• २० वैशाख २०८१, बिहिबार

दक्षिण कोरियाको आकर्षण

blog

केही वर्षयता स्वदेशमा न्यून अवसरका कारण वैदेशिक रोजगारी अपरिहार्य जस्तै बन्दै गएको छ । मुलुकभित्रका उद्योग, कलकारखाना एकपछि अर्को गर्दै बन्द भएका कारण पनि रोजगारीका लागि बिदेसिनु बाध्यताको उपज बनेको छ । विदेशी भूमिमा पसिना बगाएर परिवारको पालनपोषण गर्नकै लागि दैनिक दुई हजार पाँच सयभन्दा बढी युवा जनशक्ति विभिन्न मुलुकतर्फ गइरहेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ । यसरी श्रम स्वीकृति लिएर विभिन्न मुलुकमा पुगेका नेपाली युवाको सङ्ख्या करिब ४५ लाख भएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउनु मुलुकबाट युवा जनशक्ति पलायनकोे कहालीलाग्दो चित्रणसमेत हो । यद्यपि कतिपय मुलुकमा नेपाली श्रमिकले सुरक्षित श्रम र राम्रो आम्दानी गरिरहेका पनि छन् । त्यस्ता मुलुकमा जान ठुलो सङ्ख्यामा लालायित देखिए पनि निर्धारित कोटाभित्र रहेर आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र लैजाने भएकाले इच्छुक सबैले जान नपाएको अवस्था छ । दक्षिण कोरिया नेपाली श्रमिकका लागि केही वर्षयता त्यस्तै आकर्षणको केन्द्र बन्दै छ ।

दक्षिण कोरियाले केही समययता नेपाली श्रमिकलाई पहिलो प्राथमिकतामा राखेर रोजगार अनुमति प्रणाली (इपिएस) लागु गरेका कारण आवेदन दिने नेपालीको सङ्ख्या बर्सेनि बढ्दो छ । सन् २०२४ मा उत्पादनमूलक क्षेत्रतर्फ १५ हजार ८४८ जनाको माग आएकोमा एक लाख ६५ हजारभन्दा बढीको आवेदन पर्नुले यो मुलुकप्रति नेपाली श्रमिकको आकर्षण वृद्धिलाई पुष्टि गर्छ । केही समयअघि आवेदन दिनकै लागि बालकुमारीको इपिएस कार्यालयअगाडि जम्मा भएको भिडमा अप्रिय घटना हुँदा दुई युवकको ज्यानै गयो । 

दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले सन् २००८ देखि इपिएस प्रणालीमार्फत नेपाली श्रमिक लान थालेको तथ्याङ्क छ । कृषि तथा पशुपालन, उत्पादन, निर्माण र सेवा क्षेत्रमा नेपाली श्रमिक लैजाँदै आएकोमा अब भने पानीजहाज निर्माण कम्पनीका निम्ति पनि श्रम स्वीकृति दिएकाले थप कोटा वृद्धि भएको हो । इपिएस प्रणालीमार्फत १६ देशबाट श्रमिक लैजाने गरेको दक्षिण कोरियाले सबैभन्दा धेरै श्रमिक नेपालबाटै छनोट गरिरहेको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत इपिएस कोरिया शाखाले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७९/८० मा इपिएस भाषा परीक्षा उत्तीर्ण गरेर नेपालबाट २२ हजार श्रमिक कोरिया पुगेका थिए । चालु आव २०८०/८१ पहिलो सात महिनामा लगभग नौ हजार नेपाली दक्षिण कोरिया पुगेका छन् । डेढ दशकको अवधिमा एक लाख पाँच हजार ९७३ नेपाली श्रमिक दक्षिण कोरियामा रोजगारीका लागि पुगे । महिलाका लागि पनि सुरक्षित मुलुक भएकाले महिला श्रमिकको पनि कोरिया पछिल्लो समयमा आकर्षक गन्तव्य मुलुक बन्दै छ । 

दक्षिण कोरियामा अन्य मुलुकको तुलनामा आकर्षक सेवासुविधा र दुई देशका सरकारबिच सम्झौता भएकाले सुरक्षित तथा विश्वासिलो भएको स्वयम् श्रमिकको भनाइले पुष्टि हुन्छ । अहिलेको तलबमान अनुसार कोरियामा नेपाली श्रमिकले मासिक तीन लाख ५० हजारदेखि पाँच लाख रुपियाँ सम्म पारिश्रमिक पाउँदै आएका छन् । सुरक्षित गन्तव्य, कामको सुनिश्चितता, श्रमिक र रोजगारदाताको कार्य सम्झौता, काम गर्न पाउने अवधि चार वर्ष १० महिनाको पहिले नै सुनिश्चित हुनुले श्रमिकको हक र आय सुरक्षित भएको इपिएस शाखाकोे बुझाइ छ । कोरियामा सम्झौता अवधिभर बसेर फर्किएको श्रमिकले सिकेर आएको सिपका माध्यमबाट स्वदेशमै आत्मनिर्भर बन्न सक्ने आधार देखिन आउँछ । दुर्घटनामा परेका श्रमिकलाई बिमाबापतको क्षतिपूर्ति र कार्यस्थलमा मृत्युवरण गरेका श्रमिकका परिवारलाई आर्थिक सहायता दिने नीतिका कारण पनि थप सुरक्षित मानिएको हो । पछिल्लो समयमा आएर श्रमिकले करार अवधिमा कम्तीमा एक पटक परिवारलाई लैजान सक्ने सहमतिसमेत हुनुले श्रमिकका परिवारप्रति समेत कोरिया सरकार निकै उदार देखिएको पुष्टि हुन्छ ।

त्यसो त कोरियाली भाषा परीक्षा उत्तीर्ण भएका सबैलाई लैजाने सुनिश्चित भने हुँदैन । रोजगारदाताको छनोटमा नपरेकालाई भाषा परीक्षामा सफल भए पनि कोरिया जानबाट वञ्चित गरेका उदाहरण छन् । यतिबेला करिब ५० हजार नेपाली कामदार कोरियामा कार्यरत रहेका इपिएस शाखाको तथ्याङ्कमा उल्लेख हुनुले यस्तै प्रकारको रोजगारदाता मुलुकको खोजीतर्फ लाग्नु आवश्यक देखिन्छ । मुलुकको अर्थतन्त्रको मुख्य आधार नै विप्रेषण आप्रवाह भएको र स्वदेशमा रोजगारी वृद्धि तत्काल भइहाल्ने अवस्था नहुँदा सुरक्षित र आकर्षक सेवासुविधा उपलब्ध गराउने दक्षिण कोरिया जस्तै मुलुकको खोजी गर्नु वाञ्छनीय हुन आउँछ ।