• २८ फागुन २०८१, बुधबार

दुर्लभ रोग ग्लियन बार्रे सिन्ड्रोम

blog

ग्लियन बार्रे सिन्ड्रोम एउटा दुर्लभ तर उपचार गर्न सकिने न्युरोलोजिकल रोगमा पर्दछ । शरीरको प्रतिरक्षा प्रणालीले आफ्नै स्नायुलाई आक्रमण गरेमा यो रोग लाग्दछ । 

रोगका लक्षण

  • हात र खुट्टा, गर्धन, अनुहार र आँखामा कमजोरी ।
  • झमझम हुने वा संवेदनशून्यता ।
  • हिँड्न, निल्न वा सास लिन गाह्रो हुने (गम्भीर अवस्थामा) ।

यो रोग प्रायः अचानक सुरु हुन्छ र चार हप्तासम्म विस्तारै बढ्न सक्छ । केही बिरामीको अवस्था तीव्र रूपमा बिग्रन सक्छ भने अन्यमा यो विस्तारै जटिल हुँदै जान्छ । गम्भीर अवस्था भएमा बिरामीलाई सघन उपचार कक्षमा राखेर उपचार आवश्यक पर्छ भने सास लिनसमेत गाह्रो पर्दा भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ । 

क्याम्पाइलोब्याक्टरले गराउँछ

क्याम्पाइलोब्याक्टर जेजुनी भन्ने ब्याक्टेरियाले प्रदूषित पानी वा खाना उपभोगपछि यसको सङ्क्रमण हुन्छ । क्याम्पाइलोब्याक्टरको सङ्क्रमणले पखाला लाग्ने, कहिलेकाहीँ रगत मिसिएको दिसा हुने,  पेट दुख्ने, ज्वरो आउने र बान्ता हुने गर्छ ।

यस ब्याक्टेरियाको सङ्क्रमणपछि शरीरले ब्याक्टेरियालाई नष्ट गर्न प्रतिक्रिया जनाउँछ तर केही व्यक्तिमा प्रतिरक्षा प्रणालीले गल्तीले वा उग्र भएर आफ्नै स्नायुमा आक्रमण गर्छ । जसले गर्दा करिब तीन हप्ताभित्र ग्लियन बार्रे सिन्ड्रोम देखिन सक्छ ।

डेङ्गु, चिकनगुनिया तथा अन्य भाइरस वा ब्याक्टेरियाले सङ्क्रमण गरेको अवस्थामा पनि शरीरको प्रतिरक्षा प्रणाली उग्र हुँदा पनि ग्लियन बार्रे सिन्ड्रोम देखिने सम्भावना रहन्छ ।

सुरक्षित रहन के गर्ने ?

  • सफा पिउने पानी सुनिश्चित गर्ने ।
  • पानी उमालेर मात्र पिउने ।
  • ताजा, स्वस्थ र सफा खाना खाने । 
  • फलफूल र तरकारी राम्ररी धुने ।
  • मासु राम्रोसँग पकाउने ।
  • काँचो वा कम पकाइएको खाना विशेष गरी अण्डा र समुद्री खानेकुरा नखाने । 
  • व्यक्तिगत सरसफाइमा ध्यान दिने । 
  • खानेकुरा खानुअघि र शौचालय प्रयोग गरेपछि साबुनपानीले राम्ररी हात धुने । 
  • महामारीको समयमा भाँडाकुँडा र खाना साझा नगर्ने ।

सङ्क्रमण रोक्ने उपाय

  • काँचो र पकाइएको खाना अलग राख्ने ।
  • मासु काट्ने ठाउँ र औजार कीटाणुमुक्त गर्ने ।

यो एक दुर्लभ रोग हो । धेरै बिरामीमा ग्लियन बार्रे सिन्ड्रोम सुरु हुनुअघि पखाला वा रुघाखोकीको लक्षण देखिन्छ ।

कहिले डाक्टरलाई देखाउने ?

  • अचानक खुट्टा वा हातमा कमजोरी महसुस भएमा ।
  • हिँड्न गाह्रो भएमा ।
  • लामो समय पखाला रहेमा विशेष गरी रगत मिसिएको पखाला भएमा ।                                                                         – डा. अरुणकुमार सिंह (बालरोग विशेषज्ञ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान)  – युवामञ्च