उत्पादनका साधनमध्ये श्रम महत्वपूर्ण साधन हो । अर्थशास्त्रले श्रमसँगै भूमि, पुँजी र उद्यमशीलतालाई समेत उत्पादनका साधनमा राखेको छ । यी चार वटै साधनबिना कुनै पनि समृद्ध अर्थतन्त्र बन्न सक्दैन । वस्तु तथा सेवाको उत्पादनका निम्ति यी चार वटै साधनको सन्तुलन मिल्नु पर्छ । तीमध्ये पनि मानवको सिप, क्षमता, दक्षताले उत्पादन बढोत्तरीमा ठुलो सहयोग गरिरहेको हुन्छ । शारीरिक र मानसिक रूपमा श्रमलाई हेर्न सकिन्छ तर यी दुवैलाई एकअर्कामा अलग्गै गरेर हेर्न मिल्दैन । कतिपय शारीरिक श्रमका निम्ति पनि सिप, क्षमता र दक्षता आवश्यक पर्छ । कतिपय बौद्धिक कार्यका निम्ति पनि असल स्वास्थ्य आवश्यक पर्छ । शारीरिक स्वास्थ्यले मानसिक कार्यसम्पादनका निम्ति ठुलो सहयोग गरिरहेको हुन्छ । अहिले शारीरिक तथा मानसिक दुवै श्रमका निम्ति प्रविधिमैत्री सिप, अनुभव र दक्षता हुनु आवश्यक हुन्छ । प्रविधिले व्यक्तिको शारीरिक तथा मानसिक कार्यसम्पादनको उत्पादकत्व बढाउन सक्छ । त्यसैले श्रमलाई अहिले केवल श्रम मात्र नभनी मानव पुँजीका रूपमा हेर्ने गरिन्छ । उत्पादकत्व बढी भएका श्रमिकले कुनै पनि वस्तु तथा सेवाको उत्पादनमा धेरै योगदान दिन सक्छन् । त्यसनिम्ति सम्बद्ध कामका निम्ति सिप, क्षमता र दक्षता आवश्यक पर्छ । श्रमको उचित मूल्य, कार्यवातावरण आदिले समेत उत्पादकत्व वृद्धिमा सकारात्मक योगदान दिइरहेको हुन्छ तर धेरै जसो मुलुकमा श्रमको उचित मूल्य नपाएको गुनासो व्यापक पाइने गरेको छ । नेपाल पनि यो समस्याबाट मुक्त छैन ।
नेपालबाट अहिले पनि दैनिक दुई/तिन हजार युवा वैदेशिक रोजगारीमा गइरहेका छन् । बाहिर गइरहेका धेरै युवाले नेपालमा काम पाए पनि उचित पारिश्रमिक नपाइने समस्या बताउने गरेका छन् । बजारमूल्य निरन्तर बढिरहन्छ तर त्यस अनुसार नेपालमा ज्यालादर वृद्धि भने हुन सकिरहेको छैन । अर्थतन्त्र राम्ररी नफस्टाउँदा पनि बढी रोजगारी सिर्जना हुन नसकेको देखिएको छ । कोभिड–१९ को विश्वव्यापी प्रभावले नेपालको उद्यम व्यवसायमा पनि प्रतिकूल असर देखियो । त्यसपछि केही उँभो लाग्न थालेको अर्थतन्त्रलाई रुस र युक्रेनबिचको युद्धले इन्धनको भाउ उच्च हुँदा प्रतिकूल प्रभाव पारेको छ । यस्ता कतिपय कारणले पनि नेपाली अर्थतन्त्र राम्रो हुन सकेको छैन । अर्थतन्त्र राम्रो हुन नसक्नुमा उद्यमी व्यवसायीले मानव संसाधनलाई बेवास्ता गर्नु पनि कारण हो भन्ने कतिपय विश्लेषकको भनाइ छ । यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताउनुभएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा मङ्गलबार आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नर्सहरूले पनि न्यूनतम तलबसमेत नपाएको जानकारीमा आएको बताउनुभयो । नेपालका धेरै क्षेत्रमा न्यूनतमभन्दा पनि अति न्यून पारिश्रमिक दिएर श्रम शोषण गर्ने प्रवृत्ति लामै समयदेखि कायम छ ।
श्रमको शोषण हुँदासम्म कुनै पनि अर्थतन्त्रले गति लिन सक्दैन । नेपालका कतिपय उद्यमी व्यवसायी हेर्दाहेर्दै उच्च जीवनशैलीमा पुग्छन् । उच्च जीवनशैलीमा पुग्नु नराम्रो होइन । उनीहरूको मेहनत र उद्यमले उच्च जीवनशैलीमा पुग्नु स्वाभाविक हो तर उनीहरूको उद्यम व्यवसायमा काम गर्ने कर्मचारी तथा श्रमिकले भने अति न्यून पारिश्रमिक नपाउने मात्र होइन, समयमै पारिश्रमिक नपाउने अनेकौँ घटनासमेत छन् । पत्रकारिता क्षेत्रमा यो समस्या व्यापक छ । श्रमजीवी पत्रकारले न्यूनतम पारिश्रमक पनि नपाउने तर मिडिया मालिक हेर्दाहेर्दै उच्च शैलीको धनदौलतले परिपूर्ण हुने अनेक घटना छन् । प्रधानमन्त्रीले भन्नुभए झैँ स्वास्थ्य क्षेत्रमा श्रम शोषण व्यापक रहेको गुनासो पहिल्यैदेखि छ र त्यसलाई अब सुधार गर्दै लैजानु पर्छ । बैङ्क तथा वित्तीय क्षेत्र जस्ता औपचारिक क्षेत्रमा समेत न्यून पारिश्रमिकमा बढी काम लगाउने प्रवृत्तिले जागिरै छोडेर बिदेसिनेको सङ्ख्या बढेको समाचारमा आइरहेको देखिएको छ । श्रमिकको मन प्रसन्न नभई उद्योग/व्यवसायका काम सहज रूपमा अगाडि बढ्न नसक्ने स्वाभाविक नै छ । आजको श्रमिक कार्यवातावरण पाए भोलि रोजगारदाता पनि बन्न सक्छन् । अन्तर्राष्ट्रिय मान्यता अनुसार संवादको माध्यमबाट सरकार, रोजगारदाता र श्रमिक तीन पक्षको हितमै अर्थतन्त्रको भविष्य छ; अन्यथा नेपालले दक्ष जनशक्ति नपाइने अवस्थाको सामना गर्नुपर्ने छ । समयानुकूल पारिश्रमिक र सुविधा बढाउन नसक्दा नेपाली श्रम बिस्तारै पलायनको बाटोमा गइरहेको छ । औपचारिक क्षेत्रसँगै अनौपचारिक क्षेत्रमा पनि श्रमको उच्च सम्मानसँगै उचित पारिश्रमिक वाञ्छनीय छ ।