तराईलाई औलोले त्यतिबेला गाँजेको थियो । जङ्गलै जङ्गलले ढाकिएको तराईमा वन्यजन्तुको बिगबिगी नै थियो । चुरेका फेदी र तराईतिर पुस्तौँदेखि बसोबास गर्दै आएका आदिवासी जनजातिले मात्रै तराईमा सब खालका त्राही पचाएका थिए ।
२००७ सालको क्रान्तिले जहानिया राणा शासनको अन्त्य भयो । तथापि परिवर्तनले मुलुकमा राजनीतिक स्थिरता दिन सकेन । जननिर्वाचित सरकारलाई राजा महेन्द्रले २०१७ सालमा अपदस्थ गरिदिए । २००७ सालको क्रान्तिमा होमिएका भूपू सैनिक राजनीतिक रूपमा तितरबितर बन्न पुगे ।
भूमिसुधार ऐन, २०२१ लागु भएसँगै सुदूरपूर्वमा लिम्बूहरूको राजनीतिक स्वामित्वको भूमि अधिकार किपट खारेजीमा प¥यो । पञ्चायतविरुद्ध भूपू सैनिक नलागून् र किपट खारेजीविरुद्ध जनमत नभड्कियोस् भनेर तत्कालीन शासन व्यवस्थाले मधेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा जग्गा आवादका लागि ‘झोडा’ खुलायो । त्यसपछि पूर्वी पहाडका मानिस झोडा फाँड्न मधेश झरे । तथापि राज्यको भूमि नीति, कूटनीतिक योजना र तत्कालीन शासन व्यवस्थाका रबैयाले भूमिको स्वामित्व पाउन त्यति सजिलो भएन । राजा महेन्द्रको सरकारले २०२८÷२९ सालसम्म प्रतिपरिवार तीन बिघा जग्गा दिएर बस्ती बसाएको पाइन्छ । तत्कालीन सरकारले भारतको आसाम, मणिपुर, मेघालयलगायतका क्षेत्रबाट लखेटिएका नेपालीलाई जमिन मात्र दिएन, जमिन जोत्ने हल गोरु, गाई, खाने बस्ने व्यवस्थासमेत गरेको थियो । राजा महेन्द्रले पहाड र प्रवासबाट आएका नेपालीलाई सीमा क्षेत्र र झोडा क्षेत्रमा बसोबास गराउने नीति नै बनाएका थिए ।
राजमार्ग उत्तर जङ्गल लगाउने महेन्द्रको नीति अनुसार उत्तरका नागरिकलाई दक्षिणमा स्थानान्तरण गरिएको थियो । तथापि पञ्चायत इतर समूह, नागरिकलाई झोडा फाँड्नु त्यति सहज थिएन । राज्यका निकायले अनेक हैरानी दिइरहन्थ्यो । वन फँडानी गरेको आरोपमा पक्राउ गथ्र्यो । कुटपिट र हात्ती लगेर टहरा भत्काइदिन्थ्यो ।
दोस्रो विश्वयुद्ध लडेर फर्केका सैनिकलाई सरकारले झोडा फाँड्न दिने भनेर तराई लगियो । सोझो र लडाकु जातिका रूपमा रहेका उनीहरूलाई राजनीतिक परिबन्दमा फसाइयो । आखिर झोडा फाँडेर बस्ती बसाएका आदिवासी जनजातिलाई सुकुमवासी बनाइयो । कथाको यही चुरोभित्र घुमेको नाटक हो, झोडा । इलामको चुलाचुली रङ्गमञ्चका कलाकारले पाँच दशकअघिको झोडाको कथा टिपेर काठमाडौँको शिल्पी थियटरमा मञ्चन गरिरहेका छन् ।
नाटकको मूलकथा गणेश रसिकको उपन्यास ‘आकाशगङ्गाको ओतमुनि’ मा आधारित छ । उपन्यासलाई नाट्य रूपान्तरणको कार्य सुमन लिङ्देनले गर्नुभएको छ । झोडाका निर्देशक चेतन आङ्थुपोले भन्नुभयो, “झोडा आवादको त्यही सङ्क्रमणकालीन समय र सङ्घर्ष २०२० देखि २०३४ सालबिचको समय नै नाटकको केन्द्रीय विषय हो ।”
इतिहास केलाउँदा र विश्लेषण गर्दा झोडा फाँड्न लगाउने र बस्ती बसाउने कार्य राजनीतिक भएको निष्कर्ष निर्देशक आङ्थुपोको छ । उहाँ भन्नुहुन्छ, “खोज्दै जाँदा बसोबास विस्तारको रहस्य त पहाडमा लिम्बूहरूको किपट प्रथा र तराईमा आदिवासीको आवादी जमिन सिध्याउने राजनीति पो रहेछ । यो नाटक झोडा कालखण्डको सारांश मात्र हो । बाँकी यहाँहरूले खोज्ने, बुझ्ने हो ।”
उपन्यास ‘आकाशगङ्गाको ओतमुनि’ का लेखक गणेश रसिकका अनुसार व्यवस्थाहरू परिवर्तन भए, सरकार परिवर्तन भए तर झोडाको समस्या जस्ताको त्यस्तै छ । उहाँले भन्नुभयो, “आजभन्दा करिब ५० वर्षपहिलेको झोडावासीको भोगाइलाई समेटेर जुन नाटक मञ्चन भइरहेको छ, मेरा लागि अत्यन्तै गौरवमय अवसर हो ।”
पूर्वी मधेशमा बसोबास गर्ने धिमाल र कुमाल जातिले जङ्गललाई झार भन्छन् । धिमाल भाषामा दुई खोलाबिच फैलिएको जङ्गलको भूभागलाई झोरा भन्छन् । त्यही झोरा शब्दको अपभ्रंश रूप नै झोडा हो । झोडा फँडानी र त्यसमा राजनीतिक अधिकार स्थापित गर्ने मूल विषयलाई ‘झोडा’ नाटकले उठाएको छ । नाटकको कथा, पात्र र परिवेशलाई पूर्वेली कलाकारले मनग्गे मेहनत र न्याय गरेको पाइन्छ । इलाम जिल्लाको चुलाचुली गाउँपालिकामा रहेर रङ्गमञ्चीय कर्ममा सक्रिय नाट्य संस्था चुलाचुलीले राजधानीवासीलाई नाटकको फरक स्वाद चखाइरहेको छ । इतिहासको एउटा पाटोका रूपमा अनि वर्तमानको समस्या र आन्दोलनका रूपमा सत्ता र सरकारलाई समेत रङ्गकर्ममार्फत प्रश्न तेस्र्याइरहेको छ ।
नयाँ पाइला नाट्य समूहका रूपमा २०६५ सालबाट नाट्य गतिविधि गर्दै आएको सो संस्थाले २०७० सालबाट चुलाचुली नाट्य समूहको नाम पाएको हो । गाउँमा रङ्गकर्म क्षेत्रको आधार बनाउँदै राजधानीमा आइपुगेको सो समूहले नाटकमा ग्रामीण परिवेश, वेशभूषा, भाषा, शैली र लवजको स्वादिलो संयोजन गरेको पाइन्छ । बालकलाकार प्रिन्स तामाङको अभिनयले त सबैलाई तानेको नै छ ।
आर्थिक सङ्कटको यस्तो बेलामा पनि नाटकमा लगानी गर्न तम्सने निर्माता सुरेश माङपाहाङ राईलाई सत्कार्यमा धन्यवाद नभनिरहन सकिन्न । उहाँ भन्नुहुन्छ, “२०३६ सालतिर म पनि कला क्षेत्रमै होमिएको थिएँ, जनवादी गायक बनेर । त्यही कला र सङ्गीतको मोहले झोडाको निर्माता बनायो । नाटक झोडाले मेरै कथा भने जस्तो लाग्छ । मेरै जीवन बोके जस्तो लाग्छ । त्यसैले पनि म यस नाटकको निर्माता बनेँ ।”
इलामबाट ४० जना जतिको कलाकार समूह लिएर राजधानीमा नाटक देखाउनु चानचुने आँट पनि होइन । फागुन २२ गतेसम्म मञ्चन हुने नाटकको खर्च व्यवस्थापन त्यति सहज पनि छैन । तथापि कलाकारको नाटक कर्मप्रतिको समर्पणले नै यो सम्भव भएको कलाकर्मी तथा निर्देशक प्रवीण पुमा राई बताउनुहुन्छ । नाटकले पहाडी लिम्बू र तराईका धिमाल, कुमाल संस्कृति एवं जनजीवनलाई टपक्कै टिपेको छ । नाटकघरभित्र छिरेपछि झोडाको कथाले करिब डेढ घण्टा समय बितेको पत्तै हुँदैन । कलाकारको प्रत्यक्ष गायन, सङ्गीत, ध्वनि प्रभावले नाटकलाई जीवन्त बनाएको छ ।
नाटकमा बालकृष्ण राईको सङ्गीत निर्देशन रहेको छ । सेटको डिजाइन र निर्माणमा मानाङ लावती र मनिक शङ्करले राम्रो मेहनत गर्नुभएको छ । झोडाका मुख्य कलाकारमा मनकुमार योङहाङ, रमिला राई, उदय वेघा, बेन्वो सन्तोष, मनिष मगर, बबिना राई, मीना नेम्वाङ, विपिसा राई, मनिक शङ्कर, युगल लिम्बू, दीपक खरेल, प्रविन भण्डारी र चेतना आचार्य हुनुहुन्छ । अन्त्यमा झोडाको सङ्घर्षको कथाव्यथालाई मञ्चमा सर्लक्कै उतार्ने प्रयास प्रशंसनीय रहे पनि नाटकमा केही कमजोरी पनि छन् । नाटकका दृश्यमा वास्तविकता दिन खोज्दा तालमेल नमिलेको कतिपय अवस्था पनि छ । दृश्यलाई जोड्न सूत्रधारले प्रस्तुत गरेका कवितात्मक भावलाई कतिपय अवस्थामा दर्शकले बुझ्न कठिन पर्ने अवस्था पनि छ । यद्यपि नेपाली समाज विकासको एउटा समयको कथालाई आधा शताब्दीपछि रङ्गमञ्चमा प्रस्तुत गर्ने उत्साह अनि जमर्कोलाई भन्नै पर्छ, क्या काइदाको काम ।