करुण अर्याल
लन्डन, फागुन १९ गते । नेपाल र संयुक्त अधिराज्य (बेलायत) बिच सांस्कृतिक तथा शैक्षिक सम्बन्ध विस्तारमा ब्रिटिस काउन्सिलको भूमिका महत्त्वपूर्ण रहेको बताइएको छ ।
ब्रिटिस काउन्सिल नेपाल स्थापना भएको ६५ औँ वर्ष पूरा भएको अवसरमा लन्डनस्थित ब्रिटिस काउन्सिलको मुख्यालयमा गत डिसेम्बर ५ देखि सुरु भएको दर्शनीको समापन समारोहको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले सो कुरा बताउनुभयो ।
ब्रिटिस काउन्सिलले नेपालमा पाठ्यक्रम विकास, शिक्षक तालिम, विद्यालय व्यवस्थापन तथा नेतृत्व विकासलगायतका विषयमा प्रशिक्षण प्रदान गरेको बताउनुभयो । उहाँले ब्रिटिस काउन्सिलको पुस्तकालय तथा काउन्सिलले सञ्चालन गर्ने विभिन्न परीक्षाबाट नेपालका लाखौँ विद्यार्थी तथा शिक्षक लाभान्वित भएको बताउनुभयो ।
उहाँले नेपालको शिक्षा प्रणालीलाई रोजगारसँग जोड्न सरकारले काम गरिरहेको जानकारी दिँदै यस विषयमा बेलायत सरकारको सहयोगको आवश्यकतामाथि जोड दिनुभयो । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाल तथा बेलायतबिचको सम्बन्ध आपसी विश्वास, सहयोग र सहकार्यमा आधारित रहेको बताउनुभयो ।
उहाँले ब्रिटिस काउन्सिलले शिक्षा, अङ्ग्रेजी भाषा तथा साहित्य र सिर्जनात्मक कलाको माध्यमबाट दुई देशबिचको सम्बन्ध बलियो बनाउन महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो ।
भर्जुअल माध्यमबाट जोडिनुभएका नेपालका लागि ब्रिटिस राजदूत रव फेनले ब्रिटिस काउन्सिलले दुई देशबिचको ऐतिहासिक सम्बन्ध थप मजबुत गर्न शिक्षा र सांस्कृतिक आदान प्रदानमार्फत महत्त्वपूर्ण योगदान दिइरहेको बताउनुभयो ।
उहाँले अन्तर्देशीय शिक्षा ब्रिटिस सरकारको प्राथमिकतामा रहेको भन्दै हाल नेपालका १८ भन्दा बढी विश्वविद्यालय तथा शैक्षिक संस्थाले ब्रिटिस विश्वविद्यालयबाट मान्यता प्राप्त पाठ्यक्रमहरू नेपालमा अध्यापन भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा बेलायती परराष्ट्र मन्त्रालयका निर्देशक बेन मेलर, बेलायतको व्यवसाय तथा व्यापार मन्त्रालयको अन्तर्राष्ट्रिय शिक्षा विभागकी प्रमुख कृष्णा जोशी, लिड्स विश्वविद्यालयमा अध्ययनरत चेभनिंग स्कलर विनीता पौडेल तथा ब्रिटिस काउन्सिलको नेपाल कार्यालयकी निर्देशक शाहिदा म्याकडुगल लगायतकाले नेपाल तथा बेलायतको सम्बन्धबारे धारणा राख्नुभएको थियो ।
.jpg) 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                