जापानले मान्छे धुने मेसिन बनाएको छ । बाथरुमका सामान उत्पादन गर्ने जापानको एक कम्पनीले मानिस धुने वासिङ मेसिन निर्माण गरेको हो । यो एउटा यस्तो भाँडो हो जसले केवल १५ मिनेटमै मानिसलाई धोएर सफा गराइदिन्छ ।
यो मानव वासिङ मेसिन भविष्यको प्रविधिमा आधारित छ र अहिले केवल प्रोटोटाइप चरणमा मात्र रहेको छ । भविष्यमा यसलाई व्यावसायिक रूपमा उत्पादन गरेर घर तथा आतिथ्य क्षेत्रका लागि बजारमा ल्याउने योजना कम्पनीको छ ।
यो मेसिन सन् १९७० को जापान वल्र्ड एक्सपोजिसनमा प्रदर्शित एउटा मिल्दोजुल्दो मेसिनबाट प्रेरित भएर तयार गरिएको छ । त्यसबेला सान्यो इलेक्ट्रिक कम्पनी (जुन अहिले प्यानासोनिक कम्पनी बनेको छ) ले एउटा अण्डाकार अल्ट्रासोनिक बाथ सार्वजनिक गरेको थियो ।
यो मेसिनमा कुनै व्यक्ति बस्दा तातोपानीले भरिन्थ्यो । त्यसमा अल्ट्रासोनिक तरङ्ग तथा मसाजको सुविधा पनि थियो र पछि पानी आफैँ निस्किन्थ्यो । यद्यपि अल्ट्रासोनिक बाथ त्यो बेला लोकप्रिय बन्न सकेन ।
साइन्स कम्पनीले बनाएको मानव वासिङ मेसिनको नाम मिराइ निङ्गेन सेन्टाकुकी हो । आगामी अप्रिल महिनामा हुने प्रदर्शनीमा यो मेसिन पहिलो पटक सार्वजनिक गरिने छ । यो मेसिनमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि तथा सेन्सर रहेको छ । जसले मानिसको शरीरको अवस्था हेरिकन ठिक्कको तापक्रमको पानी छाड्दछ ।
साथै नुहाउने बेलामा सम्बन्धित व्यक्तिले पारदर्शी खोलमा विभिन्न खालका आनन्ददायक भिडियो पनि हेर्न सक्छन् ।
- युवामञ्च