काठमाडौँ, कात्तिक १७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकार दिपेन्द्र ढुङगानाले भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित सञ्चारमन्त्रीको कार्यकक्षमा सोमबार भएको भेटमा घाइते पत्रकारहरुको सवाल र मन्त्रालयले गर्ने सहजीकरणका विषयमा छलफल भएको छ ।
नयाँ पत्रिकामा फोटो पत्रकारको रुपमा कार्यरत ढुङ्गाना जेनजी आन्दोलनका क्रममा गत भदौँ २३ गते रिपोर्टिङ गर्दा काठमाडौँको नयाँवानेश्वरस्थित संसद भवन बाहिर गोली लागेर घाइते हुनुभएको थियो ।
प्रदर्शनको क्रममा ढुङ्गानाको घाँटीको दाइनेतर्फ तीनवटा रबरको बुलेट गोली लागेको थियो । उहाँको पाटन अस्पतालमा शल्यक्रिया गरेर रबरको बुलेट निकालिएको थियो ।
उपचारको क्रममा करिब रु ७५ हजार खर्च भएको थियो । पत्रकार ढुङ्गानाले सरकारसमक्ष उपचारको क्रममा खर्च भएको रकम उपलब्ध गराइदिन पहलका लागि सञ्चारमन्त्री समक्ष अनुरोध गर्नुभयो । पत्रकारहरुले प्रयोग गर्ने उपकरण (क्यामेरा, लेन्स, अडिया रेकर्डर) को बिमा अनिवार्य गर्नका लागि पहल गरिदिन पनि उहाँले आग्रह गर्नुभयो ।
सो अवसरमा सञ्चारमन्त्री खरेलले पेशागत व्यावसायिक कर्तव्य निर्बाहका क्रममा घाइते फोटो पत्रकार ढुङ्गानाको उपचार खर्च सरकारको तर्फबाट उपलब्ध गराउन पहल गर्ने बताउनुभयो । साथै उहाँले अन्य घाइते पत्रकारहरुसँग छिट्टै भेट गरी उनीहरुको समस्या समाधानका लागि मन्त्रालयले सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सञ्चारमन्त्री खरेलले फोटो पत्रकारहरुको बिमाका लागि संस्थागत छलफल गरेर मन्त्रालयले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
ढुङ्गानाले पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य जोड्न, मानसिक स्वास्थ्यका लागि नियमित परामर्शका लागि मिडिया हाउसहरुलाई नियमित गराउने, फिल्डमा खट्ने पत्रकारहरुलाई सुरक्षा उपकरण अनिवार्य गराउने तथा प्राकृतिक प्रकोप, आन्दोलनजस्ता जोखिम ठाउहरुमा रिपोर्टिंङ गर्नका लागि अनिवार्य तालिम राख्नु पर्ने माग पनि सञ्चारमन्त्रीसमक्ष पेश गर्नुभयो ।
मागप्रति सकारात्मक जनाउँदै सञ्चारमन्त्री खरेलले उपयुक्त विषयमा आवश्यक छलफल र समन्वय गर्ने बताउनु भयो ।
जेनजी आन्दोलनका क्रममा समाचार, तस्बिर र भिडियो सम्प्रेषण गर्दै गर्दा पत्रकार ढुङ्गानासहित शम्भु दंगाल, उमेश कार्की, श्याम श्रेष्ठ, वर्षा शाह घाइते हुनुभएको थियो ।