाडा  

काठमाडौं उपत्यकाभित्रका घरधनीहरु आफूखुसी घरभाडा तोक्ने गरेका छन् । जसका कारण आर्थिक अवस्था कमजोर भएका विद्यार्थी वा व्यक्तिलाई  समस्या हुनेगरेको छ । काठमाडौं महानगरले घर बहालसम्बन्धी निर्देशिका बनाए पनि अन्य पालिकाले निर्देशिका नबनाउँदा घरबहालमा बस्ने व्यक्ति चर्को शुल्क तिरेर बस्न बाध्य छन् । 

 घरबेटीले आफूखुसी भाडा तोक्ने गरेको कीर्तिपुरमा कोठा भाडा लि बसोबास गरेका दीपक खड्काले बताउनुभयो । ‘कोठा खोज्न धाउँदा कोठा नै नपाउने समस्या छ । कहीँ कतै भेट्दा महिनाको छ हजार हो, बसे बस नबसे नबस भनेर चर्को मूल्य तोक्छन् । हामीजस्तो विद्यार्थी महँगो मूल्य तिरेर कसरी बस्न सक्छौं, उहाँले थप्नु्भयो, ‘यसमा पानी, फोहोर र बिजुलीको पैसासमेत जोड्छन् ।’ सेवा भने पैसा तिरे अनुसार नपाइने उहाँको भनाइ छ ।   

भाडै नतिरी भाग्छन्

काठमाडौंमा घर भाडामा बस्ने केही व्यक्ति घरभाडा नतिरी महिनौँ सम्पर्कविहीन भइदिँदा त्यसको मार अन्य व्यक्तिलाई पर्ने गरेको छ । केही व्यक्ति कोठामा ताल्चा लगाएर महिनौँ घर गएर सम्पर्कविहीन भएर बस्नेगरेकाले अरु नयाँ व्यक्तिलाई पनि त्यही शङ्काले हेर्नेगरेको कीर्तिपुर पाँगाका घरमूली राकेश महर्जनको भनाइ छ ।

कोही कोही त कोठामा ताल्चा लगाउँछन् र घर गएर महिनौँसम्म आउँदैनन् ।

उहाँले भन्नुभयो, “कोही कोही त कोठामा ताल्चा लगाउँछन् र घर गएर महिनौँसम्म आउँदैनन् । न पैसा तिर्न आउँछ न फोन गर्छ । धेरै लामो समय कुर्दा हामीलाई गाह्रो हुन्छ । त्यसैले अरुले पनि त्यस्तो गर्छ कि भन्ने शङ्का हुन्छ ।” महिनौँपछि वडाअध्यक्ष र प्रहरीलाई खबर गरी कोठा फोडेर हेर्दा सिलिन्डर ग्याँसबाहेक व्यक्तिको अरु केही नहुने अवस्था समेत भेटिएको उहाँको भनाइ छ । 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।