सामान्य भाषामा भन्नु पर्दा खाम भन्नाले चिठी, पैसा, कागजात प्रेषण वा आदानप्रदान गर्दा प्रयोग गरिने कागजको थैलो भन्ने बुझिन्छ । यो जसलाई जुन बेलामा पनि आवश्यक पर्ने गर्छ । चिठीमा प्रयोग भएको खामले पत्रमा लेखिएका विवरणलाई छोपेर, ढाकेर राख्छ । पूजा गर्दा होस् या टीका लगाएर होस् पैसा दिने बेला पनि खाम प्रयोग गरिन्छ ।
जहाँ खामको प्रयोग गरिन्छ, त्यहाँ मान्छेको मनमा काउकुती चल्न सुरु भइहाल्छ, खामभित्र के छ ?, कति छ ?, कस्तो छ ?, कत्रो छ ?, यही विचारले मानव दिमागमा खुलदुली मच्चिन्छ । त्यसैले हरेक खाम खुलदुली लिएर आउँछ ।
अङ्ग्रेजीमा खामलाई भ्लखभयिउभ भनिन्छ । नेपाली शब्दकोश अनुसार ठिक्क वा लाम्चो चारकुने आकारमा काटी चारैतिर दोब्य्राएर बनाइएको चिठीपत्र हाल्ने कागतको थैलो, लिफाफा, दुवै कुमका फेददेखि हातका माझी औँलासम्म कोप्रो पार्दा बन्ने आकार : फेदो, अँगालो भनेर खामलाई परिभाषित गरिएको छ ।
संस्कृत भाषामा खामलाई पत्रमञ्जुषा भन्ने गरिन्छ । लोकव्यवहार र समग्र परिभाषालाई विचार गरेर हेर्दा खामलाई चिठीपत्र राख्ने खोल वा कागतको थैलो भन्न सकिन्छ ।
खामलाई खामो बनाए खाँबो भन्ने अर्थ आउँछ भने खामी बनाए पोते, मोती, सिक्री आदि झुन्ड्याउनका निम्ति नारीले कुममा लाउने सुनचाँदीको बाटुलो गहना भन्ने अर्थ आउँछ । यसरी खाम शब्दमा अन्य प्रत्यय लागेपछि फरक अर्थको संयोजन हुन जान्छ ।
प्राचीन समयमा खबर माटोमा लेखेर माटोले नै ढाकेर आदानप्रदान गरिन्थ्यो । त्यसपछि लुगामा, जनावरको छाला आदिमा लेखेर त्यसबाहिर माटोले ढाकेर खबर सम्प्रेषण गरिन थालियो । जब सन् १०५ मा कागज आविष्कार गरियो कागजमा खबर लेखेर त्यसलाई माटोले छोपी आदानप्रदान हुन थाल्यो ।
यसैको विकसित रूपमा सन् १८२० मा ब्रिङ्टनमा केसस ब्यरुवरले जुत्ता बनाउने चक्कुले सर्वप्रथम अहिलेको खामको आकृति तयार गरेको भन्ने मान्यता रहेको छ । त्यस्तै खाम बनाउने मेसिन भने सन् १८४५ मा मात्रै निर्माण भएको पाइन्छ ।
आजको समयमा खामको प्रयोग कत्तिको प्रभावकारी रहेको छ भन्ने कुरा विचार गरौँ । बढ्दो आधुनिकीकरणले इन्टरनेटको माध्यमबाट वर्तमान समाजलाई एउटा कुनामा बसेर सारा विश्वलाई हेर्न मिल्ने बनाएको छ । विश्वमा भएका हरेक घटना वा खबर इन्टरनेटको माध्यमबाट व्यक्तिले तत्काल हातमै हेर्न, पढ्न सक्ने भएका छन् । यसरी बढ्दो इन्टरनेटको प्रभावले खामको उपयोगमा कमी भएको छ ।
इन्टरनेट नहुँदा खामको माध्यमबाट विदेशसम्म चिठी पठाइन्थ्यो । इन्टरनेट आइसकेपछि खामको प्रयोगमा ह्रास आएको छ । इमेल, वाट्सअप, भाइबर, सामाजिक सञ्जाल आदि विभिन्न माध्यमबाट हरेक खबर तथा सूचना क्षणभरमै प्रेषण हुन थालेको छ । यसरी खामको प्रयोग केवल दक्षिणाका लागि नगद राख्न नै मुख्य रूपमा प्रयोग हुन थालेको देखिन्छ । त्यो पनि मोबाइल बैङ्किङका कारण कुन दिन हराउने हो ।
- युवामञ्च