• १३ कात्तिक २०८२, बिहिबार

रिलायन्स स्पिनिङ मिल्स खुल्न अनिश्चित

मजदुर भन्छन् : सडकमै पुग्ने भयौं

blog

विराटनगर समाचारदाता

विराटनगर, कात्तिक १३ गते । नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन काटेपछि नौ दिनदेखि बन्द रहेको सुनसरीको रिलायन्स स्पिनिङ मिल्स खुल्ने निश्चित छैन । त्यस कारण त्यहाँ कार्यरत हजारौँ मजदुर सडकमा पुग्न लागेका छन् । 

प्राधिकरणले उद्योगको लाइन काटिदिएपछि देशकै ठुलो धागो उद्योगमा कार्यरत झन्डै चार हजार मजदुर मारमा परेका छन् । त्यसमा पनि ज्यालादारी तथा करार सेवाका कामदारले रोजगारी गुमाउनुपर्ने अवस्था छ । 

दसैँतिहार मनाएर काममा फर्किएका मजदुर उद्योग बन्द हुँदा निराश बनेका छन् । जेनेरेटर र सोलारबाट जेनतेन दुई वटा प्लान्टमा केही मजदुरले काम पाए पनि त्यो कहिलेसम्म हो भन्ने निश्चित छैन । उद्योग परिसरमा भेटिनुभएकी गीता सापकोटाले उद्योग कहिले खुल्छ थाहा नभएको गुनासो गर्नुभयो । 

अर्का मजदुर डिल्लीराम कोइरालाले देशभरका मजदुर काम गर्ने ठुला उद्योगलाई बिनाकारण यसरी पटक पटक बन्द गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ मेचीदेखि महाकालीसम्मका ७७ वटै जिल्लाका गरिबले काम गर्छन् । अब उनीहरूले के गर्ने ?” उहाँले सरकारले मजदुरलाई अलपत्र पार्न नहुने र उद्योग चल्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । 

उद्योग र सरकारबिचको विवादको चेपुवामा आफूहरू परेको मजदुरहरूको गुनासो छ । ‘यो त साँढेको जुधाइ बाछाको मिचाइ भयो,’ उद्योगका मजदुर उमेशचन्द्र आचार्यले भन्नुभयो, “हामी मजदुरसँग अब धेरै विकल्प छैन । कि थाल लिएर सडकमा बस्नुप¥यो, कि आन्दोलन गर्नुप¥यो ।” 

उहाँले उद्योग बन्द गर्ने होइन सरकार जिम्मेवार बनेर उद्योग चलाएरै समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो ।  

उद्योगका व्यवस्थापक महेश पोखरेलका अनुसार, प्राधिकरणले लाइन काटेपछि उत्पादन पूर्ण रूपमा ठप्प छ । उद्योगभित्रको आवासमा बस्ने करिब एक हजार पाँच सय मजदुरको दैनिकी चलाउन र केही स्थायी कर्मचारीलाई काम दिन मात्रै जेनेरेटर र सोलारको बिजुलीबाट दुई वटा प्लान्ट आंशिक रूपमा चलाइएको छ । त्यसबाट उत्पादन क्षमताको करिब तीन प्रतिशत जति मात्र उत्पादन भइरहेको छ ।

रिलायन्स स्पिनिङ मिल्सले सामान्य अवस्थामा दैनिक ३० मेट्रिक टन धागो उत्पादन गर्दै आएको छ । गत आर्थिक वर्षमा उद्योगले करिब ११ अर्ब रुपियाँ बराबरको धागो निर्यात गरेको थियो भने करिब तीन अर्बको धागो आन्तरिक बजारमा बिक्री गरेको पोखरेलले जानकारी दिनुभयो ।