• २८ फागुन २०८१, बुधबार

बेँसीसरहका अधिकांश औषधि पसल मापदण्ड विना सञ्चालन

blog

बेँसीसरहमा औषधि पसल अनुगमन गर्दै अनुगमन टोली । तस्बिर: नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, फागुन २७ गते । सदरमुकाम बेसीसरहमा मापदण्डविपरीत औषधि पसल (फार्मेसी) सञ्चालनमा रहेको पाइएको छ । जिल्ला अनुगमन समितिले गरेको अनुगमनको क्रममा अधिकांश औषधि पसलहरू मापदण्डविपरीत रहेको पाइएको हो ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बेँसीसरहको ठाडो लाइन र शेराबजारमा रहेका औषधि पसलमा गरिएको अनुगमनमा फार्मेसी नै नपढेका व्यक्तिले औषधि विक्री गरिरहेको पाइएको छ । त्यति मात्र हैन, खाद्यपूरक सामाग्री, औषधिका रूपमा दर्ता नै नभएका सामाग्री समेत बेचबिखन गरेको र इजाजत विना कम्प्युटर बिलिङ गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमले जानकारी दिनुभयो । 

“अनुगमनमा दक्ष जनशक्ति विनै औषधि बेचेको पाइएको । दर्ता नभएका औषधि र खाद्यपूरक सामाग्री पनि बेचेको पाइयो”, गौतमले भन्नुभयो, “त्यस्ता पसललाई सात दिन भित्र सुधार गर्न निर्देशन दिइएको छ ।” तोकिएको समयमा सुधार नभए कानुनबमोजिम कारबाही गरिने गौतमले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय, प्रदेश जनस्वास्थ्य कार्यालयका प्रतिनिधि, जिल्ला अस्पतालका चिकित्सक, करदाता सेवा कार्यालयका प्रमुख, बेसीशहर नगरपालिका, पर्यटन तथा उद्योग कार्यालय, लमजुङ उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मीसहितको अनुगमन टोलीले सोमबार विभिन्न १० वटा औषधि पसलको अनुगमन गरेको थियो । 

अनुगमन टोलीले औषधि पसलहरू दर्ता, नवीकरण भए नभएको, विल विजक, साइनबोर्ड, सरसफाइ, अनुमतिप्राप्त व्यक्तिबाट औषधि बिक्री वितरण भए नभएको तथा तोकिएको मापदण्ड अनुसार चले नचलेको विषयमा अनुगमन गरेको थियो ।

नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको औषधि पसलको अवस्था बुझ्न गरिएको अनुगमनमा अधिकांश औषधि पसल सञ्चालकहरूले सरसफाइमा ध्यान नदिएको तथा पसल सञ्चालनको अवस्था सन्तोषजनक नरहेको अनुगमन टोलीले जानकारी दिएको छ ।

बेसीसरहमा करिब दुई दर्जन हाराहारीमा औषधि पसलहरू छन् । अधिकांश पसलहरू मापदण्डविपरीत रहे पनि अनुगमनलाई प्रभावकारी बनाउन नसक्दा र कानुनविपरीत सञ्चालनमा रहेका पसललाई कारबाही हुन नसक्दा सेवाग्राहीहरु समस्यामा पर्ने गरेको जनगुनासो रहँदै आएको छ ।