• २६ फागुन २०८१, सोमबार

बहिरा क्याम्पसको व्यथा

blog

समाज सबै एक खालको हुँदैन । विविधता नै समाजको मूल चरित्र हो । शिक्षा आर्जनको सन्दर्भमा अझ विविधता पाइन्छ । प्रत्येक व्यक्तिमा अन्तरनिहित शक्तिलाई बाहिर ल्याउन सक्नु शिक्षाको मूल लक्ष्य हो । हरेक व्यक्तिको अन्तरनिहित चरित्र एकैखालको हुँदैन, विविधता हुन्छ । कतिपय परम्परागत शिक्षा प्रणालीले सबैलाई एकैखालको शिक्षा प्रदान गर्छ । त्यसमा विद्यार्थीको रुचि, चाहना, शारीरिक तथा मानसिक अवस्था विचार गरिएको हुँदैन । व्यक्तिको समग्र अवस्था र विविधता विचार नगरी एकैखालको शिक्षा प्रदान गरिनु कतिपय अवस्थामा त साधन र स्रोतको दुरुपयोगसमेत हुन जान्छ । यसबाट शिक्षाको लक्ष्य पूरा हुन सक्दैन । अझ अपाङ्गता भएका विद्यार्थीमा त अरू समान शिक्षा प्रदान गर्न सम्भव हुँदैन । अपाङ्गता भएका बालबालिकामा फरक क्षमता हुन्छ । त्यो फरक क्षमतालाई सम्बोधन गर्ने गरी शिक्षा प्रदान गर्नुपर्ने वातावरण तयार गर्नु पर्छ । त्यसरी शिक्षा प्रदान गर्न भौतिक पूर्वाधारसमेत सोही अनुरूप व्यवस्थापन गर्नुपर्ने हुन्छ । फरक क्षमता भएका विद्यार्थीका निम्ति विश्वभर नै विविध खालको शिक्षा दिने अभ्यास अगाडि बढिरहेको पाइन्छ । नेपालमा पनि यस्तो अभ्यासले सामान्य प्राथमिकता नपाएको होइन तर कतिपय कामका थालनी राम्रो हुन्छ तर त्यसमा निरन्तरता कठिन हुन्छ । बहिरा विद्यार्थीका निम्ति खुलेको उच्च शिक्षा प्रदान गर्ने एउटा संस्था अहिले यस्तै व्यथा बोक्न बाध्य भएको छ ।

राजधानी काठमाडौँको नक्सालमा बहिरा अर्थात् सुस्त श्रवण भएका विद्यार्थीलाई उच्च शिक्षाको अवसर दिन क्याम्पस स्थापना गरियो । त्रिभुवन विश्वविद्यालयसँगको सम्बन्धनमा यो संस्था स्थापना गरिएको हो । यो बहिरा विद्यार्थी मात्र अध्ययन गर्ने एक मात्र केन्द्रीय बहिरा क्याम्पस हो । क्याम्पसले २०६९ सालदेखि स्नातक तहमा शिक्षाशास्त्र सङ्कायको अध्यापन गर्दै आएको छ । नेपालकै बहिरा विद्यार्थीका निम्ति उच्च शिक्षा प्रदान गर्ने यो क्याम्पस स्थापनाको १२ वर्षमा पनि संस्थागत हुन सकेको छैन । बहिरा विद्यार्थीलाई विद्यालय तहको शिक्षा दिने विद्यालय अन्य ठाउँमा पनि छन् । उच्च शिक्षाको अवसर प्रदान गर्ने विशिष्टीकृत शैक्षिक संस्थाको भने नेपालमा अभाव नै थियो । बहिरा विद्यार्थीका निम्ति उच्च शिक्षाको अवसर प्रदान गर्ने शैक्षिक संस्थाको अभाव परिपूर्ति गर्ने यो अहिले पनि एउटा मात्रै उच्च शैक्षिक संस्था हो । 

यहाँ अहिले पनि मुलुकभरका बहिरा विद्यार्थी अध्ययनरत छन् । क्याम्पसमा कुल १६५ विद्यार्थी अध्ययनरत छन् । यो अवधिमा ७० जनाले क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरिसकेका छन् । यो उच्च शैक्षिक संस्थाले अहिले आर्थिक तथा भौतिक समस्या भोगिरहेको छ । कतिबाट सहयोग पाउन सकिरहेको छैन । शैक्षिक, प्रशासनिक तथा भौतिक रूपमै क्याम्पसको अवस्था दयनीय छ । एक हिसाबले क्याम्पसको भौतिक अस्तित्व नै अब सङ्कटमा छ । स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीका निम्ति स्नातकोत्तर अध्ययन गर्न सोही खालका उच्च शैक्षिक संस्था पनि अभाव नै छ ।

यो क्याम्पसको आफ्नै भवन तथा पूर्वाधार नहुँदा सङ्कटमा परेको हो । राजधानीको नक्सालस्थित केन्द्रीय बहिरा विद्यालयले अध्यापनका निम्ति स्थान उपलब्ध गराउँदै आएको छ । सो विद्यालयले एउटा भवनको चार वटा कोठा क्याम्पस सञ्चालनका निम्ति प्रदान गरेको छ । यो विद्यालय सरकारीमातहत भएकाले काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको छ । विद्यालयले कक्षाकोठा आफैँलाई चाहिने भन्यो भने कुनै पनि बेला क्याम्पसलाई समस्या पर्न सक्छ । यो क्याम्पस अहिले पनि साँझमा सञ्चालित छ । दिउँसो अध्यापन गर्न सम्भव नै छैन । 

दिउँसो विद्यालय तहमा बहिरा विद्यार्थीको पढाइलाई कक्षाकोठा चाहिने भएका कारण साँझ क्याम्पस सञ्चालन गरिएको हो । साँझमा पढाइ हुने भए पनि क्याम्पस सञ्चालन भएको स्थानमा पर्याप्त बिजुली, पानी, शौचालयलगायत विद्यार्थीका लागि आवश्यक पर्ने न्यूनतम सुविधा अभाव छ । क्याम्पसको कर्मचारीका लागि छुट्टै कार्यालय सञ्चालन गर्ने ठाउँसमेत छैन । राज्यबाट सहयोग नहुँदा शिक्षक, कर्मचारीलाई पर्याप्त सुविधा दिन नसकिएको क्याम्पस प्रशासनको भनाइ छ । क्याम्पसको पछिल्लो वर्षको उत्तीर्ण दर ६१.७६ रहेको देखिन्छ । बहिरा विद्यार्थीको उच्च शिक्षाले सोही क्षेत्रमा जनशक्ति आपूर्तिको बाटो खुलिरहेको छ । उत्पादित जनशक्ति शिक्षा प्रसारमा क्रियाशीलसमेत छन् । सरकार र समुदाय मिलेर यो उच्च शैक्षिक संस्थालाई व्यवस्थित गर्नु पर्छ । भौतिक तथा आर्थिक व्यथा बोकेर कुनै पनि संस्था टिकिरहन कठिन नै हुने छ ।