• ६ वैशाख २०८१, बिहिबार

भक्तराजको स्वरमा शास्त्रीयताको अनुपम जादू थियो : राष्ट्रपति

blog

स्वर्गीय भक्तराज आचार्यको शोकाकुल परिवारलाई राष्ट्रपति पौडेलको समवेदना सन्देश हस्तान्तरण गरिँदै ।

गोरखापत्र अनलाइन 

काठमाडौँ, फागुन १८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले भजन शिरोमणि वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको स्वरमा रहेको गाम्भीर्य, मिठास तथा शास्त्रीयताको जादू अद्भुत तथा अनुपम भएको बताउनुभएको छ । 

राष्ट्रपति पौडेलले स्वर्गीय आचार्यको शोकाकुल परिवारलाई शुक्रबार समवेदना सन्देश पठाउँदै भन्नुभएको छ, “भजनशिरोमणिको उपाधि पाउनुभएका भक्तराज नेपाली गीतसङ्गीतको आकाशमा बिर्सनै नसक्ने नाम हो, जसको स्वरको गाम्भीर्य, मिठास तथा शास्त्रीयताको जादू अद्भुत तथा अनुपम थियो ।” 

“शास्त्रीय सङ्गीतको तत्त्वलाई आधुनिक गीत सङ्गीतमा मिश्रण गर्ने भक्तराजजीको क्षमताले यो क्षेत्रमा उहाँको बेग्लै पहिचान बनेको छ । कैयौँ भजन, देशभक्ति, आधुनिक र बाल गीतमा स्वर तथा सङ्गीत दिएर नेपाली गीतसङ्गीतलाई विशिष्ट उचाइमा पुगाउन उहाँले गर्नुभएको योगदान अतुलनीय छ” समवेदना सन्देशमा उल्लेख छ । 

जति चोट दिन्छौ देऊ मायालु, मुटु जलिरहेछ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको माया, लगायत कालजयी र कर्णप्रिय गीतले गीत सङ्गीतप्रेमीमाझ मात्र हैन, नेपालीको मनमस्तिष्कमा उहाँलाई जीवन्त राखिरहने उल्लेख गर्दै राष्ट्रपति पौडेलले सन्देशमा आचार्यको निधनले नेपाली गीत सङ्गीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ । राष्ट्रपतिको समवेदना सन्देश उहाँकी सुपुत्री अवज्ञा पौडेल र प्रेस सल्लाहकार किरण पोखरेलले आचार्यका परिवारजनलाई प्रदान गर्नुभयो ।