• १४ पुस २०८२, सोमबार

विकासमा योगदान गर्नेलाई सम्मान

blog

बेनी नगरपालिकाद्वारा सम्मानित व्यक्तिहरु । तस्बिरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, पुस १४ गते । म्याग्दीको बेनी नगरपालिकाले नगरको विकासका लागि उत्कृष्ट योगदान गर्ने कर्मचारी, नागरिक र संस्थालाई सम्मान गरेको छ । 

सोमबार बेनीमा सम्पन्न भएको १८ औं नगरसभामा विभिन्न क्षेत्रका गरेर नौं जनालाई सम्मान गरिएको हो । उत्कृष्ट कर्मचारी, उपभोक्ता समिति, टोल विकास संस्था, निर्माण व्यवसायी र सबैभन्दा धेरै कर तिर्नेलाई सम्मान गरिएको नगरप्रमुख सुरत केसीले बताउनुभयो ।

सभामा नगरप्रमुख केसी, उपप्रमुख ज्याति लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले कदरपत्र प्रदान र दोसल्ला ओढाएर सम्मान तथा पुरस्कृत गर्नुभएको हो । गत आर्थिक वर्षमा तीनवटा योजनाको ठेक्का लिएर निर्धारित समयमै काम सम्पन्न गरेको एसएस बिल्डर्सका सञ्चालक नवराज बरुवाल, पात्लेखेतको छरटोलदेखि साविले गोरेटे उपभोक्ता समितिका अध्यक्ष जिवन राम्जाली, सिंगा तल्लो तातोपानी टोल विकास संस्थाका उपाध्यक्ष सिता घले बुढा र सबैभन्दा बढी कर तिर्ने वडा ८ की मिठुकुमारी श्रेष्ठलाई सम्मान गरिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । 

यसैगरी अधिकृतस्तरको कर्मचारीतर्फ जनस्वास्थ्य अधिकृत चन्दन सुवेदी, स्वास्थ्यकर्मीतर्फ रत्नेचौर स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक होमनाथ गौतम, वडा कार्यालयमा कार्यरत कर्मचारीतर्फ वडा ८ का सचिव रमेश पौडेल, सहायक स्तरको कर्मचारीमा अल्पकालीन सेवा केन्द्रका प्रमुख साधना केसी र कार्यालय सहयोगीमध्येबाट लक्ष्मण क्षेत्रीलाई सम्मान गरिएको हो । 

उत्कृष्ट करदाता श्रेष्ठले गत आर्थिक वर्षमा नगरपालिकालाई सबैभन्दा बढी ६८ हजार रुपियाँ राजस्व तिर्नुभएकाले सम्मान गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो ।